• १२ पुस २०८१, शुक्रबार

स्वास्थ्यजन्य फोहोर व्यवस्थापन कसरी ?

blog

अस्पताल, स्वास्थ्य चौकी, प्रयोगशाला, खोप केन्द्र, स्वास्थ्य शिविर जस्ता स्वास्थ्य सेवाप्रदायक संस्था वा स्थानबाट सेवा प्रवाहका क्रममा उत्सर्जन हुने फोहोरलाई स्वास्थ्यजन्य फोहोर भनिन्छ । रोगको निदान, स्वास्थ्य समस्याको रोकथाम तथा स्वास्थ्यसम्बन्धी सङ्क्रमण न्यूनीकरणमा आधुनिक स्वास्थ्य विज्ञानले ठुलै योगदान पु¥याए पनि चिकित्सासम्बन्धी क्रियाकलापबाट उत्सर्जन हुने फोहोरले स्वास्थ्यसम्बन्धी जोखिम पनि ठुलै मात्रामा बढाएको हुन्छ । त्यही भएर सेवा प्रवाहका क्रममा उत्सर्जन हुने फोहोरलाई सुरक्षित र भरपर्दो विधिबाट व्यवस्थापन गर्नु सम्बन्धित स्वास्थ्य संस्थाको महìवपूर्ण जिम्मेवारी हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको केही साना अध्ययन प्रतिवेदन, २०७२ अनुसार नेपालको स्वास्थ्यजन्य फोहोर उत्पादन दर प्रतिबिरामी प्रतिदिन १.३५ देखि १.७ किलोग्राम छ, त्यसमध्ये २० प्रतिशत फोहोर सङ्क्रामक छ । यो सङ्क्रामक फोहोर उचित उपचार/निर्मलीकरण नभईकन सामान्य फोहोरमा मिसिन गयो भने सङ्क्रामक फोहोरको परिमाण त बढ्छ नै, सँगसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि उच्च भएर जान्छ ।

कुनै पनि स्वास्थ्य संस्थाले स्वास्थ्यजन्य फोहोरको विसर्जन अव्यवस्थित र अनियमित तवरले गर्नु भनेको सङ्क्रमणका स्रोतहरू वृद्धि गर्नु हो । स्वास्थ्यजन्य फोहोरमा औषधीजन्य फोहोर र रसायनहरू पनि पर्छन्, यस्ता फोहोर वातावरणमा अव्यवस्थित तरिकाले विसर्जन गर्नाले पानीका स्रोतहरूमा मिसिन सक्छ, बाढीले फैलाउन सक्छ । यसको फलस्वरूप बहुऔषधी प्रतिरोधी जीवहरू निरन्तर र अप्रत्याशित रूपमा उत्पन्न हुने जोखिम बढ्छ । रोगका ढाँचाहरू परिवर्तन हुनु, मौसम र मानिसका जीवनशैली अनुसार रोगका परजीवीहरूले आफ्नो स्वभावमा परिवर्तन ल्याउनु जस्ता जोखिम पनि स्वास्थ्यजन्य फोहोरको अव्यवस्थित विसर्जनबाट सिर्जना हुन सक्छ । त्यसैले स्वास्थ्य संस्थाका प्रबन्धक र स्वास्थ्यका कर्मचारीले चिकित्सा हेरचाह र सम्बन्धित गतिविधिबाट उत्पादन हुने फोहोरको सुरक्षित व्यवस्थापन गर्ने जिम्मेवारी संवेदनशील भई निर्वाह गर्नु पर्छ । रोग लागेर उपचार गर्न मात्र नभई स्वास्थ्यसम्बन्धी परामर्श लिन, परिवार नियोजनका उपायहरू गर्न, खोप लगाउन आदि विभिन्न क्रियाकलापका लागि पनि मानिस स्वास्थ्य संस्थामा बारम्बार गइरहनुपर्ने हुन्छ । हरेक स्वास्थ्य संस्थामा बिरामी र सर्वसाधारणका लागि पनि फोहोर सङ्कलन गर्ने स्थानमा रातो, निलो र हरियो रङका भाँडा राखी फोहोर वर्गीकरण गर्ने व्यवस्था मिलाइएको हुन्छ । स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका विषयमा सरकार र स्वास्थ्य कर्मचारी त जिम्मेवार हुनुपर्छ नै, साथसाथै यसको अव्यवस्थित विसर्जनबाट हुन सक्ने सम्भावित हानिबारे आमनागरिक समाज पनि सचेत भई फोहोर व्यवस्थापनलाई आफ्नो कर्तव्य सम्झने प्रवृत्ति विकास गर्नु पर्छ । यसो गर्न सकिए स्वास्थ्यजन्य फोहोरबाट हुन सक्ने जोखिमबाट हामी धेरै हदसम्म सुरक्षित हुन सक्छौँ ।

