मेक्सिकोको मध्य क्षेत्रमा अवस्थित दुर्गम पहाडी भूभागमा लगभग १५ हजार वर्षपहिले हुइचल आदिवासी अस्तित्वमा आएका थिए । अचेल पनि मेक्सिकोमा हुइचल आदिवासी रहेका छन् । हुइचलहरू ‘सियरा माद्री अक्सिडेन्टल’ पहाडमा बस्छन् । यिनीहरूले किसानका रूपमा दिन बिताइरहेका छन् । यिनको जनसङ्ख्या २० हजारको हाराहारीमा रहेको छ । हुइचलले मकै, सिमी तथा फर्सी, स्कुस, जकुनी, काँक्रोलगायतका लहरे तरकारी खेती गर्छन् ।
हुइचलहरूले आधुनिक जमानामा सामान्य किसानसरह जीवन व्यतीत गरिरहे पनि प्राचीन कालमा यिनीहरूको जनजीवनमा एउटा विचित्रको अभ्यास प्रचलनमा रहेको थियो । हुइचलको एउटा प्राचीन परम्परा के थियो भने प्रसव पीडाको अनुभव महिला र पुरुष दुवैले गर्दथे । प्रसव पीडा खेप्ने अचम्मको चलन थियो । आफ्ना अण्डकोषमा डोरी बाँधेर पिता दलिनमा बस्ने गर्थे र प्रसवका बेला आमाले पीडा सहन गर्न नसकी सो डोरी तान्ने गर्थिन् । आमाले अण्डकोषमा बाँधिएको डोरी तान्दा पिताले समेत असह्य पीडा महसुस गर्दथे ।
अचेल अमेरिकाका आदिवासी मानिसको जन्मसँग जोडिएका रीतिथिति तथा चिकित्सा ज्ञानका बारेमा धेरै कम मानिसलाई थाहा छ किनभने तिनीहरूको हातले चित्रित पाण्डुलिपिहरू ती स्पेनी विजेता र मिसिनरीहरूले नष्ट गरिदिए, जसले ती प्रथालाई गैरइसाईका रूपमा हेरेका थिए ।
बच्चाको जन्मसँग सम्बन्धित रीतिथितिसरह कतिपय मौलिक खालका संस्कृति/परम्पराले हुइचल मानिसहरू समृद्ध सांस्कृतिक विरासतका धनी छन् । हुइचल संस्कृतिको एक आकर्षक पाटो भनेको मोती र धागोले तयार पारिने विशिष्ट खालको चित्र विद्या हो । यी जीवन्त र विस्तृत चित्रकला मात्र साजसज्जाका लागि मात्र नभई यस्ता आध्यात्मिक शिल्पकृतिसमेत थिए, जो उनीहरूको ब्रह्माण्ड विज्ञान र धार्मिक विश्वाससँग जोडिएको थियो । हरेक कृतिमा प्रायः वर्षाका देवता वा मृगको आत्मासरहका देवी देवता तथा तिनीहरूका कथाको दृश्य दर्शाइएको देख्न सकिन्छ । प्रतीक र ढाँचामा गहिरो अर्थ लुकेको देखिन्छ ।
हुइचलको कम जानकारीमा आएको अर्को एक तथ्य हो, तिनीहरूको विरकुटा तीर्थाटन । सान लुइस पोटोसीको मरुभूमि क्षेत्रमा यो अवस्थित छ । उनीहरूले तीर्थाटनलाई आफ्नो जीवनमा एक मूलभूत कार्यका रूपमा लिएका छन् । त्यस क्रममा उनीहरूले पवित्र सिउडी पेयोटी सङ्कलन गर्छन् । त्यसलाई आफ्नो धार्मिक अनुष्ठानहरूमा अनिवार्य प्रयोग गर्ने उनीहरूको प्रचलन रहेको छ । यो यात्रा एक भौतिक यात्रा मात्र होइन आध्यात्मिक प्रार्थना यात्रा पनि हुन्छ । जसमा देवी देवताका लागि अनेक खालका अनुष्ठान गरिन्छ र प्रसादी चढाइन्छ ।
–युवामञ्च