• २० असार २०८१, बिहिबार

बागमतीमा थपिए ३५ जना डेंगु सङ्क्रमित

blog

अनिल पराजुली

हेटौँडा, असार १८ गते । बागमती प्रदेशमा ३५ जना डेंगु सङ्क्रमित थपिएका छन् । असारको १७ गते सोमबारसम्म काठमाडौँमा १८, काभ्रेपलान्चोकमा ८, चितवनमा ६ र ललितपुर, मकवानपुर, नुवाकोटमा एक एक जना डेंगु सङ्क्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार गत २४ घण्टामा एक जना डेंगु सङ्क्रमित थपिएका छन् । वैशाखपछि बागमती प्रदेशका जिल्लाहरूमा डेंगु सङ्क्रमण बढ्न थालेको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालयका अनुसार असारमा प्रदेशका काठमाडौँ, ललितपुर, चितवन, मकवानपुर, नुवाकोट र काभ्रेपलान्चोकमा डेंगुका बिरामी फेला परेका हुन । चालु आर्थिक वर्षको साउनदेखि असार १७ गते सोमबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार ८३९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । 

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ५४५ र सबैभन्दा कम रसुवामा ३ जनामा डेंगु पुष्टि भएको थियो । तथ्याङ्क अनुसार चालु आवको हालसम्म काठमाडौँमा तीन हजार १६२‚ चितवनमा एक हजार ७५५‚ ललितपुरमा एक हजार ४५६‚ मकवानपुरमा ८९३‚ भक्तपुरमा ५२२‚ काभ्रेपलान्चोकमा १९४ जनामा डेंगु पुष्टि भएको छ ।

त्यस्तै नुवाकोटमा ९१‚ दोलखामा ७९‚ रामेछापमा ३८‚ सिन्धुपाल्चोकमा ६७ र सिन्धुलीमा ३३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार चालु आवको साउनमा दुई हजार ५१८‚ भदौमा दुई हजार ८०९‚ असोजमा दुई हजार ८१६‚ कार्तिकमा दुई हजार ७०‚ मङ्सिरमा ७६९‚ पुसमा २१५‚ माघमा ६७‚ फागुनमा ७९ र चैतमा २०९, वैशाखमा १३६, जेठमा ११६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ ।