• १९ असार २०८१, बुधबार

खोलामाथि बसेको बस्ती : मुहानतिर पुरिँदै तलतिर व्यवस्थित

blog

काठमाडौँ महानगरतर्फ चखुँचाखोला खुला गरिएपछि किनारमा सडक निर्माण गरिँदै । खोलामा जमिनमुनि पानी जाने गरी पर्खाल लगाउने र बगैँचा बनाउने योजना छ ।

काठमाडौँ, असार १७ गते । दीर्घकालीन योजना, सङ्घीय सरकार र स्थानीय तहको समन्वय नहुँदा र भूमाफियाको रजगजका कारण यज्ञमती खोला पुरिँदै छ । काठमाडौँ महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ को पानीको स्रोतमध्ये चखुँचाखोला खुला आकाशमुनि बग्दै गर्दा यज्ञमती नामेट पार्न ढलमा रूपान्तरण गरिएको हो । 

यज्ञमतीको चारैतिर पक्की पर्खालको कुलो (बक्स कलभर्ट) निर्माण भइरहेको छ । चखुँचाखोला खोलेपछि काठमाडौँ महानगरपालिका–६ र ७ तर्फको किनारमा आठ मिटर चौडाइका सडक निर्माण भइरहेका छन् । सरस्वतीनगर सुधार सङ्घका अध्यक्ष पेशल पहाडीका अनुसार खोलातर्फ झन्डै एक मिटरमा बगैँचा निर्माण गर्ने गरी फ्रेम बनाइएको छ । 

तर बुढानीलकण्ठतर्फ खोलामाथि बस्ती विस्तार गरेपछि मुस्किलले केही स्थानमा दुई मिटरसम्मको बाटो निस्किने ठाउँ छ । अतिक्रमण भएको खोलाको भाग फिर्ता लिने र व्यवस्थित गर्ने काममा बुढानीलकण्ठ नगरपालिका तयार छैन । अचम्म त के छ भने यज्ञमती खोलामाथि बक्स कलभर्ट निर्माण गर्ने र चखुँचाखोला किनारमा सडक निर्माण गरी व्यवस्थित गर्ने कार्य काठमाडौँ उपत्यका विकास प्राधिकरणले नै गरिरहेको छ । 

जगडोल हुँदै बगेर आनीगुम्बादेखि 

मिलनचोकसम्म आउने यज्ञमती र त्यसपछि धोबीखोलासम्म रहेको चखुँचाखोला दुई वटा ह्युमपाइप लगाएर छोपिएको थियो तर काठमाडौँ महानगरपालिकाले २०८० साउन २६ गते धोबीखोलादेखि मिलनचोकसम्म चखुँचाखोला पुरानै स्वरूपमा फर्काउन खुला गरेपछि प्राधिकरण सडक निर्माण गरी खोला व्यवस्थित गर्न बाध्य भएको हो । 

प्राधिकरणले यज्ञमती खोला छोपेर कलभर्ट निर्माण गर्न २८ करोड ७४ लाख ३९ हजार ९५४ रुपियाँ खर्च गरिरहेको छ । प्राधिकरणले ललितपुरको बालकुमारीमा कार्यालय रहेको हाई हिमालय पिआर जेभीलाई २०७८ जेठ ६ गते ठेक्का दिएको हो । उक्त कम्पनीले आनीगुम्बादेखि मिलनचोकसम्म यज्ञमतीखोलामा एक हजार ३६५ मिटरको बक्स कलभर्ट निर्माण गरिरहेको छ । 

काठमाडौँ महानगरपालिका वडा नं. ६ का अध्यक्ष भुवन लामाले महानगरतर्फ खोला किनारमा व्यवस्थित सडक निर्माण भइरहँदा बुढानीलण्ठतर्फ बाढीको समस्या यथावत् रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “परम्परादेखि चलिआएका यज्ञमती र चखुँचाखोला खोलेर किनार अतिक्रमणमा परेका घर हटाउनु पर्छ । प्रकृति जोगाउनु पर्छ । खोइ बुढानीलकण्ठ नगरपालिकाले यो विषय नबुझेको हो ! हामीले आग्रह गर्दा पनि जिम्मेवारीबोध देखिएको छैन ।”