फोहोरको भौतिक तथा रासायनिक स्वभाव अनुसार स्वास्थ्यजन्य फोहोरलाई तपसिलबमोजिम वर्गीकरण गरेर बुझ्न सकिन्छ :

१. साधारण र जोखिमरहित फोहोर

साधारण फोहोर अन्तर्गत कुहिने र नकुहिने गरी दुई खालका जोखिमरहित फोहोर पर्छन् । कार्यालय, बगैँचा, खाद्य पदार्थलगायतका स्रोतबाट उत्सर्जन हुने यस्ता फोहोरलाई नगरपालिकाको फोहोरमैला व्यवस्थापन प्रक्रियाबाट सहजै विसर्जन गर्न सकिन्छ ।

२. सङ्क्रमित र जोखिमयुक्त फोहोर

जोखिमयुक्त फोहोर अन्तर्गत त्यस्ता फोहोरहरू पर्छन; जो सङ्क्रामक र रोग फैलाउने प्रकृतिका हुन्छन् । सङ्क्रमित तिखा तथा धारिला हातहतियारसहितका फोहोर, औषधीजन्य फोहोर, प्रयोगशालाको फोहोर, रासायनिक फोहोर, रेडियोधर्मी विकिरण उत्सर्जन हुने फोहोर, साइटोटक्सिक वा जेनोटक्सिक फोहोर आदिलाई उपचार वा निर्मलीकरण नगरी वातावरणमा सोझै विसर्जन गर्न मिल्दैन । यस्ता फोहोर सोझै वातावरणमा विसर्जन गरे हावा, पानी र माटोसँग सम्पर्कमा आई प्रकृतिमा रहेका मानवलगायतका जैविक तŒवहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा दीर्घकालीन असर पार्छन् ।

संयुक्त राष्ट्रसङ्घको राष्ट्रसङ्घीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेको १७ वटा दिगो विकासका लक्ष्यमध्ये वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनसँग तीन वटा लक्ष्य (३, ६ र १२) मूल रूपमा सम्बन्धित देखिन्छन् । ती हुन् :

लक्ष्य–३ : सुस्वास्थ्य तथा समृद्ध जीवन

३.३ : सन् २०३० सम्ममा एड्स, क्षयरोग, मलेरिया तथा अरू उपेक्षित उष्णदेशीय रोगसम्बन्धी महामारीको अन्त्य गर्ने र हेपाटाइटिस, पानीबाट सर्ने रोगहरू तथा अन्य सरुवा रोग नियन्त्रण गर्ने ।

३.९ : सन् २०३० सम्ममा हानिकारक रसायन र हावा, पानी तथा माटोको प्रदूषण र सङ्क्रमणका कारण हुने मृत्यु र बिरामी हुनेको सङ्ख्या उल्लेख्य मात्रामा घटाउने ।

