• ७ मंसिर २०८१, शुक्रबार

प्रकृति पूजाको पुनर्जागरण

blog

विश्व अहिले प्रकृति विनाशको मारमा परिरहेको छ । मानिसले आफ्नो सुख, खुसी र समृद्धिका लागि भनेर गरेका क्रियाकलाप भौतिक रूपमा लाभदायी रहे पनि यसले अनेक पीडादायी अवस्थाको सिर्जना गरिरहेको छ । पृथ्वीमा उत्पन्न भइरहेको जलवायु परिवर्तनको प्रभाव हरेक मुलुकमा परेको छ । पृथ्वीको वातावरण जोगाउन अनेक कार्यक्रम विश्वव्यापी रूपमा भइरहेका छन् । जलवायु परिवर्तनबाट भइरहेको पृथ्वीको तापक्रम वृद्धि न्यून गर्न अनेक सम्झौता भएका छन् तर तिनको कार्यान्वयन एकदमै फितलो छ । 

जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम अहिले जुन रूपमा बढिरहेको छ यसको प्रत्यक्ष प्रभाव हिमाल र समुद्रमा परेको छ । नेपाललगायत मुलुकहरूमा बढिरहेको प्रचण्ड गर्मीको प्रमुख कारण पनि तापक्रम वृद्धिले गर्दा हो । जलवायु परिवर्तनका कारण समुद्री सतह माथि उठ्दा गर्मी बढेको विज्ञहरूको भनाइ छ । वातावरण सन्तुलनका लागि हिमाल र सागरको सम्बन्ध अन्योन्याश्रित रहेको छ तर अहिले हिमाल पग्लिने, समुद्री सतह बढ्दै गर्दा हिमाली र समुद्र किनारका मुलुकको भविष्यमाथि चिन्ता जनाउन थालिएको छ । कतिपय समुद्र किनार र टापु मुलुकहरूले बस्ती नै स्थानान्तरण गर्ने योजना बनाएका समाचार पनि आइरहेका छन् ।

नेपाल जलवायु परिवर्तनको सर्वाधिक असर परेका १० मुलुकभित्र परेको छ तर नेपाल यसको कारक भने होइन । केही समयअघि ‘इसिमोड’ ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा अहिलेकै गतिमा तापक्रम बढ्दै जाने हो भने केही दशकमै नेपालका हिमालबाट ४० प्रतिशत हिउँ पग्लिने छ । यसलाई सत्य प्रमाणित गर्ने तथ्य हिमाली क्षेत्रको जनजीवनलाई पनि लिन सकिन्छ । सोलुखुम्बु जस्तो क्षेत्रमा लामखुट्टे देखापर्न थालेको छ । चैत÷वैशाखमा फुल्ने गुराँस र पाक्ने काफल माघ÷फागुनमै फुल्ने र पाक्ने गर्न थालेको छ । यसबाट हिमाली क्षेत्रको कृषि चक्र नै बदलिएर जनजीवन अति प्रभावित भएको छ ।

यी सब समस्याको कारक पूर्ण रूपमा नेपाल आफैँ भने होइन तर वातावरण संरक्षणमा हामीले आफ्नोपन बिर्संदा भने पक्कै समस्यामा परेको हो । नेपाललाई प्रकृतिले समृद्धिका लागि दिनुपर्ने सबै थोक दिएको छ । हामीले त्यसको प्रयोग गर्न जानेनौँ र अहिले वातावरणमै विकास घुसाएर यसलाई नष्ट गर्दै छौ । विकासको परिभाषै नजान्दा प्राकृतिक विपत्तिको ढोका खोल्न पुगिएको छ ।

प्रकृति र मानव तथा जीवको सम्बन्ध अन्योन्याश्रित नै छ । त्यसैले नेपाली  (वैदिक) संस्कृतिमा पानी, वनस्पति, जीवजन्तु, सरीसृप, चराचुरुङ्गीलाई समेत भगवान्को प्रतीक वा वाहन मानेर पूजा गर्ने चलन बसालियो । यसो गर्दासम्म यी सम्पदाको संरक्षण भएको थियो, हामीले यसबाट लाभ लिइरहेका थियौँ । वन मास्नुको साटो वनदेवीको पूजा गरेर जोगायौँ, जसले मानिसलाई मङ्गल नै ग¥यो उतिबेला भनिन्थ्यो ‘जहाँ जङ्गल छ त्यहाँ मङ्गल हुन्छ’ । अहिले प्रकृतिले दिएको यो अपार स्रोतको संरक्षण पनि छैन र सही सदुपयोग हुन सकेन । 