अध्ययनपछि मात्रै नयाँ ठेक्का

काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त प्रकाश अर्यालले कलभर्ट थप्न नयाँ ठेक्का प्रक्रिया अघि नबढाएको बताउनुभयो । उहाँले कलभर्टको लम्बाइ बढाउँदै जाँदा बहाव थेग्न सक्छ कि सक्दैन भन्ने अध्ययन गरेर र योजनाबद्ध रूपमा अघि बढ्ने तयारीमा प्राधिकरण रहेको बताउनुभयो । 

उहाँले कलभर्ट बनाउँदा हुने दीर्घकालीन क्षतिका सन्दर्भमा पनि प्राधिकरणले योजना बनाउने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “थप अध्ययनबिना थप ठेक्का लगाउँदैनौँ । यज्ञमतीतर्फ एक डेढ सय मिटर छ कलभर्ट बनाउन, त्यसलाई रोक्दा अलपत्र पर्ने भएकाले त्यसलाई पूरा गर्ने तर नयाँ ठेक्का नलगाउने र प्राविधिक रूपमा यसको मूल्याङ्कन गरेर मात्रै नयाँ योजना बनाउने तयारी छ ।”

आयुक्त अर्यालले बक्स कलभर्ट निर्माण र महानगरतर्फ सडक निर्माणको काम एउटै परियोजना अन्तर्गत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “काम सुरु गर्दा यी विषय चर्चामा थिएनन् । काम सुरु भयो । एउटा ठेक्का लागेर कलभर्ट निर्माण सुरु भइसकेको थियो तर चखुँचाखोला खोलिसकेपछि परिवर्तित सन्दर्भलाई सम्बोधन गरेर काम ग¥यौँ ।”

काठमाडौँ महानगरपालिकातर्फ आठ मिटर सडक छोडेर घरआवास विस्तार गरिएको छ । उहाँले भन्नुभयो, “चखुँचाखोला खोलेको ठाउँमा खुला छ । सजिलै काम भयो तर कलभर्ट निर्माण भइरहेको ठाउँको चुनौती चाहिँ खोलालाई छुट्टै राखेर बाटो निर्माण गर्न सक्ने स्थिति छैन । एकतर्फी किनारामा पनि बाटो राख्ने ठाउँ छैन । त्यसैले कलभर्ट बनाउनुपर्ने बाध्यता आएको हो ।”

सुरु भयो बाढीको बबन्डर

यज्ञमती खोलामा कलभर्टकै कारण वर्षामा परेको पानीको सहज निकास नहुँदा कपन क्षेत्रमा बाढीको बबन्डर सुरु भएको छ । बक्स कलभर्ट निर्माणमा भएको चरम लापरबाहीका कारण कपन क्षेत्र डुबानमा परेको हो । 

खुला आकाशमुनि बग्नुपर्ने खोला किनार मिचेर घर निर्माण गरेको परिणाम स्वरूप बाढी र डुबानको कहर मच्चिएको हो । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म पनि कपनको आनीगुम्बादेखि प्रहरी प्रभाग कपनसम्मको क्षेत्र डुबानमा परेका थिए । 

प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरले कपनका केही क्षेत्रमा बाढी पसेको बताउनुभयो । उहाँका अनुसार पानीको बहावमा परेको गाडी सुरक्षित निकालिएको छ । उहाँले भन्नुभयो, “बाढीको पानी पसे पनि ठुलो क्षति भएन ।”

तर बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले काठमाडौँ महानगरपालिकाले खुला गरेको चखुँचाखोलामा हालिएको बाँसको पुल खस्दा पानी रोकिएर बाढी बस्तीतिर सोझिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “खोलामा बाँसको पुल हालेको छ । पुल खसेर घर घरमा पानी पस्यो । बाँसको पुलले गर्दा त्यस्तो समस्या भएको हो त्यहाँ । पुल खसेर खोलाको पानीको अवरुद्ध भयो ।” यज्ञमती र चखुँचाखोलाको अध्ययन र विशेष गरी जलस्रोत क्षेत्रका विज्ञ एवं पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवालीले यज्ञमती खोलामा कलभर्ट निर्माण कार्य यसरी नै अघि बढाइए वर्षामा अत्यधिक पानी पर्दा बाढीले स्थिति गम्भीर हुने बताउनुभयो ।