• १९ असार २०८१, बुधबार

बाँके डेंगु सङ्क्रमणको उच्च जोखिममा

blog

सिराज खान
नेपालगन्ज, असार १७ गते । 
पश्चिम नेपालको केन्द्र तथा भारतसँग सीमाना गाँसिएको बाँके जिल्ला डेंगु रोगको उच्च जोखिममा देखिएको छ । खुला सीमाना र डेंगुबारे जिल्लामा खासै सचेतना नफैलाइएका कारण यो जिल्ला डेंगुको उच्च जोखिममा रहेको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका हरेक पालिकामा डेंगुको सङ्क्रमण देखिएकाले पनि यसलाई समयमै नियन्त्रण गर्न नसकिए यो रोग झनै फैलिने आशङ्का बढ्दै गएको छ ।

बाँकेमा चालु आर्थिक वर्षको हालसम्म ४०५ जना डेंगुका सङ्क्रमित भेटिएकोले यसको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका डेंगु रोग फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका आठ वटै स्थानीय तहहरू मध्ये हाल राप्ती सोनारी गाउँपालिकामा पाँच, कोहलपुर नगरपालिकामा २४, बैजनाथ गाउँपालिकामा नौ, खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा पाँच, नेपालगन्ज उपमहानगरपालिकामा ४५ र डुडुवा गाउँपालिकामा छ जना डेंगुका बिरामी रहेका छन् ।

जिल्लामा डेंगु सङ्क्रमणको जोखिम बढ्ने समय नजिक आएको र यसको नियन्त्रणमा ध्यान नदिने हो भने अवस्था अति नै खराब पनि हुनसक्ने डेंगु रोग फोकल पर्सन गौतमको भनाइ छ । उहाँले यो रोग नियन्त्रणका लागि सीमानामा पनि निगरानी बढाउनु आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गद बहादुर शाहीका अनुसार डेंगुको जोखिम मुख्यगरी जुलाईदेखि नोभेम्बरसम्म हुने गरेकाले अब नियन्त्रण अभियानलाई तीव्र पार्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले डेंगुको सङ्क्रमण भएको लामखुट्टेले एक पटकमा करिब चारदेखि पाँच जनासम्मलाई रोग सार्ने क्षमता रहेको जनाउँदै पछिल्लो छ महिना यता मात्रै नेपालमा एक हजार २६८ जना डेंगु रोगबाट सङ्क्रमित भएका बिरामी भेटिएको बताउनुभयो ।

लामखुट्टेको टोकाइबाट हुने यो रोग नियन्त्रणका लागि स्वास्थ्य कार्यालयको एक्लो प्रयासले जोखिम कम गर्न नसकिने हुँदा नियन्त्रणका लागि जिल्लाका सबै निकायको संयुक्त प्रयास आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले डेंगु नियन्त्रणका लागि जिल्लाका सबै सार्वजनिक स्थानलगायत प्रत्येक कार्यालयहरूमा सरसफाइ अभियान चलाउन निर्देशन दिएको बताउनुभयो ।

उहाँले सरकारी कार्यालयका साथै नागरिकहरू स्वयंले पनि आफ्ना घर वरपर पानी जम्ने ठाउँहरूको खोजी गरी सरसफाइ गर्न आवश्यक रहेको बताउनुभयो ।

डेंगुको विषाणुद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई र एडिस एलबोपिक्ट्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो । यो लामखुट्टेलाई टाइगर लामखुट्टे भन्ने गरिन्छ । यसले एक पटक मात्रै पनि टोक्दा डेंगी रोग सर्छ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि लाग्न सक्छ ।