लक्ष्य–६ : स्वच्छ पिउने पानी तथा सरसफाइ

६.३ : सन् २०३० सम्ममा प्रदूषण कम गरेर, जताततै फोहोर फ्याँक्ने प्रवृत्ति हटाएर, खतरनाक रसायन एवं अन्य सामग्रीको न्यूनीकरण गरेर पानीको गुणस्तर सुधार गर्ने, विश्वव्यापी रूपमा प्रशोधन नगरिएको फोहोर पानीको मात्रालाई आधा गर्ने तथा उल्लेख्य मात्रामा प्रशोधन गर्ने र सुरक्षित रूपमा पुनः प्रयोग गर्ने ।

लक्ष्य–१२ : दिगो उपभोग तथा उत्पादन

१२.४ : सन् २०२० सम्ममा रासायनिक पदार्थ र सबै फोहोरमैलाको जीवनचक्र भरि नै वातावरणीय दृष्टिले प्रभावकारी रूपमा व्यवस्थापन गर्ने ।

१२.५ : सन् २०३० सम्ममा फोहोरमैलाको उत्पादनलाई रोकथाम तथा न्यूनीकरण गरेर साथै खेर गएका वस्तु पुनः प्रशोधन एवं पुनः प्रयोग गरेर सारभूत रूपमा घटाउने ।

नेपाल सरकारले पनि वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन कार्यलाई व्यवस्थित गर्न/गराउन विभिन्न ऐन, नियम र कानुनमा आधार तथा प्रावधानहरू उपलब्ध गराइदिएको छ ।

नेपालको संविधानले धारा ३० मा स्वच्छ वातावरणको हक र धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक भनी मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ । त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन, २०७४; जनस्वास्थ्य सेवा ऐन, २०७५; राष्ट्रिय स्वास्थ्य नीति, २०७६; फोहोरमैला व्यवस्थापन ऐन, २०६८; वातावरण संरक्षण ऐन, २०७६ जस्ता राष्ट्रिय दस्ताबेजहरूले पनि वातावरणीय स्वास्थ्य, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन, खानेपानी सरसफाइ तथा स्वच्छतालाई प्राथमिकतामा राखेको देखिन्छ । यिनै ऐन, नियम तथा कानुनी प्रावधानलाई आधार बनाएर स्वास्थ्य सेवा विभागले ‘स्वास्थ्य संस्थामा फोहोरमैला व्यवस्थापन मापदण्ड तथा कार्यविधि, २०७६’ तयार गरी स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनलाई एउटा व्यवस्थित रूपरेखा दिन मार्गदर्शन गरेको पाइन्छ । कुनै पनि स्वास्थ्य संस्थाले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन प्रणालीको सुरुवात गर्दा तपसिलबमोजिमका प्रमुख पाँच बुँदामा राम्ररी जानकारी राख्नुपर्ने हुन्छ :

१. उत्सर्जन न्यूनीकरणको पहल 

स्वास्थ्यजन्य फाहोरमैलाको जोखिम र सङ्क्रमणसँग प्रत्यक्ष सम्बन्ध हुने भएकाले यसको प्रशोधन गरी विसर्जन गर्ने प्रक्रिया जटिल र खर्चिलो हुन्छ । त्यही भएर सम्भव भएसम्म यस्ता फोहोर कम उत्सर्जन गर्न सरोकारवाला कर्मचारी र सेवाग्राहीको प्रयास रहनु पर्छ ।

२. स्रोतमै वर्गीकरण र सङ्कलन 

स्वास्थ्यजन्य फोहोर उत्सर्जन हुने स्रोतमै हरियो, निलो, रातो, पहेँलो र कालो रङका भाँडा राखी सङ्कलन गर्नाले भिन्न प्रकृतिका फोहोर एकआपसमा मिसिन पाउँदैनन् र छुट्टिएकै अवस्थामा फोहोर सङ्कलन हुन्छ । रङ कोड अनुसार फोहोर निम्नबमोजिमका भाँडामा सङ्कलन गर्नु पर्छ :

