• १२ साउन २०८१, शनिबार

प्रेम सम्बन्धले निम्त्यायो हत्याकाण्ड

blog

बैतडी समाचारदाता  

बैतडी, असार ५ गते । नेपाली समाजमा पछिल्लो समय प्रेम र यौन विकृतिका अनेक घटना हुन थालेका छन् । यहाँ पाटनकी एक शिक्षिका यस्तै क्रियाकलापमा फसेपछि उनी ट्रकचालकको हत्या आरोपमा पक्राउ परेकी छिन् । एकल महिलासमेत रहेकी शिक्षिकाको घरमा नियमित आवतजावत गर्ने अर्का अटोरिक्साचालक आशिष पहरीसँग मिलेर महिलाले आफ्नै घरभित्र ट्रकचालकको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्याको कारण प्रेम र यौन क्रियाकलापसित जोडिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

प्रहरीका अनुसार शनिबार रातिदेखि बेपत्ता भएका ट्रकचालक पाटन नगरपालिका–६ का ४६ वर्षीय वीरभान विष्टको हत्या गरेको आरोपमा सोही ठाउँकी ३६ वर्षीय शिक्षिका भागरथी विष्टलाई सोमबार उनकै घरबाट पक्राउ गरेको छ । शिक्षिकासँगै हत्यामा संलग्न पाटन नगरपालिका–६ का अटोरिक्साचालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।    

घटनामा संलग्न पाटन नगरपालिका–१ का दुई जना विद्यार्थी २० वर्षीय राजेन्द्र भट्टराई र १८ वर्षीय किशोर भट्टराईसमेत पक्राउ परेका छन् । पक्राउ परेका दुई जना विद्यार्थीलाई शिक्षिकाले मोटरसाइलमा शव फाल्न २० हजार रुपियाँ दिएको खुलेको प्रहरीले जनाएको छ । रहस्यमय मानिएको हत्याको घटना प्रहरीले सात घण्टा नबित्दै प्रमाणसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । 

उहाँका अनुसार ट्रकचालक वीरभान असार १ बाट हराएका थिए । विष्टको हत्या महिलाको घरमा भएको खुलेको छ । हत्या हुनुअघि ट्रकचालक वीरभान विष्ट शनिबार राति महिलाको घरमा पुगेको देखिन्छ । केही समयपछि अटोरिक्सा चलाउने युवा पनि महिलाको घरमा गएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । दुई जना पुरुष र महिलाबिच भनाभन हुँदा वीरभान विष्टको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  

हत्यापछि वीरभान विष्टको शव मोटरसाइकलमा राखेर पाटन पञ्चेश्वर सडकखण्डको घाङाखोलामा फालिएको अवस्थामा सोमबार फेला परेको छ । महिलाले दिएको बयान अनुसार शव ओसार्ने काममा पाटनमा डेरा गरी पढ्दै आएका दुई जना विद्यार्थीको प्रयोग भएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । 

आरोपित शिक्षिकालाई प्रहरीले सोमबार घरबाटै पक्राउ गरेको हो भने घटनापछि फरार भएका दुई जना युवा राजेन्द्र भट्टराई र किशोर भट्टराईलाई डोटीको गैराबाट पक्राउ गरेको छ । घटनामा संलग्न अर्का युवा पाटन नगरपालिका–६ का अटो रिक्साचालक पहरीको खोजी भइरहेको प्रहरीले बताइएको छ ।