• १२ साउन २०८१, शनिबार

घुमफिरको गन्तव्य बन्दै गोदावरी पुल

blog

अविनाश चौधरी 

धनगढी, असार ६ गते । प्रयोगविहीन अवस्थाको कैलालीको एक पुरानो पुल आम्दानी गर्ने थलो बनेको छ । गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा रहेको काठेपुललाई अचेल ‘भाइरल पुल’ भनेर चिनिन थालेको छ । यसको पहिचान बदलिएसँगै यो पुल आम्दानी गर्ने थलो बनेको हो । पुरानो काठेपुलनजिकै सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा पक्की पुल बनेपछि विगत केही वर्षदेखि भाइरल पुल सवारीसाधन ओहोरदोहोरका लागि प्रयोगमा छैन ।

अचेल यो पुल घुमफिर गर्न गोदावरी पुगेकाका लागि भने रमाउने पर्यटकीय स्थल बनेको छ । त्यहाँ पुगेकाहरू पुलमा घुमफिर गर्नुका साथै विभिन्न जातजातिको मौलिक पहिरन लगाएर फोटो खिचाउने, भिडियो बनाउने गरेका छन् । कैलालीको गोदावरी क्षेत्र घुम्न आन्तरिकसहित भारतीय पर्यटक पुग्ने गरेका छन् । 

घुमफिरका लागि गोदावरी पुगेकाले मौलिक पोसाक भाडामा लिएर फोटो खिचाउँदा स्थानीयवासीलाई गजबको आम्दानी भइरहेको छ । भाडामा पोसाक दिएर चाडपर्व वा सार्वजनिक बिदाको दिनमा दैनिक २० देखि २५ हजार रुपियाँसम्म कमाएको व्यवसायी जानकी ठकुन्नाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पहिले भाडामा ड्रेस दिने दुई वटा मात्रै पसल हुँदा दिनभरिमा अन्य व्यापारभन्दा यसबाट राम्रो कमाइ हुने गर्दथ्यो । अहिले यस्ता पसल चार वटा भएपछि पहिलेको तुलनामा आम्दानी केही घटेको छ ।” ठकुन्नाले हाल दैनिक दुई/अढाई हजारदेखि लिएर सात हजारसम्म आम्दानी भइरहेको बताउनुभयो । स्थानीय पसलेले क्षेत्री, मगर, थारू, तामाङ, नेवारका मौलिक पहिरन भाडामा उपलब्ध गराउने गरेका छन् । आधा घण्टाका लागि लुगा लगाएबापतको शुल्क एक सय, एक घण्टाका लागि दुई सय रुपियाँमा भाडामा दिने गरेको जनाइएको छ । 

घुमफिर गर्नेले विभिन्न जातिको मौलिक पहिरन लगाएर फोटो, भिडियो खिचाउने गरेका छन् । हाल गोदावरी पुल वरिपरि २६ जना फोटोग्राफरले काम पाइरहेका छन् । उनीहरूले एक सय रुपियाँमा पाँच वटा फोटो खिचेर तत्कालै मोबाइलमा पठाउने गरेका छन् । यसरी फोटो खिचेर दैनिक राम्रै कमाइ भइरहेको फोटोग्राफर नितिन भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटै पुलमा हामी २६ जना फोटोग्राफरले काम पाएका छौं । यो नै खुसीका कुरा हो ।” 

गोदावरीको भाइरल पुल जीर्ण अवस्थामा छ । गत वर्ष त्यसको एकातिर कमजोर भएपछि केही समय त्यसमा घुमफिर गर्न रोक लगाइएको थियो । भाइरल पुल पर्यटकीय स्थल बनिसकेकाले यसको संरक्षण स्थानीय सरकारसहित सरोकारवालाले गर्नुपर्ने व्यवसायी ठकुन्नाको भनाइ छ । 

पछिल्लो समय गोदावरीमा पर्यटक आकर्षण गर्ने संरचना थपिँदै गएका छन् । गोदावरी जिपलाइन सञ्चालनमा आएपछि दैनिक आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । थप आकर्षणका लागि भाइरल पुलमाथि अब छाता राख्ने योजना रहेको स्थानीय व्यवसायीले बताएका छन् ।