हरियो : जोखिमरहित कुहिने फोहोर

निलो : जोखिमरहित नकुहिने फोहोर

रातो : सङ्क्रमित फोहोर, जोखिमयुक्त तिखा तथा धारिला फोहोर, औषधीजन्य फोहोर र साइटोटक्सिक फोहोर

पहेँलो : रासायनिक फोहोर

कालो : रेडियोधर्मी विकिरण उत्सर्जन गर्ने फोहोर

३. सुरक्षित ओसारपसार 

साधारण र जोखिमयुक्त फोहोरलाई फोहोरमैला व्यवस्थापन केन्द्रसम्म ओसारपसार गर्दा छुट्टाछुट्टै ट्रली, रुट, द्वार र कर्मचारी प्रयोग गर्नु पर्छ । यसो गर्दा कार्यान्वयनस्तरमा खटिने कर्मचारीलाई मास्क, पन्जा, चस्मा, बुट, टोपी, एप्रोन इत्यादि व्यक्तिगत सुरक्षाका सामग्री आवश्यकता अनुसार उपलब्ध गराउनु पर्छ । स्वास्थ्य सुरक्षाका लागि टिटानस, हेपाटाइटिसविरुद्धको खोप लगाउनु पर्छ ।

४. उपयुक्त विधिबाट उपचार 

स्वास्थ्यजन्य फोहोरलाई फोहोरको गुण, धर्म र प्रकृति अनुसार निम्न विधि तथा पद्धतिबाट उपचार गर्न सकिन्छ :

(क) जैविक उपचार पद्धति

यस अन्तर्गत कुहिने प्रकृतिका फोहोरलाई सङ्कलन गरी साधारण तरिकाले वा विशेष प्रजातिका किरा, गड्यौला इत्यादि प्रयोग गरी कुहाएर मल बनाइन्छ । प्रसूति कक्ष, ओटी कक्ष आदिबाट प्राप्त हुने सालनाल र मानव अङ्गहरू कुहाउन प्लासेन्टा पिट बनाइन्छ । जैविक फोहोरको परिमाण धेरै हुँदा बायोग्यास प्लान्ट पनि निर्माण गर्न सकिन्छ ।

(ख) न्यूनतापीय थर्मल उपचार पद्धति

यस प्रक्रिया अन्तर्गत फोहोरमा भएका सूक्ष्म तथा हानिकारक परजीवी, भाइरस, ब्याक्टेरिया, फन्गी इत्यादिलाई न्यूनतापीय थर्मल प्रक्रियाबाट उपचार गरी जोखिममुक्त बनाइन्छ । अटोक्लेभ प्रयोग गरी निर्मलीकरण गर्नु यसै प्रक्रियामा पर्छ । त्यस्तै फोहोरमा भएको आद्र्रतालाई तापको विकिरणबाट वाफमा परिणत गरी त्यसैको माध्यमबाट उपचार गराउनुलाई माइक्राेवेभ उपचार भनिन्छ । फोहोरलाई मसिनो भागमा टुक्य्राई एकीकृत रूपमा वाष्पीकरण प्रक्रियाबाट पनि थर्मल उपचार गर्न सकिन्छ । साथै फोहोरलाई उच्च गतिमा घुम्ने स्रेडर ब्लेडको माध्यमबाट टुक्रा टुक्रा पारी घर्षणबाट ताप पैदा गर्ने र वाफद्वारा उपचार गर्ने विधि पनि थर्मल उपचार प्रव्रिmयाको एउटा प्रचलित विधि हो ।

