• २४ असार २०८१, सोमबार

प्राचीन मठेश्वरनाथ मन्दिर उत्खनन : लिच्छविकालीन अवशेष फेला

blog

धनुषाको सबैलामा प्राचीन मठेश्वरनाथ मन्दिर पहिचान गर्न पुरातत्व विभागद्वारा उत्खनन गरिँदै । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, असार २१ गते ।
धनुषाको सबैला नगरपालिका–६, गोविन्दपुरमा लिच्छविकालीन अवशेषहरु फेला परेका छन् । पुरातत्व विभागले प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा उत्खनन गर्दा आठौँ नवौं शताब्दीतिरका लिच्छविकालीन अवशेषहरु भेटिएको हो ।

पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालसहित तीन सदस्य टोलीले प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा अवशेष उत्खनन गर्नुभएको छ । सबैला नगरपालिकाले बिलुप्त भइसकेका प्राचीन मठेश्वरनाथको मन्दिर पहिचान गर्न पुरातत्व विभागद्वारा सो स्थानमा उत्खनन लगाएका हुन् । उत्खनन कार्य असार ७ देखि २० गतेसम्म चलेको थियो । 


उत्खननका क्रममा भेटिएका शिलालेख तथा बुट्टालगायतका अवशेषहरु लिच्छविकालीन बेलाको हुनसक्ने पुरातत्वविद् दर्नालले बताउनुभयो । उत्खननको क्रममा एउटा महत्त्वपूर्ण ढुङ्गा भेटिएको छ । ढुङ्गामा लिच्छविकालीन लिपिमा ‘माना’ अक्षर लेखिएको भेटिएको उल्लेख गर्नुहुँदै उहाँले अगाडि र पछाडिका अक्षर मेटिएकाले त्यसको अर्थ स्पष्ट हुन नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भग्नावशेष हेर्दा प्राचीन मन्दिरको स्वरुपमा  देखिन्छ । मठेश्वरनाथ मन्दिर यही नै हो भने ठ्याकै अहिले भन्न सकिँदैन । अन्तिम अध्ययन सकिएपछि निष्कर्ष आउँछ ।”

मन्दिरको पश्चिमतर्फ प्रवेश गर्ने द्वार रहेकाले पहिला प्रवेशद्वारबाटै उत्खनन सुरु गरिएको छ । भग्नावशेषको माथिल्लो भागमा सिमेन्ट र निकै पुराना इँटाले छोपिएको छ भने तल्लो भागमा ठूल्ठुला ढुङ्गा एकआपसमा ‘इन्टर लक’ गरिएको अवस्थामा भेटिएको छ ।

पुरातत्वविद् दर्नालले केही इँटा र ढुङ्गा प्राचीन समयको जस्तो भेटिएको बताउनुभयो । मिथिलाको सभ्यता काठमाडौँभन्दा पनि पुरानो भएकाले यहाँ जे पनि भेट्न सक्ने उल्लेख गर्नुहुँदै उहाँले पूर्वमा कोशी र पश्चिममा गण्डकीसम्म प्राचीन मिथिलाको क्षेत्र भएको जानकारी गराउनुभयो ।

“यो मन्दिर प्राचीन त प्राचीन नै हो । यहाँ मिथिला, मौर्य, गुप्त र ब्रिजी सङ्घको सभ्यता लुकेको छ । त्यसैले अन्तिम अध्ययन नसकिएसम्म यही नै हो भन्न सकिँदैन”, उहाँले भन्नुभयो । भग्नावशेष हेर्दा तथा उत्खनन गर्दै जाँदा भेटिएका ज्यामितीय आकारको बुट्टा यसअघि कतै नदेखिएको पुरातत्वविद् दर्नालको भनाइ छ । मिथिलाको प्राचीन सभ्यता भेटिने सम्भावना रहेको उहाँले बताउनुभयो ।

पुरातत्व विभागले उत्खनन गरिरहेको स्थानमा प्राचीन मठेश्वरनाथ मन्दिर रहेको स्थानीयको दाबी छ । यस मन्दिरको बारेमा मिथिला महात्मयमा समेत उल्लेख गरिएको पाइन्छ । सो मन्दिर मिथिलाका राजा जनकले निर्माण गर्नुभएको जनविश्वास छ ।
भनिन्छ, राजा जनकले मिथिलाको राजधानी जनकपुरधामको समदूरीमा चारवटा मठ निर्माण गर्नुभएको थियो । महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरमा क्षीरेश्वरनाथ, धनुषाकै गोविन्दपुरमा मठेश्वरनाथ र भारतको कल्नामा कल्याणेश्वरनाथ मन्दिरको निर्माण गर्नुभएको थियो । त्यसमध्ये जलेश्वरनाथ, क्षीरेश्वरनाथ र कल्याणेश्वरनाथ मन्दिर आज पनि छ भने मठेश्वरनाथ मन्दिर विलुप्त भइसकेको छ । त्यो मन्दिर यही हुनसक्ने स्थानीयको अनुमान छ ।


स्थानीय सत्यानारायण मण्डलले २०३३/२०३४ सालतिर धनुषाका एक जमिन्दार हेमबहादुर मल्लका भतिज झोपे मल्लले मन्दिर र मन्दिर क्षेत्रमा खन्न लगाएको बताउनुभयो । उहाँले आफू पनि १२/१३ वर्षको उमेरमा दैनिक पाँच रुपियाँ ज्याला लिएर खन्ने काम गरेको बताउँदै बहुमूल्य वस्तु भेटिने लोभले झोपेले मन्दिर खन्न लगाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यतिखेर ठुलोलाई सात र हामी सानोलाई पाँच रुपियाँ खने वापत ज्याला दिनुहुन्थ्यो । अब यहाँबाट के भेटियो भेटिएन त्यो हामीलाई थाहा भएन ।”

सोही ठाउँका अर्का वृद्ध विन्देश्वर यादवले एक जना अघोरी बाबासँग आएका झोपेले यो ठाउँमा खन्न लगाएको बताउनुभयो । मन्दिर खनेर ढुङ्गाहरु छरपस्ट बनाएपछि स्थानीयको दबाबमा मन्दिर नजिक रहेको इनारबाट इँटा झिकेर माथिबाट इँटा जडान गरिदिएको उहाँले जानकारी दिनुभयो ।

मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा अहिले पनि ठुल्ठुला ढुङ्गा छरपस्ट अवस्थामा छ । गाउँका कतिपयले सिलौटा बनाउन तथा अन्य प्रयोगका लागि यहाँबाट ढुङ्गा लगिसकेका छन् । सोही मन्दिरको दक्षिणपूर्वमा एउटा इनार थियो । पुरातत्व विभागले सो उत्खनन गर्न लगाएको छ । त्यस्तै, मन्दिरभन्दा पश्चिममा एउटा पोखरी थियो । त्यो पोखरी पनि अहिले पुरिएर खेतमा परिणत भएको छ, स्थानीय विन्देश्वरले भन्नुभयो ।

सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले यस ठाउँमा मठेश्वरनाथको मन्दिर रहेको विश्वासमा पुरातत्व विभागबाट उत्खनन गर्न लगाएको बताउनुभयो । यहाँ भेटिएका अवशेषको संरक्षण गर्दै यस ठाउँलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उहाँले जानकारी दिनुभयो ।