• १ असार २०८२, आइतबार

बाढीप्रति समयमै सतर्कता

blog

बर्सात सुरु भएको छ । यो वर्ष केही चाँडो मनसुन आरम्भ भएको भनिए पनि बरालियो । साबिकमा जेठ अन्तिमबाट सुरु हुने मनसुन यो पटक जेठ मध्यमै आइसकेको थियो । गर्मीमा राहत भएको थियो भने धर्तीमा बर्सात जलसँगै किसान खुसी हुन थालेका थिए । मनसुन बरालिँदा असर धेरैतिर पर्‍यो । पानी नपर्दा तेज सूर्यकिरण धर्तीमा पर्दा गर्मी बढ्यो । मुख्यतया तराई मधेशमा अधिक गर्मी भयो । विद्यालय पनि बन्द भए । अब बिस्तारै देशभर मनसुन फेरि लयमा आएको छ । मनसुनसँगै खण्ड र तेज वृष्टि पनि देखिन थालेको छ । खण्ड तथा असन्तुलित वर्षाले एकै पटक बाढी आउने प्रवृत्तिसमेत व्यापक हुन सक्ने छ । देशभर नै बाढी, पहिरो र डुबानको समस्या विगतदेखि नै भोग्दै आएको हो । काठमाडौँ उपत्यका पनि त्रासमय बन्दै छ । यताका वर्षमा उपत्यकामा प्रकोप बढ्न थालेको छ । सुरक्षित जस्तै रहेको काठमाडौँ र वरपर बाढीको चपेटामा पर्न थालेको देखिन्छ । गत असोजको १० देखि १२ गतेसम्म आएको बाढीले काठमाडौँ र वरपर जनधनको ठुलो क्षति गरेको ताजै जस्तो लाग्छ । असोजका ती दिन सम्झेर काठमाडौँ उपत्यकावासी आकाशमा कालो बादल मडारिँदा पनि त्रास बढ्न थालेको छ । सहरले बाढीको प्रताडना भोग्नु अनौठो नै हो । सुविधासम्पन सहरमा पनि किन र कसरी बाढी भन्ने प्रश्न पनि उठ्न सक्छ ।

काठमाडौँ उपत्यका बिस्तारै सिमेन्टका घर, कालोपत्रे तथा ढलान सडकले भरिन थालेको छ । सिमेन्ट घरका आँगन तथा वरपर पनि ढलान नै गरिने प्रवृत्ति छ । आकाशको पानी जमिनमुनि पुनर्भरण हुने खाली जमिन सकिँदै गएका छन् । वर्षाको पानी ढल हुँदै खोला र नदीमै पुग्ने गरेका छन् । बर्खायाममा परेको पानीको निकास अभाव हुँदै गएको छ । निकास प्रवाह भएका खोला र नदी साँघुरिए पनि तीव्र बर्सातमा पानीको मात्र बढ्दो छ । तिनको बहाब क्षेत्र मिचेर संरचना निर्माण गरिएका छन् । यी सबै कारणले बर्सातको पानी खोला तथा नदीमा पुगेर एकै पटक आयातन व्यापक हुन जान्छ । यसले ‘सहरी बाढी’ को स्वरूप लिएको छ । खोला किनार र आसपासका बस्ती केही वर्षा हुना साथ डुबानमा पर्ने गरेका छन् । यस्तो अवस्था एक दुई दशकयताकै प्रवृत्ति हो । दुई दशकअघिसम्म पनि बागमती नदीसहित सहायक खोला किनार छेउमा खेतबारी प्रशस्त थियो । उपत्यकाका धेरै फाँट साउने झरीमा रुझ्दै स्थानीयवासी रोपाइँमा जुट्थे । रोपो सरेसँगै फाँट मनोरम देखिन्थे । काठमाडौँ उपत्यकाभित्रको ती दृश्य अब बिस्तारै इतिहास भएका छन् । तीव्र सहरीकरणसँगै बाढी, डुबान प्रकोप बढ्दो छ । वैज्ञानिक र प्राविधिक योजनाबिना नै विस्तार भएको सहरी बस्ती अब अनेक समस्यामा पर्न थाल्दै छ । त्यसमा पनि मूलतः बर्सातमा बाढीको प्रकोपको वितन्डा देखिन थालेको छ ।

हुन पनि बर्खायाम सुरु हुनासाथ काठमाडौँ, भक्तपुर र ललितपुरका नदीखोला किनारका बासिन्दा ‘पोहोर जसोतसो ज्यान जोगाइयो, यस पालि के होला !’ भन्ने चिन्तामा छन् । कुनैबेला पानीको दह भएको उपत्यका मञ्जुश्रीले चोभारको डाँडा काटेर उपत्यकामा बस्ती बसाएको ऐतिहासिक कथन छ । उपत्यकाको सबै पानी चोभारको साँघुरो बागमती निकासबाट दक्षिण बग्ने गर्छ । चोभार गल्छी साँघुरो भइसकेको गत वर्षको असोजको बाढीले नै देखायो । भीषण वर्षा र बाढीपछि ललितपुरतर्फबाट चट्टान, रोडा, बालुवाले चोभारस्थित गल्छीको केही क्षेत्र अवरुद्ध भयो । नक्खुलगायतका क्षेत्र डुबानको मुख्य कारण पनि थियो त्यो । चोभार गल्छी निकास साँघुरो भएको सम्बद्ध निकायलाई जानकारी हुनु पर्छ । कतिपय रोडा र बालुवा अझै पनि नदी वरपर थुप्रिएको छ । चोभारमा मात्र होइन अन्य नदी तथा खोलामा पनि रोडा, माटो, फोहोर थुप्रिएर साँघुरिएको पानी बहाब क्षेत्रलाई अझ साँघुरो बनाएको छ । सफाइमा सम्बद्ध निकायको ध्यान पुग्न सकेको छैन । यसले पनि उपत्यकावासीमा बाढीको सन्त्रास छ । सम्बद्ध निकायले नदी तथा खोला सफा गर्न थाल्नु पर्छ, चोभारको निकासमा ध्यान दिनु पर्छ । पानी पुनर्भरणका निम्ति घर घरमा पानी जमिनमुनि जाने व्यवस्था आवश्यक छ । नदी निकास सफा र फराकिलो बनाउन अब ढिला गर्नुहुन्न । सल्लाह गर्दागर्दै सात गाउँ डुबेको उखान उचित हुँदैन ।