(ग) रासायनिक उपचार पद्धति

यस अन्तर्गत फोहोरलाई विशेष प्रकारका रसायनसँग प्रतिक्रिया गराई फोहोरको भौतिक तथा रासायनिक गुणधर्म परिवर्तन गरी जोखिम मुक्त बनाइन्छ । एल्डिहाइड, क्लोरिन, फिनेल जस्ता कीटाणुनाशक रसायन प्रयोग गर्नु तथा अल्काली (सोडियम वा पोटासियम हाइड्रोअक्साइड) को तातो झोल प्रयोग गरी मानव अङ्ग, कोष तथा तन्तुहरूलाई गलाएर नष्ट गर्नु (अल्काली हाइड्रोलाइसिस) यो उपचार प्रक्रियामा पर्छ । त्यसै गरी कडा रासायनिक पदार्थ प्रयोग गरी छोटो समयमा मानव अङ्ग, कोष तथा तन्तु नष्ट गर्न अन्य अम्ललगायतका रसायन प्रयोग गर्नु पनि रासायनिक उपचार प्रक्रियामा पर्छन् ।

(घ) विसर्जनमा आधारित उपचार पद्धति

उपचारभन्दा पनि विसर्जन प्रक्रिया प्राथमिकतामा रहेका विधिहरू यस अन्तर्गत पर्छन् । साधारणतया प्राकृतिक प्रकोप, विपत् परिस्थिति, स्वास्थ्य सङ्कट, महामारी जस्ता आकस्मिक अवस्थामा स्वास्थ्यजन्य फोहोरलाई प्राविधिक उपकरणको सहायताले उपचार गर्न सम्भव हुँदैन । यस्तो परिस्थितिमा विसर्जनमा आधारित उपचार पद्धति अवलम्बन गरिन्छ । जोखिमयुक्त तिखा तथा धारिला फोहोर, रासायनिक फोहोर, औषधीजन्य फोहोर र साइटोटक्सिक फोहोरलाई धातु वा बलिया प्लास्टिक (एचडिपी) का डब्बाहरूमा टपक्क ढाकेर बन्द गरी मानव तथा जीवजन्तुको पहुँचबाट टाढा राख्ने प्रक्रियालाई इनक्याप्सुलेसन विधि भनिन्छ । त्यसै गरी फोहोरलाई चुना, सिमेन्ट र पानीसँग निश्चित अनुपातमा मिसाएर विभिन्न आकारमा ढाली इनक्याप्सुलेसन गरी मानव तथा जीवजन्तुको पहुँचबाट टाढा राख्ने प्रक्रियालाई इनर्टाजेसन विधि भनिन्छ । त्यस्तै फोहोरलाई मानव तथा जीवजन्तुको बसोबासबाट टाढा लगेर वायुको प्रदूषण तथा गन्धको निश्चित मात्रा नबढ्ने गरी जमिनमा व्यवस्थापन गर्ने विधिलाई स्यानिटरी ल्यान्डफिल विधि भनिन्छ । ल्यान्डफिल विधि प्रयोग गर्दा जमिन सतहबाट भूमिगत पानीको स्रोतसम्म कम्तीमा दुई मिटरको अन्तर हुनु पर्छ र खुला पानीका स्रोतभन्दा कम्तीमा पाँच सय मिटरको दुरीमा उक्त ल्यान्डफिल स्थल हुनु पर्छ । जोखिमयुक्त फोहोरलाई उपचार गर्न सम्भव नभएको परिस्थितिमा जमिनमा खाडल खनी पानीका स्रोतसम्म चुहावट नहुने गरी तह तह गरेर फोहोर गाड्ने विधिलाई बरियल पिट विधि भनिन्छ । तिखा र धारिला जोखिमयुक्त फोहोरलाई भने छुट्टै सिमेन्ट कङ्क्रिटका खाडलमा गाडिन्छ । यस्तो खाडललाई सेप्टिक वा कङ्क्रिट भल्ट भनिन्छ । विसर्जनमा आधारित उपचार पद्धति भनेको पुरानो उपचार पद्धति हो । यसको प्रयोग गर्दा राष्ट्रिय मापदण्ड पालन गरी विज्ञ प्राविधिकको सल्लाह र प्रत्यक्ष रेखदेखमा मात्र गर्नु पर्छ ।

