• १२ साउन २०८१, शनिबार

रहरले थालेको बाख्रा पालन : बन्यो बोयर बाख्रा उत्पादन केन्द्र

blog

बोयर जातको बाख्रा । फाइल तस्बिर

म्याग्दी (बेनी), असार ५ गते । बेनी नगरपालिका-३ भकिम्लीका धनबहादुर श्रीषले रहरमा सुरु गरेको बाख्रा पालन व्यावसायिक बनेपछि अगुवा किसानको पहिचान बनाउनुभएको छ । १३ वर्षअघि खाडी मुलुकको वैदेशिक रोजगारलाई छाडेर उहाँले स्थानीय जातका बाख्रा पालन सुरु गर्नुभएको थियो । 

जीविकोपार्जन र स्वरोजगार बन्ने उद्देश्यले सानो लगानीमा सुरु गरेको बाख्रा पालनलाई व्यावसायिक बनाउनुभएका उहाँले अहिले उन्नत जातका बोयर बाख्राको स्रोत केन्द्र स्थापना गर्नुभएको छ । व्यावसायी श्रीषले सञ्चालन गर्नुभएको श्रीष पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्ममा विगत पाँच वर्षदेखि शुद्ध बोयर जातका बाख्रा पालन हुँदै आएको छ । उहाँले बोयर बाख्रा भने नौ वर्षदेखि पालन गर्न सुरु गर्नुभएको थियो । 

उहाँले सञ्चालित फार्मलाई राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले बाह्य स्रोत केन्द्रको रुपमा समावेश गरेको छ । लामो समयसम्म मासु उपभोगका लागि बाख्रा पालन गरेको र पछिल्लो समय फार्मलाई बीउका लागि शुद्ध बोयर बाख्रा उत्पादन केन्द्रको रुपमा विकास गरेको फार्मका सञ्चालक श्रीषले बताउनुभयो । श्रीषको फार्ममा अहिले ४५ वटा शुद्ध बोयर बाख्रा छन् । फार्ममा तीन वटा ब्याडे बोका छन् । फार्ममा रहेका २० वटा माउ बाख्राले पाठापाठी जन्माउँछन् । 

फार्मबाट वार्षिक ५० वटा शुद्ध बोयर बाख्रा र बोका बीउको लागि बिक्री हुँदै आएको श्रीषले बताउनुभयो । “यहाँबाट देशका विभिन्न ५५ जिल्लामा बीउको रुपमा बाख्रा लगिएको छ, वार्षिक रुपमा १७ लाख बराबरको बोयर बाख्रा बिक्री गर्दै आएको छु’’ श्रीषले भन्नुभयो । व्यवस्थित र व्यावसायिक रुपमा स्थापित यो बाख्रा फार्ममा देशका विभिन्न ठाउँबाट नयाँ किसान अध्यायन अवलोकनका लागि समेत आउने गर्छन् । बाख्रा पालनका लागि श्रीषले ६० रोपनी जग्गामा घाँसका बिरुवा रोप्नु भएको छ । 

केही वर्ष अघिसम्म वार्षिक एक करोड बढीको बोयर बिक्री गर्नुभएका श्रीषले पछिल्लो समय स्वदेशमा युवाहरुको अभाव र विदेश पलायन हुने क्रमले बाख्रा पालनतर्फ आकर्षण घटेको कारण आफूले फार्ममा बोयर बाख्राको सङ्ख्या बढाउन समस्या भएको बताउनुभयो । “बाख्रा पालनमा लगानी, मेहनत, परिश्रम र आम्दानी सबैको चाँजो मिल्नुपर्छ, मैले बाख्रा पालनबाटै घर खर्च धानेको छु, बाख्रा पालनबाट म सन्तुष्ट नै छु, ’’श्रीषले भन्नुभयो । 

श्रीषले बाख्रा फार्ममा खोर बनाउन मात्रै ५० लाख बढी लगानी गर्नुभएको छ । आफूले बाख्रा पालन गरेपछि धेरै जना यो पेसामा जोडिन आउने र जाने क्रम भए पनि आफू भने आफ्नै घरमा आफ्नै पौरखमा रमाउन बाख्रा पालनलाई व्यवस्थित र व्यावसायिक बनाएर बसेको उहाँको भनाइ छ । राज्यले पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर अनुदान लगायतमा धेरथोर सहयोग गरे पनि पछिल्लो समय कृषि सहुलियत ऋण पाउन मुस्किल पर्ने र बीमा बापतको रकम भुक्तानीमा ढिलासुुस्ती हुँदा आफूहरु समस्यामा परेको किसान श्रीषले गुनासो गर्नुभयो । रासस