• ६ असार २०८२, शुक्रबार

मुख्यमन्त्री शाहद्वारा मन्त्री चौधरीको राजीनामा माग

blog

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी ।

धनगढी समाचारदाता

धनगढी, असार ६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीको राजीनामा माग गर्नुभएको छ ।  खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी निर्देशक नियुक्त गरेको विषयलाई लिएर मुख्यमन्त्री शाहले मन्त्री चौधरीको राजीनामा माग गर्नुभएको हो । मुख्यमन्त्री शाहले मन्त्रीमण्डलमा काम गर्न असहज भएपछि मन्त्री चौधरीका बारेमा छलफल भइरहेको भनी छोटो प्रतिक्रिया दिनुभयो ।  

यता मन्त्री चौधरीले खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी निर्देशक नियुक्त गरेको विषयलाई मुख्यमन्त्री शाहले राजीनामा माग्नुभएको बताउनुभयो । उहाँले सत्तारूढ दलबिच भएको भद्र सहमति अनुसार आफूले प्रक्रिया पु¥याएर कार्यकारी निर्देशक नियुक्त गरेकाले राजीनामा नदिने बताउनुभयो । 

“पर्यटन विकास मन्त्रालय अन्तर्गत चार वटा समिति छन् । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति, बैजनाथ धाम विकास समिति, रामारोशन विकास समिति र बडीकेदार विकास समिति,” मन्त्री चौधरीले भन्नुभयो, “सत्तारूढ दलको सहमति अनुसार हाम्रो नागरिक उन्मुक्ति पार्टीको भागमा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति परेको थियो । सत्तारूढ दलबिच भएको सहमति र कार्यादेश अनुसार मैले प्रक्रिया पु¥याएर खप्तडको कार्यकारी निर्देशक नियुक्त गरेको हुँ ।”

मन्त्रालयले नै कार्यकारी निर्देशक नियुक्त गर्ने कार्यादेशमा व्यवस्था गरेको मन्त्री चौधरीको दाबी रहेको छ । उहाँले जेठ १९ गते समितिको कार्यकारी निर्देशकमा डोटीका खेमराज जोशीलाई नियुक्त गर्नुभएको थियो । बैजनाथ धाम विकास समितिको कार्यकारी निर्देशकमा एमालेबाट र अध्यक्ष कांग्रेसबाट, रामारोशन विकास समितिको कार्यकारी निर्देशकमा कांग्रेसबाट नियुक्त गर्ने सहमति भएको मन्त्री चौधरीले बताउनुभयो । बडीकेदार विकास समितिको निर्देशक चयनका लागि भने टुङ्गो नलागेको बताइएको छ । 

आफूले निर्देशक नियुक्त गरिसकेपछि मुख्यमन्त्री शाहले काम गर्न अप्ठ्यारो भयो भन्दै राजीनामा मागेको मन्त्री चौधरीले बताउनुभयो । “उहाँले मलाई काम गर्न गाह्रो भो, मार्ग प्रशस्त गर्नुहोस् भन्नुभएको छ,” मन्त्री चौधरीले भन्नुभयो ।  नागरिक उन्मुक्ति पार्टीका चौधरी एक महिनाअगाडि मात्रै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त हुनुभएको थियो । लेनदेनको विषयमा विवादास्पद अडियो बाहिरिएपछि सोही पार्टीकै तत्कालीन मन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि जेठ ४ गते रामेश्वर चौधरी मन्त्रीमा नियुक्त हुनुभएको थियो । 

मन्त्री पदमा बसेको एक महिनाभित्रै मुख्यमन्त्रीले वातावरण राम्रो छैन भन्दै चौधरीको राजीनामा माग गर्नुभएको हो तर प्रदेश नीति तथा योजना आयोगका सदस्यसमेत रहनुभएका नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले मुख्यमन्त्री शाहले मन्त्री चौधरीको राजीनामा नमागेको दाबी गर्नुभयो । अनुदानको पावर ट्रिलर वितरण सन्दर्भमा मन्त्री चौधरीका बारेमा केही कुरा बाहिर आएकाले उहाँकै पार्टीमार्फत नै मन्त्री पदबाट फिर्ता बोलाउने गरी छलफल भइरहेको सुनारको भनाइ छ । रामेश्वर चौधरी यसअघि, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुनुहुन्थ्यो ।

मुख्यमन्त्री शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री चौधरीको राजीनामा मागेपछि सत्तारूढ दलभित्र तिक्तता बढेको छ । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले मन्त्री चौधरीले कुनै गल्ती नगरेका कारण पदबाट राजीनामा नदिने बताउनुभयो । मन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको भन्दै उहाँले थप्नुभयो, “गल्ती नै नगरेकाले कुन आधारमा राजीनामा दिने ? यदि मन्त्रीले गल्ती गर्नुभएको छ भने उहाँलाई बर्खास्त गर्न सक्ने अधिकार मुख्यमन्त्रीलाई छ । बर्खास्त गर्न सक्नु हुन्छ ।” नेता चौधरीले मन्त्री चौधरीको राजीनामा माग्नुको कुनै औचित्य नरहेको बताउनुभयो ।