स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका विषयमा सरकार र स्वास्थ्य कर्मचारी जिम्मेवार हुनु पर्छ । साथसाथै यसको अव्यवस्थित विसर्जनबाट हुन सक्ने सम्भावित हानिबारे आमनागरिक समाज पनि सचेत भई फोहोर व्यवस्थापनलाई आफ्नो कर्तव्य सम्झने प्रवृत्ति विकास गर्नु पर्छ । यसो गर्न सकिए स्वास्थ्यजन्य फोहोरबाट हुन सक्ने जोखिमबाट हामी धेरै हदसम्म सुरक्षित हुन सक्छौँ ।

तर औषधीजन्य फोहोर, रासायनिक फोहोर र साइटोटक्सिक फोहोरको हकमा भने स्वास्थ्य सेवा विभागबाट तयार गरिएको ‘म्याद सकिएका, प्रयोगमा ल्याउन नमिल्ने औषधी, रसायन र औषधीजन्य सामग्री नष्ट गर्नेसम्बन्धी कार्यविधि, २०७८’ ले निर्देश गरेको विधि र प्रक्रियाबमोजिम उपचार अनि विसर्जन गर्नु पर्छ ।

५. सुरक्षित तवरबाट विसर्जन 

साधारण फोहोरलाई नगरपालिकाको फोहोरमैला व्यवस्थापन प्रणालीमा जोडी विसर्जन गर्नु पर्छ । सम्भव भएसम्म असङ्क्रमित सामग्रीलाई पुनः चक्रीय प्रणालीमा लैजान पहल गर्नु पर्छ । कुहिने तथा जैविक फोहोरको उपयोग गरी प्राङ्गारिक मल बनाउने वा वैकल्पिक उर्जाका रूपमा बायोग्याँस प्लान्ट चलाउने कार्यमा प्रयोग गर्न सकिन्छ । सम्भव भएमा नेपाल सरकारको अनुमति प्राप्त सार्वजनिक, निजी वा साझेदारी प्रकृतिका एकीकृत फोहोरमैला उपचार केन्द्रमा सम्पूर्ण फोहोरलाई व्यवस्थापनका लागि पठाउनु पर्छ । फोहोरको उपचार तथा व्यवस्थापन गर्न धेरै ससाना फोहोरमैला व्यवस्थापन केन्द्र चलाउनुभन्दा एकीकृत फोहोरमैला उपचार केन्द्र सञ्चालन गर्नु बढी किफायती र दिगो हुन्छ ।

 ‘स्वास्थ्य संस्थामा फोहोरमैला व्यवस्थापन मापदण्ड तथा कार्यविधि, २०७६’ तथा अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यासहरूको अध्ययन गर्दा हरेक सानाठुला स्वास्थ्य संस्थाले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन प्रणाली सुरु गर्दा तपसिलबमोजिम कार्यान्वयनका चरण पालन गर्नु पर्छ :

१) स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन समिति गठन 

स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन कार्यका लागि एक जना निर्दिष्ट व्यक्तिसहित प्रत्येक सदस्यको भूमिका तथा जिम्मेवारी प्रस्ट रूपमा तोकेर व्यवस्थापन समिति गठन गरिनु पर्छ ।

२) फोहोर उत्पादनको अनुगमन गरी परिमाण निर्धारण 

हरेक वार्ड तथा उपचार विभागबाट दैनिक रूपमा उत्पन्न हुने फोहोरको लेखाजोखा राखी कम्तीमा एक हप्ताको अनुगमनपश्चात् कस्ता प्रकृतिका फोहोर कति परिमाणमा प्राप्त हुन्छन् भन्ने कुराको मोटामोटी ज्ञान लिनु पर्छ । त्यसैका आधारमा परिमाण निर्धारण गर्नु पर्छ ।

