• १२ असोज २०८१, शनिबार

निःशुल्क स्वास्थ्य क्लिनिकबाट ७८ हजार बढीले लिए सेवा

blog

भावना जोशी 

अत्तरिया, असार १० गते । कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट ७८ हजार ११७ सेवाग्राहीले सेवा पाएका छन् । हरेक महिना उपमहानगरले महिनाको एक दिन ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  

उक्त कार्यक्रममा झण्डै पाँच हजार गर्भवती महिलाको अल्ट्रासाउन्ड गरिएको छ । उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार जम्मा चार हजार ६ सय ९९ गर्भवतीको अल्ट्रासाउन्ड गराउँदा ४८ महिलामा जटिलता देखा परेको थियो । 

धनगढीले महिलाका लागि ‘आमा बचाउ’ कार्यक्रम सञ्चालन गरी निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । सो सेवा सञ्चालन भए यता पाँच सय ८० महिलाले सेवा प्राप्त गरेका छन् । तीन हजार ३८९ सुत्केरी आमालाई सुत्केरी भएको २४ घण्टा, तीन दिन र ७ दिनमा घरमै स्वास्थ्यकर्मी गएर जाँच गरिएको जनाएको छ । 

धनगढीका नगरप्रमुख गोपाल हमालले विशेषज्ञ चिकित्सकीय सेवाका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल आउनुपर्ने बाध्यता अन्त्य गर्ने र उपमहानगरवासीले वडाबाटै स्वास्थ्य उपचार पाउने उद्देश्यले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सुरु गर्नुभएको थियो ।