• १७ असार २०८१, सोमबार

स्वास्थ्यका लागि लाभदायी दही-चिउरा

blog

 काठमाडौँ, असार १५ गते। आज असार १५ अर्थात् दही चिउरा खाने दिन। खेतमा रोपाइँ गरी दही चिउरा खाएर असार १५ मनाइएको छ। सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ। असारमा कामको चाप हुने भएकाले छिटो र मिठो खाजाका रूपमा दही–चिउरा खाने चलन चल्दै आएको विज्ञको तर्क छ।  

विभिन्न गुणले भरिपूर्ण दही र चिउराको सेवन गर्नु स्वास्थ्यका लागि लाभदायी हुने पोषणविद् बताउँछन्।  पोषणविद् प्रा.डा. उमा कोइरालाका अनुसार दही–चिउरा छिटो तयार पार्नसक्ने स्वास्थ्यका हिसाबले पोषिलो खाजा हो। 

रोपाइँ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा अचार खाजा खाने गरिएको उहाँ बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “कामको चाप भएकाले दही–चिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा हो। त्यसैले असारमा दही चिउरा खाजाका रूपमा खाने चलन चल्दै आएको हो।” 

उहाँका अनुसार वर्षामा हिलाम्य भएको शरीरमा दही चिउराले शरीरलाई ऊर्जा प्रदान गर्छ। दही चिउराका साथै अचार अथवा तरकारीसँग दही–चिउरा खाँदा अझ पूरक र पोषिलो हुने डा. कोइरालाको भनाइ छ। 

गुलियो मन पराउनेले दही–चिउरामा चिनी हालेर खानुभन्दा मौसमी फलफूलका साथमा मिसाएर खाँदा थप भिटामिन र खनिज पदार्थ पाउन सकिने डा. कोइराला बताउनुहुन्छ। 

दहीमा क्याल्सियम, सोडियम, पोटासियम र भिटामिन पाइन्छ। यसमा शरीरमा फाइदा गर्ने गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया हुने डा.कोइरालाको भनाइ छ।  चिउरा कार्बोहाइड्रेट राम्रो स्रोत हो। त्यसका अलावा आइरन र प्रोटिन पाइने डा.कोइरालाको भनाइ छ। उहाँका अनुसार दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ।

दही–चिउराका फाइदा

पोषणविद्का अनुसार दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहयोग पुग्छ, दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइने हुँदा पेट गडबडी हुँदा, पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम हुन्छ। त्यसका साथै दहीले मांसपेशी र हाड बलियो बनाउन मद्दत गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। दैनिक घरमानै बनाएको एक कचौरा दही खानु स्वास्थ्यका हिसाबले उपयुक्त हुने उहाँ बताउनुहुन्छ। 

चिउरामा प्रशस्त कार्बोहाइड्रेट भएकाले काम गर्न शक्ति प्रदान गर्ने पोषणविद् बताउँछन्। पोषणविद् कोइरालाका अनुसार फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी पाइन्छ। चिउरा पकाउनु नपर्ने भएकाले हामीले जुनसुकै परिकारका साथ खान सकिन्छ।

एक दिनमात्र नभई सधैँ दही चिउरा खाँदा स्वास्थ्यमा फाइदा पुग्ने उहाँ बताउनुहुन्छ। स्वादिष्ट र पौष्टिक तत्त्वले भरिपूर्ण हुने भएकाले दही चिउरा जुनसुकै उमेर समूहले जति बेला पनि खान सकिने उहाँ बताउनुहुन्छ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।