• १० माघ २०८१, बिहिबार

एसइईपछि आइटी

blog

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भर्खरै प्रकाशित भएको छ । यतिबेला विद्यार्थीको ध्यान के पढ्ने ? कहाँ पढ्ने ? भन्नेतर्फ केन्द्रित भइरहँदा कक्षा ११ र १२ को पढाइसँगै छोटो अवधिका केही उपयोगी सूचना प्रविधि (आइटी) का सिप सिक्दा करिअरमा थप टेवा पुग्छ । विद्यार्थी भाइबहिनीले अध्ययनसँगै दैनिक एक/दुई घण्टा समय निकालेर सूचना प्रविधि (आइटी) सम्बन्धी छोटो अवधिका कोर्स गर्न सक्छन् । यस्ता सिपमूलक कोर्सहरूमा वेब डेभलपमेन्ट, डिजिटल मार्केटिङ, नेटवर्किङ, साइबर सेक्युरिटी, आइओटी (इन्टरनेट अफ थिङ्स), ग्राफिक्स डिजाइन, भिडियो इडिटिङ, इथिकल ह्याकिङ, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, मोबाइल एप्लिकेसन, डाटा बेस म्यानेजमेन्ट, एआई, डाटा साइन्स, एनिमेसन, प्रोग्रामिङ ल्याङ्ग्वेजलगायतका ६० घण्टादेखि १९० घण्टासम्मका छोटो अवधिका वा सोभन्दा बढी समयका कोर्स हुन्छन् । यस्ता आइटी कोर्स जीवनोपयोगी हुनुका साथै रोजगारीका लागि समेत अवसर बन्छन् ।

नेपालमा एनिमेसन क्षेत्रमा अग्रणी संस्था माया एकेडेमीका अध्यक्ष इन्द्रलाल बलामीले एसइई दिएका विद्यार्थीका लागि सूचना प्रविधिमा करिअर डेभलपमेन्ट तालिम भर्खरै सिध्याएका विद्यार्थीलाई लक्षित गरेर विभिन्न कोर्सका प्याकेज ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामीले छोटो समयका डेढदेखि तीन महिनासम्मको कोर्स निर्माण गरेका छौँ । यी कोर्सको शुल्क १० हजार रुपियाँ रहेको छ । यस्ता कोर्समा हप्तामा चारदेखि पाँच दिन मात्र पढाइ हुन्छ । अन्य समयमा विद्यार्थीलाई हामीले प्राक्टिकलका साथै अरू थप काम दिन्छौँ ।” अहिले छोटो अवधिका कोर्स कलेज पढ्दै गरेका विद्यार्थीलक्षित कोर्समा वेब डेभलपमेन्ट, पाइथन, प्रिमियर प्रो (युट्युब आफैँ चलाउन चाहनेका लागि एकमहिने कोर्स), डिजिटल मार्केटिङ, सर्च इन्जिन अप्टिमाइजेसन (एसइओ) का साथै दुई महिनाको एनिमेसन कोर्स जसमा विज्ञापन सामग्री निर्माण जस्ता सरल एनिमेसन सिप सिकाइने उहाँले जानकारी दिनुभयो । “यस्तै हामीले भिजुअल इफेक्टको दुई महिनाको कोर्स ल्याएका छौँ । साथै एक वर्ष कोर्स प्लस टु पढ्ने विद्यार्थीले गरिरहेका छन् । यो कोर्सको शुल्क महिनाको आठदेखि १० हजार रुपियाँसम्म छ । कतिपय हामीसँग सम्बन्धन गरेका विदेशी विश्वविद्यालयले यस्तो कोर्स गरेका विद्यार्थीको सिप परीक्षण गरेर एकेडेमिक कोर्समा समेत लिने गरेका छन् ।”