विश्व जलवायु परिवर्तनले गर्दा नेपालको प्राकृतिक स्रोतसाधन नष्ट हुने खतरा बढिरहेको छ । नेपालको समृद्धि प्राकृतिक स्रोतसाधनमै छ र यसको समुचित र अनुशासित दोहन आवश्यक छ तर नदी अतिक्रमण, सार्वजनिक जग्गा अतिक्रमण, वनजङ्गल तथा साना डाँडा मासिनु शुभ हुनै सक्दैन । यसै गरी अघि बढिरहने हो भने हामीले भावी पुस्तालाई परम्परागत मूल्यमान्यता मात्र होइन भविष्य नै धरापमा पारेर छाड्ने छौँ । 

वातावरण प्रदूषणरहित बनाउने र मानव जीवन मात्र होइन सिङ्गो जगत्कै भलो चिताउने हो भने अब वातावरणमैत्री कार्यव्रmमको थालनी गर्नु पर्छ । नेपाल जस्तो वैदिक सनातन धर्म संस्कृतिमा अभ्यस्त मुलुकमा वातावरण शुद्ध पार्ने मात्र होइन मानव जीवनदेखि चराचर जगत्का चेतन अचेतन सम्पूर्ण प्राणीको संरक्षण गर्ने सूत्रको पालना गर्नु पर्छ । वैदिक संस्कृतिमा पृथ्वी मानिसको मात्र हो भनेर भनिएको छैन । यदि पृथ्वीमा मानवको मात्र कल्पना गर्ने हो भने त्यो सम्भव छैन । भीमकाय जनावरदेखि हिंस्रक वन्यजन्तु हुँदै सानातिना किरा फट्याङ्ग्राको समेत यो पृथ्वीमा आवश्यकता छ– त्यसैलाई 

‘इको सिस्टम’ भनिन्छ । यो जीवनचक्रको सूत्र वैज्ञानिकहरूले पत्ता लगाउनुभन्दा हजारौँ वर्षअघि नै पूर्वीय जगत्का विद्वान्हरूले लेखिसकेका थिए । 

पृथ्वी तात्दै छ, यहाँको जैविक विविधता नष्ट हुँदै छ, ‘इको सिस्टम’ भङ्ग हुँदै छ । नयाँ नयाँ किसिमका समस्या उत्पन्न भइरहेका छन् । यसले नेपाललाई मात्र होइन विश्वलाई नै डस्दै लगेको छ । धन हुनेले अनेक वैकल्पिक उपाय अपनाउलान् तर नेपाल जस्ता अरूका अगाडि हात पसार्ने बानी परेका देशले आफ्नो अस्तित्व कसरी बचाउने ? वातावरण जोगाउँदै यहाँको कला, संस्कृति र प्राकृतिक स्रोतसाधनको संरक्षण कसरी गर्ने ? यस विषयमा हुनुपर्ने जति चर्चा भएको छैन र दिनुपर्ने जति चासो पनि दिइएको छैन ।

यस्तै अनगन्ती मानवीय कमजोरी, राजनीतिबाहेक अरू कुनै कुरा गर्न, सुन्न र व्यवहारमा उतार्न नचाहने, धर्म संस्कृतिको बेवास्ता गर्ने र आफ्नो मौलिकताको उपेक्षा गर्दै परिवर्तनका नाममा अरूको संस्कृति अपनाउन पुगेकाबाट मुलुकमा कुनै उल्लेखनीय परिवर्तन हुँदैन । नाममा जति सुकै परिवर्तन गरे पनि व्यवहारमा त्यसको कुनै सङ्केत अहिलेसम्म देखिएको छैन । वातावरण शुद्धताका लागि वैदिक संस्कृतिले प्रस्तुत गरेका व्यवहारको अनुसरण गर्नुको साटो त्यसको उपेक्षा गर्दा नै नेपाल जस्तो मुलुकले अनेक समस्या भोग्नु परिरहेको छ ।

