• १४ असार २०८१, शुक्रबार

पर्सा प्रहरी कार्यालयमा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’ सञ्चालन

blog

जिल्ला प्रहरी कार्यालय पर्सा । फाइल तस्बिर

वीरगञ्ज (पर्सा), असार ८ गते । जिल्लामा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न र प्रहरी परिचालनमा व्यवस्थित गराउनका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’ सञ्चालनमा ल्याइएको छ । कार्यालयले दैनिक प्रहरी परिचालनलाई व्यवस्थित गराई आफ्ना गतिविधिलाई छिटोछरितो सम्बोधन, अपराध रोकथाम, नियन्त्रणका लागि स्मार्ट कन्ट्रोल रुमलाई  सञ्चालनमा ल्याएको हो । 

पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले डिजिटल स्मार्टरुपको शुक्रबार उद्घाटन गर्दै प्रविधिका माध्यमबाट अपराध नियन्त्रण र प्रहरी परिचालनमा सहज हुने बताउनुभयो । “प्रहरीलाई अत्याधुनिक प्रविधिसँग जोडेसँगै प्रहरीका गतिविधि पनि छिटोछरितो हुनेगर्छ”, उहाँले भन्नुभयो, “यसले प्रहरीलाई थप जिम्मेवार र तुरुन्तै एक्सनमा जाने वातावरण तयार पार्नेछ ।” 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले करिब सात लाखको लागतमा डिजिटल स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याएको बताउनुभयो । पहिला कन्ट्रोल रूप म्यानुअल ढङ्गले सञ्चालन हुँदै आइरहेको थियो”, उहाँले भन्नुभयो, “पहिला प्रहरीको १०० नम्बरमा आउने फोनबाट आउने उजुरी तथा गुनासो रेकर्ड सम्बन्धित ढाँडमा रेकर्ड गरेर फिल्डमा रहेका प्रहरीलाई फोनमार्फत जानकारी गराइन्थ्यो । तर अहिले प्रविधिकै माध्यमबाट रेकर्ड हुने भएकाले र तुरुन्तै रेस्पोन्स गर्न सकिनेछ ।” जिल्लाभरि रहेका प्रहरीका सवारी साधनलाई पनि ‘जिपिएस’ प्रणालीद्वारा ‘ट्याकिङ’ गर्ने पद्धतिको पनि विकास गर्ने काम भइरहेको छ । रासस