घोराही समाचारदाता
घोराही (दाङ), असार ६ गते । दाङमा ५८ वटा सामुदायिक विद्यालयमा नयाँ भवन निर्माण भएका छन् । सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार कार्यक्रम अन्तर्गत जिल्लामा चालु आर्थिक वर्षको करिब ११ महिनामा ५८ वटा विद्यालयमा नयाँ भवनलगायत संरचना निर्माण भएका छन् ।
सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका इन्जिनियर खेम वलीले चालु आव २०८१/८२ मा ८७ वटा विद्यालयमा नयाँ भवन, पुस्तकालय, शौचालय, खेल मैदान, पर्खाललगायतका पूर्वाधार निर्माण गर्ने कार्यक्रम अन्तर्गत ५८ वटा विद्यालयमा भवन निर्माण गरिएको जानकारी दिनुभयो ।
इन्जिनियर वलीका अनुसार जिल्लामा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा २२ वटा विद्यालयमा भवन निर्माण गरिएका छन् । उहाँले चालु आवमा ३१ वटा विद्यालयमा नयाँ भवन, पुस्तकालय, खेल मैदान निर्माणलगायतका पूर्वाधार निर्माण गर्ने कार्यक्रम अन्तर्गत २२ वटा विद्यालयमा नयाँ चार कोठा भवन निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार बाँकी दुई वटा विद्यालयमा सम्झौता हुन नसकेको र सात वटा विद्यालयमा निर्माणको काम भइरहेको छ ।
तुलसीपुर उपमहानगरपालिकामा २१ विद्यालयमध्ये १२ वटा विद्यालयमा नयाँ भवन निर्माण गरिएको छ । इन्जिनियर वलीले ठेक्का सम्झौता भएका नौ वटा विद्यालयमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको बताउनुभएको छ । उहाँका अनुसार जेठ महिनासम्म लमहीमा ठेक्का लागेका छमध्ये चार वटा, बबई गाउँपालिकामा ११ विद्यालयमध्ये ११ वटा, शान्तिनगर गाउँपालिकामा पाँच विद्यालयमध्ये तीन वटा र गढवा गाउँपालिकामा चार विद्यालयमध्ये तीन वटा विद्यालयको भवन निर्माण भइसकेका छन् । बगलाचुली गाउँपालिकामा आठ वटा, राप्ती गाउँपालिकामा दुई वटामध्ये एक वटा र राजपुर गाउँपालिकामा एउटा विद्यालयको भवन निर्माण सम्पन्न भएका छन् । पुराना जीर्ण र कच्ची भवनका कोठामा विद्यार्थी राखेर पठनपाठनमा समस्या हुने भएपछि प्रदेश सरकारले नयाँ भवन निर्माणमा विद्यालयलाई सहयोग गर्दै आएको छ ।