नेपालको समृद्धिको आधार यहाँको प्राकृतिक स्रोतसाधन नै हो । जल, जङ्गल, उर्वर जमिन तथा जडीबुटी नेपालीको समृद्धिको आधार हो भन्नेमा कसैको पनि विमति छैन तर यही अमूल्य सम्पदा सर्वाधिक चलखेलको सिकार भइरहेको छ । अब यसको अन्त्य हुनै पर्दछ । समग्र विकासका लागि दृढ इच्छाशक्ति र प्रतिबद्धताको आवश्यकता पर्दछ । दह्रो प्रतिबद्धताबिना गरिएका कार्य सफल नहुने मात्र होइन, त्यसले उल्टो परिणाम ल्याउन सक्छ । मुलुकको आर्थिक रूपान्तरण नै गर्ने हो भने प्रकृतिले हामीलाई दिएको हिमाल, पहाड र तराईको उपयोग गर्नु पर्छ । भूगोल सुहाउँदो कर्म गर्नु पर्छ– अर्थात् कृषि । कृषिको अर्थ खाद्यान्न उत्पादन मात्र होइन– खाद्यान्नसँगै जडीबुटी, फलफूल, पशुपालन जस्ता विषयलाई पनि एकसाथ समेटेर बहुकृषि प्रणाली अहिलेको आवश्यकता हो । यसका लागि कृषियोग्य जमिनको संरक्षण गरेर वैज्ञानिक कृषि प्रणालीसँगै भूमिहीनको जीवनस्तर उकास्न भूमिमाथि हदबन्दी कायम गरिनु पर्दछ ।  त्यस्तै बढ्दो सहरीकरणसँगै वातावरणीय क्षय र उर्वर भूमिमाथि महल खडा गर्ने परिपाटीको अन्त्य हुनु पनि त्यत्तिकै जरुरी छ । नदीनाला र वनजङ्गलको संरक्षणसँगै आधुनिक कृषि प्रणाली र जमिनको समानुपातिक विभाजनले मात्र नेपालको कृषितन्त्रले फस्टाउने मौका पाउने छ । खाद्यान्नमा आत्मनिर्भर भएर निर्यात गर्न सक्ने अवस्था आउने छ । 

जल, जङ्गल र जडीबुटी नेपालको समृद्धिको पहिलो आधार हो । जलसँग जीवन गाँसिएको हुँदा कृषिको विकासका लागि, औद्योगिक प्रतिष्ठान स्थापनाका लागि र जङ्गल जोगाउन पनि जलको उपयोग आवश्यक छ । जबसम्म जलविद्युत् पर्याप्त मात्रामा उत्पादन हुँदैन तबसम्म उद्योगधन्दा खुल्ने र इन्धनका रूपमा जङ्गल मास्ने कार्यमा कमी आउँदैन । हरियो वन नेपालको धन भने जस्तै जैविक विविधताले भरिपूर्ण नेपालमा औषधीजन्यदेखि लिएर विभिन्न सुगन्धित जडीबुटीको अथाह भण्डार रहेको छ । त्यसको सदुपयोगबाटै नेपाली जनता समृद्धिको उचाइमा पुग्न सक्नेमा दुईमत छैन । 

राष्ट्रिय अर्थतन्त्रको एउटा मजबुत र दीर्घकालीन आधारका रूपमा रहेका जडीबुटीजन्य वस्तुको उपयोगिताका लागि अहिलेसम्म नीति बनेको छैन । व्यक्तिगत रूपमा केही संस्थाले यसको निकासी र प्रशोधन कार्य गर्ने गरेका भए पनि त्यो पर्याप्त छैन । जडीबुटीको निकासीभन्दा यसको प्रशोधन र अन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने परिपाटीको विकास अहिलेको आवश्यकता हो । चार वेदमध्ये स्वास्थ्य विज्ञानसँग सम्बन्धित आयुर्वेदको उद्गम थलो र सञ्जीवनी बुटीसमेत पाइने नेपालको हिमाली क्षेत्र अहिले अस्तित्व रक्षाको सङ्घर्षमा होमिइरहँदा विगतलाई सम्झेर भविष्यलाई सुरक्षित गर्ने नीति लिनै पर्दछ ।

जडीबुटीको पहिचान, खोजी र यसको संरक्षण अहिलेको प्रमुख आवश्यकताभित्र पर्दछ । उच्च हिमाली भेगदेखि लिएर पहाडी क्षेत्रमा जडीबुटीको अथाह भण्डार छ । सामान्य रूपमा हेर्दा तितेपातीदेखि यार्चागुम्बा र पाँचऔँलेको उपयोग विश्वव्यापी रूपमा भइरहेका छन् । ग्रामीण क्षेत्रमा त्यसै मिल्किइरहेको तितेपातीको बहुउपयोगी गुणलाई मात्र हामीले उपयोग गर्न सक्यौँ भने त्यसबाट लिन सकिने लाभ अनगन्ती छ । 

कृषिप्रधान मुलुक नेपालमा विदेशमा डलर तिरेर कीटनाशक औषधी भित्र्याउनुको साटो यसैको उपयोगितातिर ध्यान केन्द्रित गर्ने हो भने उत्पादित खाद्य पदार्थमा प्राकृतिक गुण प्राप्त हुने छ भने आयात खर्च पूरै रोकिने मात्र होइन, स्वदेशभित्रै थुप्रैले रोजगारी पनि प्राप्त गर्ने छन् । त्यस्तै हेर्दा सामान्य लाग्ने यस्तो औषधीय वनस्पतिहरू कति छन्, त्यसको लेखाजोखा नै छैन । समृद्ध नेपाल र सुखी नेपाली यसरी  बन्ने छन् ।

