• १२ असोज २०८१, शनिबार

आगलागी र फँडानीले वृन्दावन उजाड

blog

आगलागी र जथाभाबी कटानका कारण उजाड बनेको वृन्दावन । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, असार ९ गते । आगलागी र जथाभाबी वन फँडानीले घना वनका रूपमा रहेको वृन्दावन उजाड बन्दै गइरहेको छ । आगलागीले वृन्दावनमा रहेका लालीगुराँसका बोट जलेका छन् । कतिपय स्थानमा लालीगुराँस र सल्लाका रुख नै ढालिएका छन् ।  

बैतडी–बझाङ जोड्ने जयपृथ्वी लोकमार्गसँगै जोडिएको सिगास गाउँपालिका–१ को वृन्दावनमा बर्सेनि आगलागी र वन फँडानीका कारण वन उजाड बन्दै गएको वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । उहाँले वृन्दावनसँगै जोडिएका श्रीकेदार र सेला सामुदायिक वनमा पनि बर्सेनि आगलागीका घटना हुने गरेको बताउनुभयो । 

यो वर्ष यहाँका दुई सयभन्दा बढी वनमा आगलागी हुँदा हजारौँ बोटबिरुवा जलेर खरानी भएका छन् । जिल्लाभरि ३७२ वटा सामुदायिक वन छन् । तीमध्ये अधिकांश वनमा आगलागी भएको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ । सामुदायिक वनका पदाधिकारीले न आगलागी नियन्त्रण गर्न सकेका छन्, न त वृक्षरोपण गर्ने गरेका छन् । 

आगलागीका कारण क्षति भएका वनमा यो वर्ष सामुदायिक वनका पदाधिकारी बोलाएर जिल्लाभरि ७५ हजार बिरुवा रोप्ने तयारी भइरहेको डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख दिलीपकुमार यादवले बताउनुभयो । 

उहाँले भन्नुभयो, “वृक्षरोपणका लागि डिभिजन वन कार्यालयले नर्सरीमा चाप, टिमुर, ओखर, तेजपत्ता, अमला, रिट्ठालगायत विभिन्न वनस्पतिका ७५ हजार बोट हुर्काएर रोप्ने तयारी गरेका छौँ । सामुदायिक वन र निजी वनलाई निःशुल्क रूपमा बिरुवा उपलब्ध गराउँदै छौँ ।” 

वृक्षरोपणका लागि जिल्ला सदरमुकामले नर्सरी स्थापना गरेको छ । यो वर्ष जिल्लाको पाटन नगरपालिका, सिगास गाउँपालिका–१, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिकामा आगलागीका धेरै घटना भएका छन् ।  

सिगास गाउँपालिका–१ स्थित सेला वनमा आगलागी र खोटेसल्लाको वन बढेका कारण पानीका मुहान सुकेको जनगुनासो आएकाले त्यहाँ वृक्षरोपण गर्ने कार्यक्रम तय भएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । सामुदायिक वनले पानी सञ्चित गर्ने र आम्दानी पनि गर्ने खालका वनस्पति रोपेर वन हराभरा बनाउनुपर्ने बताइएको छ ।