• ८ मंसिर २०८१, शनिबार

नेपालमा नमुना संयुक्त राष्ट्रसङ्घको सुरक्षा बहस

blog

सुरक्षा परिषदको बैठक

चाँदनी हमाल
काठमाडौँ, असार १२ गते । 
संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदमा नव प्रविधिले विश्वमा ल्याएको चुनौतीका बारेमा मङ्गलबार बिहानैदेखि गम्भीर बहस चल्यो । सदस्य मुलुकका प्रतिनिधिहरूले नव प्रविधिका रूपमा आएको आर्टिफिसियल इन्टेलीजेन्स (एआई) ले असीमित रूपमा पारिरहेको सुरक्षा चुनौती रोक्न हम्मेहम्मे परेको दृष्टान्त औपचारिक तथा अनौपचारिक छलफलमा दिनुभयो ।

अभिषेक राज इक्वेडरका प्रतिनिधिका रूपमा उभिँदै आफ्नो देशमा मिलिट्रि इन्टेलीजेन्समै एआईले सुरक्षा चुनौती दिइरहेको औँल्याउनुभयो । भौतिक हतियारभन्दा फरक तरिकाले व्यापारिक बजारका रूपमा भित्रिएको एआई प्रविधिलाई नियमन गर्न सुरक्षा परिषद्ले तत्काल कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अघिसम्म आफ्ना कुर्सीमा बसेर औपचारिक छलफलमा केन्द्रित रहेको बैठक समूहगत छलफलमा परिणत भयो । प्रतिनिधिहरूले उभिएरै समूहगत रूपमा आफ्ना धारणा बलियो बनाउन लागे । जसका कारण परिषद्को बैठकमा केहीबेर होहल्ला मच्चिएर अस्तव्यस्त बन्यो ।

सुरक्षा परिषद्को बैठकको निर्देशक नुसैबा जहिनले एआईको सुरक्षा चुनौती थेग्न अब कसरी अगाडि बढ्ने भन्ने विषयमा ध्यान केन्द्रित गर्न प्रतिनिधिहरूलाई बारम्बार सुझाउनुभयो । होहल्लाकाबिच उहाँका कुरा कतिपयले सुने । कतिपयले सुनेनन् । क्षेप्यास्त्र, बन्दुक, बम, बारुद जस्ता भौतिक हतियारको रोकथामका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुनहरू उपलब्ध छ । प्राविधिक हतियारका रूपमा उदाएको एआई नियन्त्रण कसरी गर्ने भन्ने बारेमा प्रतिनिधिबिच नै अन्यौलता बढ्यो ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा बारम्बार उठिरहेको एआई सुरक्षा चुनौतीको झल्को दिने नमुना बैठक मङ्गलबारदेखि काठमाडौँमा जारी एभरेष्ट इन्टरनेसनल मोडेल युनाइटेड नेसन्सका क्रममा भइरहेको हो । सुरक्षा परिषद्को वास्तविकता देखाउने बैठकको अध्यक्षता नेपालका विशेष जोशीले गर्नुभयो । नेपालस्थित अमेरिकी दूतावास र यूथ थिंकर सोसाइटीले संयुक्त रूपमा नमुना अभ्याससहितको आयोजित सम्मेलनको क्रममा भएको यस बैठकको सुरुवातमा देशगत सुरक्षा चुनौतीबाट थालिएको थियो ।  सीमाहीन रूपमा अन्तर्राष्ट्रिय स्तरमा फैलिएकोमा प्रतिनिधिहरूले चिन्ता व्यक्त गरियो ।

अब एआईको समग्र नियमन गर्न सक्नेगरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको जोशीले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “एआई जस्तो नयाँ प्रविधि विश्व विकासका लागि जरुरी छ, तर त्यो मानव जगतलाई हानी नहुनेगरी नियमन हुनुपर्छ भन्ने हो ।”


संयुक्त राष्ट्रसङ्घीय शिक्षा, विज्ञान तथा संस्कृति सङ्गठन (युनेस्को) को बैठक पनि त्यसैगरी बस्यो । जहाँ विश्वका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षणकारी भूमिकाका विषयमा गम्भीर छलफल भयो । कुनै पनि देशको सम्पदा र संस्कृति त्यो देशको मात्र नभएर मानव सभ्यताकै धरोहर भएकाले पनि संरक्षण गर्नुपर्नेमा प्रतिनिधिहरूले जोड दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय महिलाको अर्को बैठक अर्को हलमा जारी थियो । जहाँ विश्व शान्ति र सुरक्षामा महिलाको सहभागिताको प्रश्न गहकिलो बन्यो । अंकिता शर्मा बर्दोलोइको अध्यक्षतामा बसेको बैठकमा सुडानकी सल्मा हाजमा जापानकी प्रतिनिधि बन्नुभयो । उहाँले जापानका महिलाको बलियो तथा कमजोर पक्षका बारेमा प्रकाश पार्नुभयो । पाकिस्तानका सैयद आसिफ राजा शाह अफगानिस्तानका प्रतिनिधि हुनुहुन्थ्यो । उहाँले अफगानिस्तानका महिलाको अवस्था कमजोर रहेपनि पछिल्लो समय केही परिवर्तन आएको औँल्याउनुभयो । नेपालकी स्मृति लामाले नेपालका धेरै महिला सैनिकले विश्व शान्ति र सुरक्षाका लागि भूमिका खेलिरहेको जानकारी गराउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको बैठकमा भने खेर गइरहेको पानीको व्यवस्थापनको सवाल पेचिलो बन्यो । पानीको संरक्षण गर्दै ब्लु इकोसिस्टमलाई प्राथमिकता दिनुपर्ने आवाज धेरैजसो प्रतिनिधिले उठाउनु भएको बङ्गलादेशका इमान हसन सैकतले जानकारी दिनुभयो ।

सङ्घकै खाद्य तथा कृषि सङ्गठनको बैठकमा भने कृषि विविधता र स्थानीय खाद्यान्नको बिउ संरक्षणलाई जोड दिइयो । जहाँ अगार्निक उत्पादनसँगै विश्वको जनसङ्ख्या धान्न सक्ने बिउविजनको उत्पादन गर्नुपर्नेमा सहभागीहरूले जोड दिनुभएको अनुजा बरालले बताउनुभयो ।

सङ्घका प्रमुख अङ्गहरूको बैठक, एजेण्डा निर्माण, बहस र त्यो प्रस्ताव पारित गर्ने प्रक्रियाको बारेमा सहभागीहरूले प्रत्यक्ष सिके । कतिपयले मङ्गलबार र कतिपयले बुधबार तय भएका प्रस्तावहरू पारित गरे । विश्वका दश देशका दुई सय जना युवाहरूको सहभागिता रहेको छ । सोमबारदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म चल्ने जनाइएको छ ।