• १४ असार २०८१, शुक्रबार

भीमदत्तले अतिक्रमण हटाउन बढायो सक्रियताः दुई सय बढी पक्की संरचनामा डोजर

blog

फाइल तस्बिर

महेन्द्रनगर (कञ्चनपुर), असार ७ गते । भीमदत्त नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काउन सक्रियता बढाएको छ । सरकारले गृह मन्त्रालयमार्फत सबै जिल्लामा अतिक्रमणमा गरिएका सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणको पहल सुरु गरेसँगै नगरपालिकाले पनि त्यसको सुरुआत सदरमुकाम महेन्द्रनगरबाट सुरु गरेको हो ।

भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष सुुशील भट्टले बजार क्षेत्र र आसपासमा मात्रै सार्वजनिक जग्गामा बनाइएका दुई सयभन्दा बढी पक्की घर, सटर र भवनमा नगरपालिकाले डोजर लगाएको बताउनुभयो । गुरुयोजना लत्याएर तत्कालीन महेन्द्रनगर नगरविकास समितिका नेतृत्वहरुले भाडाका नाममा जग्गा वितरण गरेपछि उक्त विषय सर्वोच्च अदालतसम्म पुगेको थियो । अदालतले नै रिट खारेज गर्दै जग्गा खाली गराउन सहज हुने गरी आदेश गरेपछि नगरप्रमुख पदम बोगटीले अतिक्रमित जग्गामा बनेका भौतिक संरचना भत्काउन सुरु गर्नुभएको हो । 

जिल्ला प्रशासन कार्यालयमा केही समयअघि बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले समेत सार्वजनिक जग्गा अतिक्रमण हटाउने विषयमा समझदारी भएको थियो । केही दिनअघि मात्रै नगरपालिकाले यहाँस्थित होटल ओपेराले भाडामा लिएर बनाएको स्वीमिड पुल र पार्किडस्थलमा समेत डोजर चलाएको थियो । यहाँ केही वर्षयता नगरविकास समितिको जग्गा भाडामा लिएर विभिन्न व्यवसाय गरिरहेकाहरुलाई जग्गा खाली गर्न समयसमेत दिएको थियो ।

“अटेर गर्नेको हकमा डोजर नै लगाउनु पर्यो”, वडाध्यक्ष भट्टले भन्नुभयो, “अहिले राजमार्ग क्षेत्र वरपरको अतिक्रमण हटाउने काम भइरहेको छ ।” उहाँले बजार क्षेत्रमा लामो समयदेखि बसेका खोकाछाप्रा, सालघारीस्थित इको पार्कको अतिक्रमण र वनखेतस्थित औद्योगिक क्षेत्रमा नाममा लिएको जग्गा खाली गराइने उल्लेख गर्नुभयो । 

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले पनि केही दिनअघि झलारी र कलुवापुर बजार क्षेत्रमा पर्ने राजमार्गका सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाएको शुक्लाफाँटा नगरपालिका कार्यालयले जनाएको छ । नगरप्रमुख रणबहादुर महराले अतिक्रमण हटाउन सूचना जारी गरेपनि अटेर गरेकाले अतिक्रमण गरी बनाएका संरचना हटाइएको बताउनुभयो । “केही स्थानमा पुनः सार्वजनिक जग्गामा केही संरचना बने भन्ने सूचना प्राप्त भएको छ”, नगरप्रमुख महराले भन्नुभयो, “नगरसभाको बैठक सकिए पनि पुनः त्यसमा सक्रिय हुन्छौँ ।” 

उहाँले नगरपालिकाले हालै मात्रै नगर प्रहरीसमेत भर्ना गरिसकेको बताउँदै नगर प्रहरीले पनि त्यसमा निगरानी राख्ने बताउनुभयो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायाणप्रसाद सापकोटाले जिल्लामा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान चलिरहेको बताउनुभयो । उहाँले स्थानीय तह, सुरक्षा निकाय र आम नागरिकको सहयोगमा अभियानले निरन्तरता पाइरहेको उल्लेख गर्नुभयो । रासस