• १९ असार २०८१, बुधबार

भूमिगत सिँचाइ बिग्रँदा रोपाइँ गर्न समस्या

blog

अमरगढी समाचारदाता

डडेलधुरा, असार १७ गते । सुदूरपश्चिम प्रदेशमा पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै रहेका छन् । असार १५ गतेसम्म ८० प्रतिशत रोपाइँ हुने डडेलधुरामा यस वर्ष भने करिब ३५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

केन्द्रका प्रमुख खेमराज पनेरूले खाद्य उत्पादनको भण्डार मानिने भित्रि मधेश जोगबुडाको कटाल गाउँमा निर्माण गरिएको भूमिगत सिँचाइ योजना बिग्रँदा किसानले रोपाइँ गर्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्याप्त वर्षा भएकै छैन । पाँच वर्षअघि निर्माण गरिएको भूमिगत सिँचाइ योजना बिग्रँदा किसानले रोपाइँ गर्न पाएका छैनन् ।” भूमिगत सिँचाइको पानी तान्न जमिनभित्र गाडिएको पाइपमा लगाइएको मोटर बिग्रँदा योजना अलपत्र परेको स्थानीयको गुनासो छ । 

बिग्रिएको मोटर परिवर्तन नगरिँदा कटालवासी सिँचाइबाट वञ्चित भएको स्थानीय चक्र मालले बताउनुभयो । कटालवासीको ५० बिघाभन्दा बढी खेतमा रोपाइँ गर्न सकिएको छैन । प्रदेश भौतिक पूर्वाधार विकास कार्यालय अन्तगर्तको भूमिगत सिँचाइ विकास डिभिजन कार्यालयको करिब ५० लाख रुपियाँ लागतमा आर्थिक वर्ष २०७५/७६ मा सो योजना पूरा भएको थियो ।

सो भूमिगत योजना बिग्रिएको करिब एक वर्ष पुगेको छ । उहाँले भन्नुभयो, “अहिलेसम्म कुनै पनि निकायबाट मर्मतका लागि बजेट परेको छैन । रोपाइँ नहुँदा किसान चिन्तित छन् ।” योजना मर्मतका लागि वडा र नगरपालिकाबाट पहल भए पनि बजेट नपरेको वडाध्यक्ष विश्रामसिंह बोहोराले बताउनुभयो । उहाँका अनुसार सिँचाइ योजनाको मोटर बिग्रिएको र एक पाइप फुटेको भन्ने जानकारीमा आएको छ । यसका लागि मात्रै करिब पाँच लाख रकम आवश्यक पर्छ । मोटर खरिद र पाइप मर्मतका लागि भूमिगत पाइप र मोटर निकाल्न प्रविधियुक्त गाडी नै भाडामा लिएर कैलालीबाट मगाउनुपर्ने भएकाले मर्मत हुन नसकेको उहाँले बताउनुभयो । कटालको खेतमा कुलोबाट पनि सिँचाइको व्यवस्था छ ।