• १३ असार २०८१, बिहिबार

मन्त्री गिरीसँग चिनियाँ न्यायाधीश गुइसियाङको शिष्टाचार भेट

blog

कानुनमन्त्री पदम गिरीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ न्यायाधीश गुइसियाङको प्रतिनिधि मण्डल । तस्विरः मन्त्री गिरीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, असार ४ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ सर्वोच्च जनता अदालतका कमिटी सदस्य तथा न्यायाधीश लिउ गुइसियाङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको दुई पक्षीय भेटमा मन्त्री गिरीले नेपाल भ्रमण गर्नुभएकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल र चीनबिच रहँदैआएको सदियौँदेखिको घनिष्ठ सम्बन्ध कायम गरी नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको विश्वास दिलाउनुभयो ।


चीनले नेपालको विकासमा गर्दै आएको योगदानप्रति मन्त्री गिरीले धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल र चीनबिच हुँदैआएको न्यायपालिका बिचको अनुभव आदान प्रदानलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो । कानुन र न्याय क्षेत्रमा समेत पारस्परिक सहयोग अभिवृद्धि हुने विश्वास मन्त्री गिरीले व्यक्त गर्नुभयो ।


सो अवसरमा न्यायाधीश लिउ गुइसियाङले नेपाल र चीनबिचको सम्बन्ध ऐतिहासिक र जनस्तरमा रहेको भन्दै आगामी दिनमा पनि त्यसलाई कायम गर्नुपर्ने बताउनुभयो । आफूलगायत भ्रमण टोलीलाई नेपाल सरकारले गरेको स्वागतप्रति उहाँले खुसी व्यक्त गर्नुभएको मन्त्री गिरीका प्रेस संयोजक श्रीधर पौडेलले बताउनुभयो ।