३) योजना 

फोहोरको परिमाण निर्धारण गरिसकेपछि स्वास्थ्य संस्थास्तरमा वार्षिक योजना बनाउनु पर्छ । त्यस्तै दिगो रूपमा फोहोरको व्यवस्थापन कसरी गर्ने भनेर आवधिक र दीर्घकालीन योजना पनि बनाउनु पर्छ ।

४) उपयुक्त उपचार विधि र प्रविधि चयन 

फोहोरको उपचार विधि वातावरणमैत्री हुनु पर्छ । डढाउँदा विभिन्न प्रकारका हानिकारक ग्यास तथा धुवाँ उत्सर्जन भई प्रदूषण बढ्ने हुँदा यो विधि सम्भव भएसम्म वर्जित गरिएको छ । माथि उल्लेख गरिएका विधिमध्ये उपयुक्त विधि, प्रविधि र उपकरण चयन गर्नु पर्छ ।

५) व्यवस्थापन केन्द्रको डिजाइन र निर्माण 

उपचार विधि र प्रविधि निर्धारण भइसकेपछि फोहोर छुट्याउने कोठा, फोहोरको उपचार गर्ने कोठा, अस्थायी भण्डार गर्ने कोठा तथा नियमित फोहोरको परिमाणको अभिलेख राख्ने कोठा इत्यादिको भुइँ योजना गरी फोहोरमैला व्यवस्थापन केन्द्रको डिजाइन तयार गर्नु पर्छ । अटोक्लेभ, माइक्रोवेभ जस्ता बायोमेडिकल उपकरण चलाउनुपर्ने स्थानमा सोहीबमोजिमको निर्दिष्ट विद्युत् आपूर्ति लाइन जडान गर्नु पर्छ । आवश्यकता अनुसार पानीको लाइन र ढल निकाससम्बन्धी व्यवस्थालाई विशेष ध्यान दिनु पर्छ । सङ्क्रमित फोहोर र सङ्क्रमणरहित फोहोरलाई छुट्टाछुट्टै द्वारबाट फोहोरमैला व्यवस्थापन केन्द्रमा लगी एकअर्कासँग मिसिन नदिन सोही बमोजिमको डिजाइन तयार गर्नु पर्छ । फोहोरमैला व्यवस्थापन केन्द्रको भवन सेवाग्राहीको पहुँचबाट टाढा अनि चारैतिरबाट पर्खाल लगाई बन्द गरिएको हुनु पर्छ । फोहोरको उपचार तथा अस्थायी भण्डारण गरेको स्थानबाट दुर्गन्ध नफैलियोस् भन्नका लागि नियन्त्रित भेन्टिलेसन कायम गर्ने प्रणाली वा हेपा फिल्टरको व्यवस्था पनि गर्नु पर्छ ।

६) सुरक्षित ओसारपसार योजना 

जोखिमयुक्त तिखा/धारिला फोहोर सुरक्षित तवरबाट फोहोरमैला व्यवस्थापन केन्द्रसम्म ओसारपसार गर्न र साधारण फोहोरसँग मिश्रण हुनबाट जोगाउन छुट्टाछुट्टै ट्रली प्रयोग गरी एकद्वार प्रणालीबाट सुरक्षित ओसारपसारको योजना बनाउनु पर्छ ।

