• १९ असार २०८१, बुधबार

वन अतिक्रमण हटाइयो

blog

मेलौलीमा वन अतिक्रमण गरी बनाइएका घर भत्काइँदै ।

बैतडी समाचारदाता 

बैतडी, असार १७ गते । सामुदायिक वनको २५ रोपनी जग्गा अतिक्रमण गरी भोगचनल गर्दै आएको भेटिएपछि घर भत्काएर अतिक्रमण हटाइएकोे छ । मेलौली नगरपालिका–२, श्रीकृष्ण सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काइएको हो । 

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मासहित वन र सुरक्षाकर्मीको टोलीले वन अतिक्रमण हटाएको हो । स्थानीय राम वडले सामुदायिक वनको जग्गा अतिक्रमण गरेर घर बनाई २५ रोपनी जग्गा भोगचलन गर्दै आएका थिए । 

जिल्ला वन कार्यालयका निमित्त प्रमुख दिलीप यादवले धेरै ठाउँमा वन अतिक्रमण भएको जानकारी दिनुभयो । मेलौलीमा वन अतिक्रमण गरेर बनाइएको घर भत्काएको उहाँले बताउनुभयो । 

यसअघि मेलौलीको श्रीकृष्ण सामुदायिक वन, दशरथचन्द नगरपालिका–१, मुस्याचौरस्थित रतेडी सामुदायिक वन, सुर्नया गाउँपालिका–८, ढोल्यास्थित राष्ट्रिय वन र सोही वनसँग जोडिएको पुर्चौडी नगरपालिका–५ को वसन्त हरियाली सामुदायिक वनको अतिक्रमण हटाउन सूचना जारी गरेको थियो । 

५७७ हेक्टर वन अतिक्रमण 

डिभिजन वन कार्यालयका अनुसार जिल्लाभर ५७७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । जथाभाबी डोजरले सडक खन्दा ४६६ हेक्टर वन सखाप भएको छ भने सोही सडक किनारमा घरटहरालगायतका संरचना निर्माण गर्दा ५७७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । वन कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सबै ठाउँको अतिक्रमण हटाउन समस्या भइरहेको बताइएको छ ।

वनमा सडक संरचना

डिभिजन वन कार्यालयले जिपिएस माध्यमबाट अतिक्रमित वन क्षेत्रको तथ्याङ्क सङ्कलन गरी वन क्षेत्रको पहिचान गरेको थियो । दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकको संरक्षित क्षेत्रको गिवाखोला र सिगास संरक्षित वनको गर्जेमा वन अतिक्रमण भएको छ । 

सिगास संरक्षित वनको गर्जेमा २० स्थानमा अतिक्रमण गरेर संरचना निर्माण भएका छन् । आवश्यक जनशक्ति नहुँदा समयमै अतिक्रमण हटाउन समस्या भएको वन अधिकृत यादवले बताउनुभयो । उहाँका अनुसार संरक्षित वनबाहेक दशरथचन्द नगरपालिका–१, मुस्याचोर बजार क्षेत्रमा वन अतिक्रमण गरेर सात वटा घर बनेका छन् ।

सुर्नया गाउँपालिका–८, ढोल्यामोड र पुर्चौडी नगरपालिका–६ स्थित लौठसल्ला वन अतिक्रमण गरी ११ वटा घरटहरा बनाइएका छन् । त्यसै गरी पुर्चौडी नगरपालिका–७, रुइनचौड र बडगाउँमा वन अतिक्रमण गरेर १८ वटा घरटहरा र गिरिजाबगर वन क्षेत्र अतिक्रमण गरेर बसपार्क निर्माण गरिएको छ ।