यस्तै आइटी ट्रेनिङ प्रदान गर्ने संस्था स्किल स्पार्कका प्रबन्ध निर्देशक सिर्जना झाले विद्यार्थीलाई पढाइसँगै फुर्सदमा आफ्नो रुचि अनुसारको कुनै पनि आइटी कोर्स गर्न सुझाव दिनुहुन्छ । एसइई दिएका विद्यार्थीलाई लक्षित गरेर एमएस अफिस प्याकेज, आइओटी, पाइथन, गेम डेभलपमेन्ट विथ पाइथन, डिजिटल मोर्केटिङको बेसिक कोर्स सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । उहाँले यी कोर्सहरू दुई महिना (हप्ताको छ दिन, कुल ९० घण्टा) को रहेको र शुल्क २५ हजार रुपियाँ रहेकामा अहिले ५० प्रतिशत छुट दिइएको जानकारी दिनुभयो । उहाँले पढाइसँगै दैनिक एक÷दुई घण्टा समय निकालेर सूचना प्रविधि (आइटी) सम्बन्धी छोटो अवधिका कोर्स गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता सिपमूलक कोर्सहरूमा वेब डेभलपमेन्ट, डिजिटल मार्केटिङ, नेटवर्किङ, साइबर सेक्युरिटी, आइओटी (इन्टरनेट अफ थिङ्स), ग्राफिक डिजाइन, भिडियो एडिटिङ, इथिकल ह्याकिङ, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, मोबाइल एप्लिकेसन, डाटाबेस म्यानेजमेन्ट, एनिमेसन, प्रोग्रामिङ ल्याङ्ग्वेजलगायतका ६० घण्टादेखि १९० घण्टासम्मका छोटो अवधिका वा सोभन्दा बढी समयका सिपमूलक कोर्स लिन सकिन्छ । यस्ता आइटी कोर्स जीवनोपयोगी हुनुका साथै रोजगारीका लागि समेत अवसर सिर्जना गर्छन् ।” उहाँका अनुसार वेब इन्जिनियरिङ चार महिनाको कोर्सको ४० हजार रुपियाँ रहेको छ । डिप्लोमा इन मल्टिमिडिया कोर्स छ महिनाको ६० हजार रुपियाँ शुल्क छ । यो कोर्स गरेका विद्यार्थीलाई शतप्रतिशत रोजगारीको व्यवस्था कम्पनीले गरेको छ । उहाँले भन्नुभयो, “हाम्रो विभिन्न कम्पनीसँग सम्बन्धन रहेको छ । हामीकहाँ पढेका धेरैजसोलाई जब प्लेसमेन्ट गर्छौं । अहिले त जागिरमा डिग्रीभन्दा पनि सिप हेर्न थालिएको छ । त्यसैले हामीले भन्ने के हो भने प्लस टु वा ब्याचलर सकाएर रोजगारी खोज्नुभन्दा रोजगारमूलक सिप सिक्नुहोस् ।” उहाँले विदेश जाने सोच भएकाहरूलाई अहिलेदेखि पढ्दै अन्य सिपभन्दा आइटी कोर्स गर्दा राम्रो हुने सुझाव दिनुहुन्छ । उहाँले आइटी सिप सिक्नुभयो भने तपाईं नेपालमै फ्रिल्यान्सर काम गर्न सक्ने र भोलि गएर आफ्नै व्यवसाय खोल्न सक्ने भएकाले आइटी सिप जहिले पनि जहाँ पनि काम लाग्ने सिप हुने बताउनुभयो । 

स्कुल अफ इन्फर्मेसन टेक्नोलोजीका शैक्षिक निर्देशक वसन्त चापागाईंले लोक सेवाको तयारी कक्षाका लागि भनेर निर्माण गरिएको छमहिने कम्प्युटर कोर्स अहिले सबै क्षेत्रका लागि काम लाग्ने कोर्सका रूपमा विकास भएको बताउनुभयो । उहाँले ग्राफिक डिजाइन, प्रोग्रामिङ, सफ्टवेयर टेस्टिङ, नेटवर्किङका साथै हट टपिकका रूपमा डाटा साइन्स तथा डाटा एनालाइसिस र एआई रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार तीन महिना दैनिक एकदेखि दुई घण्टा लिए हुने ग्राफिक्स डिजाइन कोर्स १५ देखि २० हजार, युआइएक्स दुई महिनाको १५ हजार, वेब डिजाइन तीन महिनाको १५ देखि २० हजार, भिडियो एडिटिङ छ महिना ३० हजार, भिएफएक्स कोर्स एक वर्षमाथि डेढदेखि दुई लाख, प्रोगामिङ तीन महिनाको आधारभूत ज्ञान दिने कोर्स १५ हजार, मोबाइल एप डेभलपमेन्ट कोर्स तीन महिनाको २० देखि २५ हजार, सर्च इन्जिन अप्टिमाइजेसन (एसइओ) तथा डिजिटल मार्केटिङ कोर्स तीन महिनाको २० हजार रुपियाँको रहेका छन् । उहाँले भन्नुभयो, “अहिले बजारमा विद्यार्थी कसैले स्कोप हेरेर पढिरहेका छन् भने कतिले आफ्नो रुचि अनुसार पढिरहेका छन् । आइटीको दुनियाँमा जे पढे वा सिके पनि आफ्नो रुचि अनुसारको सिप सिकौँ । मैले विद्यार्थी भाइबहिनीलाई भविष्यमा काम लाग्ने सिप सिक्न सुझाव दिन्छु ।”

प्रोग्रामिङ

नेपालमै बसेर स्वदेश र विदेशको काम गर्न सकिने क्षेत्र प्रोग्रामिङ पनि एक हो । नेपाली युवालाई यस क्षेत्रमा निकै अवसर छ । सफ्टवेयर, वेबसाइट तथा एपबारे रुचि भएका जोसुकैले पनि प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सक्छन् । यसका लागि विद्यालयमा प्रोग्रामिङ ल्याङ्ग्वेजका बारेमा पढेका वा नपढेका सबैले यस्ता कोर्स गर्दा करियरमा निकै राम्रो हुन्छ । त्यसैले प्लस टु पढ्दै एचटिएमएल, सिएसएस, जाभा, सी, पाइथन, पाइथन, गेम डेभलपमेन्ट विथ पाइथन, स्ट्याकलगायतका प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सक्छन् । यस्ता छोटो अवधिका प्रोग्रामिङ ल्याङ्ग्वेज कोर्सले विद्यार्थीलाई सामान्य वेबसाइट बनाउन, मोबाइल एप बनाउन वा कुनै यस्तै काम गर्न सहयोगी हुन्छ । यस्ता कोर्सले विद्यार्थीलाई प्रोग्रामिङको आधारभूत ज्ञान दिने भएकाले भविष्यमा जुनसुकै क्षेत्रमा काम गर्दा धेरै फाइदा हुन्छ । कतिपय यस्ता कोर्स सिकाउने इन्स्टिच्युटले त रोजगारीको अवसरसमेत जुटाइदिन्छन् । यस्तो अवस्थामा  विद्यार्थीले पढ्दै, कमाउन पनि सक्छन् ।