७) क्षमता अभिवृद्धि तथा सचेतना कार्यक्रम 

फोहोरमैला व्यवस्थापन प्रणालीसँग जोडिएर काम गर्ने कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नु पर्छ । जोखिमयुक्त फोहोरहरू कसरी सुरक्षित तवरबाट फोहोरमैला व्यवस्थापन केन्द्रसम्म ओसारपसार गर्ने र साधारण फोहोरसँग मिश्रण हुनबाट जोगाउने भन्ने विषयमा कर्मचारीलाई प्रशिक्षण दिनु पर्छ । बिरामी उपचार कक्ष, प्रयोगशाला, ओटी, प्रसूति कक्ष इत्यादिमा किन र कसरी सङ्क्रमण रोकथामका उपाय अवलम्बन गर्नु पर्छ भनेर कर्मचारीलाई राम्रोसँग जानकारी गराउनु पर्छ । स्वास्थ्य संस्थामा कार्यरत सरसफाइकर्मी, अनमी, नर्स, डाक्टर, जनस्वास्थ्य अधिकृत तथा फोहोरमैला व्यवस्थापन समितिका पदाधिकारीलाई स्थलगत रूपमा व्याख्या, प्रवचन तथा प्रदर्शन विधिबाट प्रशिक्षण दिनु पर्छ । फोहोरमैला व्यवस्थापन योजनाका सबै पक्ष अनि चरणको विस्तृत व्याख्या गरी यस प्रणालीसँग जोडिएका हरेक कर्मचारीको दायित्व तथा जिम्मेवारी प्रस्टसँग बुझाउनु पर्छ । यसबाट कार्यान्वयनस्तरमा हुन सक्ने सम्भावित कमीकमजोरी न्यूनीकरण गर्न मद्दत पु¥याउँछ । कर्मचारीको कार्यक्षमता सधैँ चुस्तदुरुस्त कायम राख्न आवधिक रूपमा प्रेरणा र पुनर्ताजगी तालिम पनि दिने गर्नु पर्छ ।

८) व्यवस्थापन प्रणालीको सुरुवात 

फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण, उपकरणहरूको व्यवस्था र तालिमप्राप्त कर्मचारीको व्यवस्था भएपछि दक्ष कर्मचारीको निगरानीमा फोहोरमैला व्यवस्थापन प्रणालीको सुरुवात र सञ्चालन गर्न सकिन्छ । सुरुमा अनुभवी कर्मचारीको निगरानीमा फोहोर व्यवस्थापन प्रणाली सञ्चालन गरी अन्य कर्मचारीलाई स्थलगत प्रशिक्षण गराउनु पर्छ । त्यसपछि मात्र उक्त प्रणाली जिम्मेवार कर्मचारीलाई हस्तान्तरण गर्नु पर्छ ।

९) अनुगमन तथा समीक्षा 

परियोजनाको दिगोपना कायम राख्न समग्र फोहोरमैला व्यवस्थापन प्रणालीको नियमित अनुगमन गरी अनुभव तथा सिकाइ सङ्कलन गर्ने, समीक्षा गर्ने र त्यसको मूल्याङ्कनका आधारमा आगामी आर्थिक वर्षको योजना तर्जुमा गर्ने गर्नु पर्छ । जति लामो समयको अनुगमन र समीक्षा गरिन्छ, त्यति नै फोहोरमैला व्यवस्थापन प्रणालीमा भएका तथा हुन सक्ने कमीकमजोरी सच्याउन पृष्ठपोषण प्राप्त हुन्छ अनि सक्षम प्रणाली विकास हुँदै जान्छ । स्वास्थ्य संस्थाहरूमा फोहोरमैला व्यवस्थापन भनेको अत्यन्त संवेदनशील पाटो हो । स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रणाली स्वास्थ्य सेवा सुविधाको अभिन्न अङ्ग हो र प्रणालीका अन्य जीवन बचाउने पक्षहरूसँग समान रूपले यसलाई पनि प्राथमिकतामा राखिनु पर्छ । फोहोर व्यवस्थापन प्रणालीमा कुनै पनि समस्या आए तुरुन्त त्यसको समाधान गरिहाल्नु पर्छ । कुनै पनि स्वास्थ्य संस्थालाई त्यसको भौतिक संरचना र चिकित्सा क्रियाकलापका आधारमा मात्र नभई फोहोरमैला व्यवस्थापन गर्न सक्ने क्षमताका आधारमा समेत मापन गर्न र सोही अनुसार स्तरीकरण गर्न जरुरी देखिन्छ ।   

Author

जनक अधिकारी