• १७ असार २०८१, सोमबार

बाजुरामा धान दिवस मनाइयो

blog

धान दिवस मनाउँदै त्रिवेणी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असार १५ गते । बाजुरा नौ वटै स्थानीय तहले भव्य र सभ्य रूपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन् । “जलवायुमैत्री कृषि धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ यहाँका स्थानीय तहले यो वर्षको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई भव्य रूपमा मनाएका हुन् ।

जिल्लाको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका पालिकाले भव्यरुपमा धान दिवस मनाएका छन् । पालिकाकै आयोजनामा जनप्रतिनिधि कर्मचारी लगायतले किसानको खेतमा पुगेर यो वर्षको धान दिवसलाई हर्ष र उल्लासका साथ मनाएका हुन् । 

२०८१ को राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई पहिले भन्दा यो वर्ष विशेष रूपमा मनाएको स्वामिकार्तिक खापर गाउँपालिकामा अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्षको धान दिवसमा प्राय स्थानीय धानलाई बढी प्राथमिकता दिने गरी धान दिवस मनाइएको छ । ”

मानव स्वास्थ्यका लागि निकै फाइदाजनक रहेकाले यहाँका स्थानीयलाई यो वर्षको धान दिवसमा स्थानीय धान उत्पादनमा बढी उत्प्रेरित गर्दै आएको स्वामिकार्तिक खापर गाउँपालिकाका कृषि  प्राविधिक सहायक तीर्थबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक वर्षमा धान दिवस मनाउने गरेको भएपनि यो वर्ष यहाँका स्थानीयलाई स्थानीय अर्गानिक धान रोपाई गर्ने चेतनामूलक सन्देशका साथ धान दिवस भव्य रूपमा मनाइएको छ। ”

जमिनमा अग्रानिक मल र बिउँमा स्थानीय जातको धान रोपाई गर्ने सन्देशका साथ यो वर्षको धान दिवस तथा रोपाइँ महोत्सव भव्यरुपमा मनाएको बुढाले बताउनुभयो ।

बाजुरामा यतिबेला धान रोपाइको निकै चटारो छ । सिँचाइ तथा खोलाको किनार नजिकको जमिनमा धान रोपाइँ सम्पन्न भएपनि भिरालो तथा पाखो जमिनमा भने अझै रोपाइँ हुन सकेको छैन । बाजुराका अधिकांश ठाउँमा आकाशे पानीको भरमा रोपाइ हुने गर्दछ । यो वर्ष लामो खडेरीका कारण यहाँका धेरै ठाउँमा रोपाइँ हुन सकेको छैन ।

गर्त वर्षमा सत्तरी प्रतिशत धान रोपाइँ गरेको भएपनि यो वर्षमा पानी नपरेकोले पचास प्रतिशत मात्र धान रोपाइँ भएको अनुमान गरिएको छ । बाजुरामा ६ हजार ९१५ हेक्टर धानको क्षेत्रफल छ भने १३ हजार १४० हेक्टर जमिनमा उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।