• ४ जेठ २०८१, शुक्रबार

नेपाल–अमेरिका सम्बन्ध

blog

नेपाल र अमेरिकाबीच वि.सं. २००५ अर्थात् सन् १९४८ मा स्थापना भएको कूटनीतिक सम्बन्ध अहिले ७५औँ वर्षमा प्रवेश गरेको छ । राणाकालमै स्थापना भएको यी दुवै मुलुकबीचको सम्बन्ध समयक्रमसँगै झाँंगिँदै गएको निर्विवाद तथ्य हो । यसबीच दक्षिण एसियामा अवस्थित नेपाल र उत्तर अमेरिकामा रहेको अमेरिकाबीच कुनै पनि प्रकारको असमझदारी, मनमुटाव तथा कटुता सिर्जना नहुनु नै दुई राष्ट्रबीचको उत्तम सम्बन्धको अनुपम उदाहरण हो

विश्व मञ्चमा शान्ति, सहअस्तित्व तथा अन्तर्राष्ट्रिय विकासका विषयवस्तुमा दुवै राष्ट्रको समान विचार एवं धारणा रहिआएको पाइन्छ । कूटनीतिक सम्बन्ध स्थापनाको पौने शताब्दीको यस अवधिमा विश्वको महाशक्ति अमेरिकासँग नेपालको सम्बन्ध सुमधुर मात्र छैन, यसका अनेक आयाम छन् । यो सम्बन्ध आपसी विश्वास तथा सहअस्तित्वको सिद्धान्तमा आधारित रहेको छ । आयामिक सम्बन्ध विस्तारसँगै अमेरिकाद्वारा नेपाललाई प्रारम्भदेखि नै विविध पक्षमा सहयोग, सद्भाव तथा समर्थन रहँदै आएको छ ।

विशेषतः अमेरिकाले पिस कप्र्सलगायत अमेरिकी सहायता नियोगका माध्यमबाट नेपालको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, व्यापार, सेवा एवं विकासनिर्माण कार्यमा गरेको सहयोग निकै महत्वपूर्ण रहेको छ । सहयोगको पछिल्लो कडीका रूपमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत झन्डै ६० अर्ब रुपियाँ बराबरको सहयोग नेपालको सडक विकास र विद्युत् प्रसारण लाइन निर्माणमा महत्वपूर्ण हुने विश्वास लिन सकिन्छ । वि.सं. २०७२ को गोर्खा महाभूकम्पका बेला अमेरिकाद्वारा गरिएको सहयोग नेपाली जनताका लागि निकै महत्वपूर्ण थियो ।

त्यस क्रममा १९ करोड डलर बराबरको अमेरिकी उद्धार तथा पुनर्निर्माण सहयोगलाई उल्लेखनीय मान्न सकिन्छ । यस्तै एमसीसी अनुदान सम्झौता संसद्ले पारित गरेको लगभग एक महिनाभन्दा कमको अवधिमा अमेरिकाले नेपाललाई सहयोग रकमको तुलनामा अझै ठूलो अनुदान सहायता प्रदान गरेको छ । यो अनुदान सहयोगले अमेरिका नेपालको विकास निर्माणमा एक गतिलो एवं विश्वासिलो साझेदार प्रमाणित 

भएको छ । कूटनीतिक सम्बन्ध भएदेखि नै प्रारम्भ भएको नेपाल र अमेरिकाबीचको विकास साझेदारीले आगामी दिनमा पनि निरन्तरता पाउने अपेक्षा गर्नु अस्वाभाविक होइन ।

दक्षिण एसियामा नेपाल अमेरिकासँग सबैभन्दा पहिले कूटनीतिक सम्बन्ध स्थापना गर्ने राष्ट्रहरूमा अग्रपङ्क्तिमा पर्छ । यस सन्दर्भमा दुवै राष्ट्रका नेताबीचको उच्चस्तरीय भ्रमणले पनि प्रगाढ सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान गरेको पाइन्छ । हालै मात्र अमेरिकी संसदीय टोली नेपाल भ्रमणमा आएर द्विपक्षीय हितका विषयमा नेपाली नेतासँग छलफल गरेको थियो । यस्तै नेपालबाट पनि अमेरिकामा उच्चस्तरको भ्रमण विगतदेखि नै जारी छ । उच्चस्तरीय भ्रमणले दुवै मुलुकबीचको सम्बन्ध नवीकरण र विस्तारमा महत्वपूर्ण योगदान गर्दै आएको छ । 

अमेरिका लोकतन्त्र र प्रेस स्वतन्त्रताको अग्रणी मुलुक हो । अमेरिकाले विश्वभर नै लोकतान्त्रिक मुलुकलाई सहयोग गर्दै आएको छ । नेपालमा समेत लोकतन्त्र, आर्थिक विकास तथा अन्तर्राष्ट्रिय सहभागितालाई प्रश्रय दिने उद्देश्यमा अमेरिकी सहयोग केन्द्रित रहेको पाइन्छ । अहिले पूर्वाधार विकासलाई समेत अमेरिकाले प्राथमिकतामा राखेको छ ।

यिनै विषयलाई मुखरित गर्दै कूटनीतिक सम्बन्ध स्थापनाको ७५आँैं वार्षिकोत्सवका अवसरमा दिनुभएको शुभकामना सन्देशमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शासन प्रणाली, आर्थिक विकास तथा अन्तर्राष्ट्रिय सहभागितामा नेपालले उल्लेखनीय प्रगति गरेको विषयलाई उठाउनुभएको छ । अमेरिकी विदेशमन्त्रीको यस भनाइबाट नेपालका विविध पक्षलाई अमेरिकाले नजिकबाट नियालिरहेको स्पष्ट हुन्छ । नेपालले हासिल गरेका यी उपलब्धिमा एक विकास साझेदारका रूपमा अमेरिकाले समेत गर्व गर्नु हाम्रा लागि खुसीको विषय हो । 

अमेरिकी विदेशमन्त्रीले अपेक्षा गर्नुभएजस्तै नेपाल र अमेरिकाबीचको मित्रता भविष्यमा पनि अझ सुदृढ रूपमा कायम रहनेमा विश्वस्त हुन सकिन्छ । विश्व शान्ति र सामूहिक विकास नै यी दुवै देशको चाहना हो । नेपालले अमेरिकासँगको सहकार्य र समझदारीलाई अझ अगाडि बढाउँदै सम्बन्ध विस्तारमा थप सघाउ पुग्ने निश्चित छ । विश्वका कुनै पनि देश साना वा ठूला, विपन्न वा सम्पन्न जेजस्तो भए पनि सार्वभौतिक समानता मुख्य कुरा हो । यिनै विषयलाई ध्यानमा राखेर नेपालले अमेरिकासहित विदेशका अन्य राष्ट्रसँगको सम्बन्ध असंलग्न तथा पञ्चशीलको नीतिमा आधारित रहेर अगाडि बढाउनु उपयुक्त हुन्छ ।