मल्टिमिडिया

फुर्सदको समय निकालेर विद्यार्थीले मल्टिमिडियाका कोर्स गर्न सक्छन् । यस्ता कोर्समा विशेष गरी ग्राफिक्स डिजाइनिङ, भिडिओ एडिटिङ, फोटो एडिटिङ, लोगो डिजाइनिङलगायतका सिप पर्छन् । यस्ता सिप विद्यार्थीले अनलाइन कोर्स गरेर, इन्स्टिच्युटमै गएर वा युट्युबमा भिडियो हेरेर लिन सक्छन् । 

एआई, रोबोटिक्स र आइओटी

एआईको चर्चा नसुनेको सायद कोही पनि छैन । अहिले फुर्सदमा विद्यार्थीका लागि एआई, रोबोटिक्स र आइओटी निकै सम्भावना भएका क्षेत्र हुन् । यी क्षेत्रमा छोटो अवधिमा धेरै ठुलो सफलता हात नलागे पनि यसबारेमा आधारभूत ज्ञान लिन भने सकिन्छ । विश्वमै अहिले रोबोटिक्स र इन्टरनेट अफ थिङ्स (आइओटी) को प्रयोग बढ्दो छ, यसमा सम्भावना पनि उत्तिकै छ । अहिले ठुलादेखि साना कम्पनी मानव जनशक्ति कसरी घटाउने भन्ने मुद्दामा लागेकाले यस्ता प्रविधिको विकासमा जुटेका छन् । त्यसैले एआई, रोबोटिक्स र आइओटी अहिलेका निकै सम्भावना रहेका क्षेत्र हुन् । यस क्षेत्रमा लगनशीलताका साथ काम गर्न चाहनेका लागि अवसर नै अवसर छ । यससम्बन्धी कोर्स नेपालमा समेत विभिन्न आइटी कम्पनीले दिँदै आएका छन् । 

डिजिटल मार्केटिङ

अहिले बजारमा डिजिटल मार्केटिङ निकै चल्तीको शब्द बनेको छ । कुनै सामानको बिक्री गर्नुप¥यो वा कम्पनीको ब्रान्डिङ गर्नुप¥यो भने डिजिटल मार्केटिङ आवश्यक पर्छ । नेपालमा समेत पछिल्लो समय डिजिटल मार्केटिङको माग बढ्दो क्रममा छ । विद्यार्थीले आफ्नो फुर्सदमा अनलाइन वा इन्स्टिच्युटमा गएर डिजिटल मार्केटिङका कोर्स लिन सक्छन् । यसमा सर्च इन्जिन अप्टिमाइजेस (एसइओ), सर्च इन्जिन मार्केटिङ (एसइएम), सामाजिक सञ्जाल व्यवस्थापन तथा प्रमोसनलगायत पर्छन् । 

हार्डवेयर

हामीले सफ्टवेयरको मात्र चर्चा सुन्ने गरेका हुन्छौँ तर सफ्टवेयरका साथै हार्डवेयरसम्बन्धी सिपको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । आफ्नो इच्छा अनुसार विद्यार्थीले ट्रेनिङ सेन्टरमा गएर मोबाइल, कम्प्युटर रिपेयरिङ बेसिकदेखि चिप लेभल (एडभान्स) सम्मको सिप सिक्छन् । यस्ता सिपले भविष्यमा विद्यार्थीलाई स्वरोजगारतर्फ लैजान सक्छ । 

कम्प्युटर ट्रेनिङ

फुर्सदको सदुपयोग गर्ने हो भने विद्यार्थीका लागि कम्प्युटर प्रशिक्षण पनि एक हो । कम्प्युटर सिक्नेभन्दा सहरमा बस्नेका लागि सामान्य लाग्न सक्छ तर नेपालका दुर्गम गाउँमा यसको महत्व अझै छ । अहिले फुर्सदको समयमा बेसिक कम्प्युटर कोर्सदेखि एड्भान्ससम्मका छ महिनादेखि माथिका कोर्स गर्न सकिन्छ । यस्ता कोर्स कुनै पनि समयमा कामको सिलसिलामा काम लाग्ने मात्र नभई भविष्यमा कम्प्युटर ट्रेनिङ सेन्टर खोलेर स्वरोजगारतर्फ लाग्न सकिन्छ ।