• १३ असोज २०८१, आइतबार

कम्प्युटरमा आकर्षित आमाहरू

blog

ठाकुरप्रसाद आचार्य  

म्याग्दी (बेनी), असार ११ गते । म्याग्दीको बेनी बजार, मङ्गलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा अध्ययनरत ३७ वर्षीया कल्पना सुनार नेपाली र अङ्ग्रेजी दुवै अक्षर सजिलै टङ्कन (टाइप) गर्न सक्ने हुनुभएको छ । अब उहाँलाई कम्प्युटर सिक्ने रहर जागेको छ ।  सानैमा विवाह भएपछि बिचमै पढाइ छाड्नुभएकी पर्वतको जलजला गाउँपालिका–४, लामाखेतीकी सविना दर्जी पनि कम्प्युटरमा नेपाली र अङ्ग्रेजी दुवै अक्षर टाइप गर्न सिक्दै हुनुहुन्छ । 

उज्यालो वैकल्पिक विद्यालयमा भर्ना भएका ४५ जनामध्ये अध्ययनरत ४० जना आमा छन् । तीमध्ये कक्षा ८ मा पढ्ने १० जना आमा सजिलै कम्प्युटर चलाउन सक्ने भइसक्नुभएको छ । 

कल्पनाले भन्नुभयो, “मैले जिन्दगीमै कम्प्युटर चलाउन सक्दिनँ होला भन्ने लागेको थियो । आँट गरेँ, अहिले अलि अलि चलाउन सक्ने भएकी छु । अहिले त कम्प्युटर नजाने केही नहुने रहेछ ।” कम्प्युटर सिक्न थालेको एक हप्तामै नेपाली र अङ्ग्रेजी अक्षर टाइप गर्न सक्ने भएको उहाँले बताउनुभयो । 

कक्षा ८ मा अध्ययनरत ३० वर्षीया सविनाले भन्नुभयो, “सानैमा बिहे भयो, रहर हुँदाहुँदै ७ कक्षा पढेर छाडेँ । अहिले फेरि भर्ना भएर पढ्न थालेकी छु । कम्प्युटर सिकेर राम्रोसँग नेपाली र अङ्ग्रेजी टाइप गर्न सक्ने हुनु छ । पढाइलाई परिवारले पनि साथ दिएको छ ।”

विद्यालयकी प्रमुख एवं शिक्षिका बिन्दु कार्कीले आमाहरूले पढ्न रुचि देखाएका कारण छोटो समयमा उहाँहरूको पढाइमा सुधार भएको बताउनुभयो । सिकाउन १० वटा कम्प्युटर र प्रिन्टरसहितको ल्याबको पनि व्यवस्था छ । उहाँले भन्नुभयो, “कक्षा ७ देखि हामीले कम्प्युटर शिक्षालाई समावेश गरेका छौँ । एकदेखि दुई हप्ताभित्र आमाहरूले सामान्य कम्प्युटर चलाउन सक्ने हुनुभएको छ । थप सिक्ने आमाहरूको ठुलो रहर छ ।” 

शिक्षक कार्कीले भन्नुभयो, “आमाहरूले पढाइमा जाँगर देखाउनुभएको छ । छोटो समयमै उहाँहरूमा सिकाइ उपलब्धि देखिएको छ । आमालाई पढाउन पाउँदा हामी शिक्षकलाई पनि खुसी लागेको छ । विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी आमाहरू नै हुनुहुन्छ । पढ्ने तीव्र इच्छाशक्ति छ ।” 

सानो उमेरमा अध्ययन गर्न नपाएका, बिचैमा विद्यालय छाडेका महिला र आमालाई लक्षित गरेर विसं २०७१ देखि बेनीमा उज्यालो वैकल्पिक विद्यालय सञ्चालन गरिएको थियो । यहाँ कक्षा १ देखि १० सम्म पठनपाठन हुँदै आएको छ । २०८० को एसइईमा चार जना आमा सहभागी हुनुभएको छ । 

विद्यालय सञ्चालनका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा विकास तथा समन्वय एकाइ र बेनी नगरपालिकाले सहयोग गर्दै आएका छन् । सहयोगको निरन्तरता नभएको र स्रोत सुनिश्चित नहुँदा विद्यालयमा कार्यरत छ जना शिक्षकको तलब सुविधा र व्यवस्थापन खर्च जुटाउन धौ धौ पर्ने गरेको विद्यालय व्यवस्थापन समितिका सहसचिव सन्दीप खत्रीले बताउनुभयो । चन्दा सहयोग जुटाएर विद्यालयलाई निरन्तरता दिँदै आएको उहाँको भनाइ छ ।