• २० असार २०८१, बिहिबार

राउटे बालबालिकालाई शैक्षिक सामग्री

blog

अमरगढी समाचारदाता

डडेलधुरा, असार १८ गते । लोपोन्मुख राउटे समुदायका बालबालिकालाई झोलालगायत शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको भित्री मधेश जोगबुडाको परशुराम नगरपालिका–१२, आमपानीमा रहेको बिपी आधारभूत विद्यालयका ४६ बालबालिकालाई झोला वितरण गरिएको हो । 

शिशु कक्षाका बालबालिका र कक्षा १ देखि ८ मा अध्ययनरत विद्यार्थीलाई सामाजिक विकास कार्यालय डडेलधुराले झोला वितरण गरेको हो । शुक्रबार विद्यालयमै पुगेर जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले राउटे बालबालिकालाई झोला वितरण गर्नुभएको हो । ‘संरक्षणको आवश्यकता, शैक्षिक सामग्रीको व्यवस्था’ भन्ने नाराका साथ झोला र शैक्षिक सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । एक लाख रुपियाँ विनियोजन गरेर राउटे समुदायका छात्रालाई झोलासँगै शैक्षिक सामग्री वितरण गरिएको हो ।

राउटे समुदायका बालबालिका विशेष संरक्षणको अभावमा रहेको र आर्थिक रूपमा कमजोर भएकाले पढाइमा प्रोत्साहन गर्ने लक्ष्यका साथ झोला, कापी, कलमलगायत विभिन्न शैक्षिक सामग्री वितरण गरिएको बताइएको छ । शैक्षिक सामग्री सहयोगले आर्थिक रूपमा कमजोर भएका राउटे समुदायका बालबालिकाको पढाइप्रति थप रुचि बढ्ने आशा गरिएको छ । राउटे बस्ती रहेको आमपानीमा अध्यापन गराउन २०४९ सालमा बिपी आधारभूत विद्यालय स्थापना गरिएको थियो । 

उनीहरूलाई झोलासँगै शैक्षिक सामग्री वितरण गरिएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडकसिंह रावतले धन्यवाद ज्ञापन गर्नुभएको थियो । आमपानीमा राउटेका करिब ३५ वटा घरधुरी छन् । २०६८ सालमा सरकारले राउटे घर आवास कार्यक्रम योजना लागु गरेर घर निर्माण गरेको थियो । जङ्गलमा बस्ने राउटे घरजग्गा बनाई बस्न थालेपछि कृषि कर्मसमेत गर्दै आइरहेका छन् । आमपानीसँगै परशुराम नगरपालिका–४, रज्यौडामा करिब ४५ भन्दा बढी घरधुरीमा राउटेको बसोबास छ ।