• ६ असार २०८२, शुक्रबार

रघुगङ्गाले कृषक परिचय पत्र वितरण गर्ने

blog

गाउँ सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिँदै । तस्बिर : ठाकुर आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, असार ६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँपालिका भित्रका वास्तविक किसानहरूको पहिचान गरी ‘कृषक परिचय पत्र’ वितरण गर्ने भएको छ । किसानहरूलाई वर्गीकरण गरी गाउँपालिकाबाट सहुलियत तथा प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गर्न ‘कृषक परिचय पत्र’ वितरण गर्ने भएको हो ।

बिहीबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न भएको १९ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेटमा निर्वाहमुखी कृषिलाई आधुनिक र व्यवसायिक बनाउँदै कृषिमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याइएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कृषिमा युवालाई आकर्षित गर्ने, ७५ प्रतिशत अनुदानमा आधुनिक कृषि औजार, उपकरण र मेसिनरी खरिदमा अनुदान उपलब्ध गराउने भएका छौं । साना सिँचाइ योजना सञ्चालन, कृषि उपजको बजारीकरण, सुन्तला पकेट क्षेत्र स्थापना गरी सुन्तलाको उत्पादकत्व अभिवृद्धि गर्ने योजनाहरु सज्चालन हुने छन् ।’’

कृषि क्षेत्रको विकास र विस्तारका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करिब ५० लाख रुपियाँ बजेट प्रस्ताव गरेको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले बताउनुभयो ।

यसैगरी, अध्यक्ष भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपाध्यक्ष पुनले प्रस्ताव गर्नुभएको बजेट बिहीबार साँझ गाउँसभाबाट पारित गरेको छ । उपाध्यक्ष पुनले प्रस्ताव गर्नुभएको ५० करोड ११ लाख ४० हजार आठ सय २० रुपियाँ बराबरको बजेट गाउँसभामा सर्वसम्मत रुपमा पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, सडक पूर्वाधार तथा उद्यमशीलतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको उहाँले बताउनुभयो ।