• १२ साउन २०८१, शनिबार

चर्किएकै घरमा भूकम्पपीडितको बास

blog

बाजुरा समाचारदाता

बाजुरा, असार १० गते । बाजुराका भूकम्पपीडित चर्किएकै घरमा बास बस्न बाध्य भएका छन् । २०७९ माघ १० गते र २०८० असोज १६ गते गएको भूकम्पले चिराचिरा पारेका घर पुनर्निर्माण नहुँदा पीडित चर्किएको घरमा बास बस्न बाध्य भएका हुन् ।

भूकम्पले घर चिरा चिरा परे पनि कहीँकतैबाट पुनर्निर्माण सहयोग नपाएपछि तिनै घरमा बास बस्न बाध्य भएको छेडेदह गाउँपालिका–५ का स्थानीय जित सार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “हिउँदमा यही चर्किएको घरमा बास बस्न सहज भयो । अब बर्खामा पानी परेपछि घर भत्किएर च्यापिने हौँ कि भन्ने चिन्ता छ, अन्त जाऊँ, कतै ठाउँ छैन । आफैँले घर निर्माण गरौँ भने पैसा छैन ।”

भूकम्पले जोखिममा परेका घर पुनर्निर्माणका लागि आग्रह गर्दा पनि अहिलेसम्म कहीँकतैबाट सहयोग नपाएको सार्कीले बताउनुभयो । गौमूल, हिमाली, बुढीगङ्गा, बडीमालिकालगायतका अधिकांश घर २०७९ माघ १० गतेको भूकम्पले चिरा चिरा पारेको छ । 

२०८० असोज १६ गते गएको भूकम्पले ती चिरा चिरा पारेका घर भत्काइएको यहाँका स्थानीयवासीले बताएका छन् । यहाँका अधिकांश गाउँबस्तीमा प्रायः माटो र ढुङ्गाले घर निर्माण गरिएका छन् । 

पटक पटक गएको भूकम्पका कारण एक हजार चार सय घर पूर्ण भत्किएको र तीन हजार पाँच सय घर बस्नयोग्य नभएको जिल्ला रेडक्रस शाखा बाजुराले जनाएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले भने एक हजार ९८० घर मात्र पूर्ण रूपमा भत्किएको जनाएको छ ।

भूकम्पका कारण वास्तविक कति घरमा क्षति भएको त्यसको यकिन तथ्याङ्क पठाउनका लागि जिल्ला विपत् व्यवस्थापन समितिले स्थानीय तहलाई जिम्मेवारी दिएको थियो । सोही अनुसार स्थानीय तहले यहाँका प्रत्येक वडामा भूकम्पले क्षति भएका घरको तथ्याङ्क सङ्कलन गरेर जिल्ला विपत् व्यवस्थापन समितिलाई पठाएको पालिकाले जनाएको छ ।

जिल्ला व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले स्थानीय तहबाट नै स्पष्ट तथ्याङ्क नआएकाले अहिले आवास निर्माणमा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि १४ करोड रुपियाँ बजेट आएको छ ।”

वास्तविक भूकम्पपीडित के कति छन् भन्ने यथार्थ विवरण नआएकाले स्थानीय तहमा आवास निर्माण कार्यक्रम सञ्चालन गर्न निकै समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।