• १२ साउन २०८१, शनिबार

‘भलमनसा प्रथा मौलिक संस्कृति’

blog

धनगढी समाचारदाता

धनगढी, असार ६ गते । थारू समुदायमा सदियौँदेखि प्रचलनमा रहेको भलमनसा प्रथालाई जोगाउनुपर्ने सरोकारवालाले जोड दिएका छन् । परम्परागत प्रथा संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले भलमनसाका लागि आयोजना गरेको कार्यक्रममा सरोकारवालाले यस्तो धारणा राखेका हुन् । 

सहभागीले भलमनसा प्रथालाई कानुनी मान्यता दिएर प्रदेश सरकार र स्थानीय तहले संरक्षणका कार्यक्रम सञ्चालन  गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका बिनाविभागीयमन्त्री अक्कलबहादुर रावलले प्रदेश सरकारले यो प्रथालाई सम्पत्तिका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकार यो प्रथा संरक्षणका लागि गम्भीर छ । 

सरकारले बड्घर/भलमनसा ऐनको मसौदालाई सबैसंँग सहकार्य गरेर अगाडि बढाउँछ ।” भलमनसा प्रथासँग सिङ्गो समाजको इतिहास जोडिएको मन्त्री रावलको भनाइ थियो । भलमनसा चयन प्रणाली पनि लोकतान्त्रिक र सुन्दर रहेको उहाँले उल्लेख गर्नुभयो । थारू समुदायको पहिचान घर, चुलोदेखि सुरु हुने गरेको भन्दै राम्रो परम्परालाई संरक्षण र नराम्रो परम्परालाई परिमार्जन गर्न जरुरी रहेको बताउनुभयो । 

बड्घर/भलमनसा प्रथा संरक्षणका लागि प्रदेश सरकारले ऐन बनाइसकेको छैन । यद्यपि मसौदा समितिले बड्घर/भलमनसा ऐनको मसौदा प्रदेश सरकारलाई बुझाइसकेको छ । मसौदालाई छिट्टै ऐनका रूपमा पारित गर्न सदनमा आवाज उठाउने मसौदा समितिका सदस्यसमेत रहनुभएका प्रदेश सभा सदस्य गीता चौधरीले बताउनुभयो । भलनसाले गाउँ, समाजमा निःशुल्क सेवा दिने काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो । पछिल्लो समय विभिन्न समुदायको परम्परागत प्रथा, चालचलन लोप भइरहेको छ । थारू समुदायमा रहेको प्रचलित भलमनसा प्रथालाई जोगाउन जरुरी रहेकाले सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले जोड दिएको छ ।