जल, जङ्गल र जडीबुटीको साइनो एक अर्कासँग गाँसिएको छ । यो मानव जीवनदेखि प्राकृतिक सन्तुलनमा समेत प्रभाव पार्ने विषय भएकाले यसको संरक्षण, उपयोग र व्यापार अन्धाधुन्द नभएर नियोजित रूपमा गर्नु पर्छ । प्राकृतिक स्रोत मास्नेतिर नलागी व्यावसायिक खेतीतिर जोड दिनु आवश्यक छ । जलविद्युत्, सिँचाइ, खानेपानीमा जलसम्पदाको उपयोग गर्नु जति आवश्यक छ यसको संरक्षणका लागि जङ्गलको संरक्षण उति नै आवश्यक छ । 

‘जङ्गल नै मङ्गल’ मान्ने संस्कृतिका धनी हामी नेपाली यतिबेला जङ्गल मास्न उद्यत भइरहेको अवस्थालाई कडाइका साथ नियन्त्रण गर्नु पर्छ । केही व्यक्तिको लाभका लागि वातावरणीय क्षयको बेवास्ता गरी प्राकृतिक सम्पदाको उत्खनन तथा व्यवसाय गर्न दिने प्रथा रोकिनु पर्छ । जलबिनाको संसार कल्पना गर्न नसकिएकाले यसको आधारका रूपमा रहेको जङ्गलबिना पनि जीवनको कल्पना गर्न सकिन्न । त्यसैले अहिले बढ्दो प्रदूषणका कारण बढ्दै गएको जलवायु परिवर्तन र त्यसले निम्त्याउँदै गएको समस्यासँग जुध्ने उपायको खोजी पनि नितान्त आवश्यक भइसकेको छ ।

अन्त्यमा, अहिलेको आवश्यकता वैज्ञानिक तथ्यका साथ परम्परागत मूल्यमान्यतालाई पनि आत्मसात् गर्न सकियो भने उत्पन्न समस्याको समाधान गर्न सहज हुने र त्यसले मात्रै मानव कल्याण गर्न सक्छ । कुनै पनि जातविशेष हुन् वा लिङ्गविशेष उनीहरूको जीवनलाई सहज बनाउन वातावरण संरक्षण पहिलो कार्य हुने वैदिक संस्कृति नासिँदै जानु नै अहिले सिर्जेका अनगन्ती समस्याका कारण हो । यज्ञ गर्ने ठाउँमा टायर बाल्न थालियो, जैविक विविधताको संरक्षण गर्दै धारा, इनार, कुवा, नदी, पहाड, रुख समेतमा ईश्वरीय अंश देखेर पूजा गर्दै त्यसको संरक्षण गर्ने संस्कृति ओझेलमा पर्नु पनि अहिलेको समस्याका कारण हुन् । 

अबको आवश्यकता, आफूले नयाँ केही गर्न नसके पनि पुर्खाले छाडेर गएका धरोहरको संरक्षण गर्न सक्नु पर्छ हरेक पुस्ताले । अहिलेको वास्तविकता त के भने यो पुस्ताबाट भावी पुस्ताले २१ औँ सदीको उपहारका रूपमा पाउने भनेका विकृति, विसङ्गति, प्रदूषण, रोग,भोक र अभाव मात्रै भयो । यदि यो पुस्ताले असल कुरा दिन सक्दैन भने अघिल्लो पुस्ताले जोगाएर गएका सम्पदाको सकुशल हस्तान्तरण गर्नै पर्छ । यो पुस्ताले नेतृत्व तहमा रहेकासँग यस्तै अपेक्षा गरेका छन् । भावी पुस्तालाई हस्तान्तरण गर्ने त्यस्तो असल काम व्यवहार केही गर, जसले मुलुकको भलो होस् । अघिल्लो पुस्ताले दिएको सबभन्दा ठुलो उपहार भनेको प्रकृति संरक्षणको सूत्र, अभ्यास र सोही अनुसारको शुद्ध वातावरण हो ।

सास फेर्ने हावा र जीवन बचाउने पानीसमेत शुद्ध नपाउने अवस्थाको सिर्जना भइरहेको वर्तमान अत्याधुनिक समयको पीडादायी सन्दर्भ हो र यसको अन्त्यका लागि हामी नेपालीले हाम्रो मौलिकताको पुनर्जागरण गर्दैै विश्वव्यापी अभियान चलाउनु आवश्यक छ । यसो गर्न सके हाम्रो वातावरण राम्रो वातावरण बन्ने छ ।