• १३ असार २०८१, बिहिबार

२९ वर्षअघि थियो तापक्रम ४६.४ डिग्री सेल्सियस

blog

प्रकाशविक्रम शाह

धनगढी, असार ४ गते । धनगढी चोकमा भेटिने जोकोहीले यस पटकजस्तो गर्मी कहिल्यै भएन भनेर टीकाटिप्पणी गरेको सुनिन्छ । तापक्रम तीव्र गतिमा बढ्दा त्यस्तो कुरा गरेको सुनिएको हो । 

तर धनगढीमा गर्मीको रेकर्ड सन् १९९५ जुन १६ मै २९ वर्षकै सबैभन्दा बढी रहेको तथ्य फेला परेको छ । महाकाली बेसिन अत्तरियाका नायव मौसम विज्ञान सहायक प्रतिमा घिसिङका अनुसार सो दिन धनगढीको तापक्रम ४६.४ डिग्री सेल्सियस पुगेको थियो । 

यस पटक भने मे ३० मा सबैभन्दा बढी ४४.१ डिग्री सेल्सियस तापक्रम पुगेको छ । महाकाली बेसिनका प्रमुख सञ्जयकुमार साहका अनुसार जुन महिनाको १८ दिनमा चार दिन २, ३, ५ र ६ बाहेकका १४ दिनमा धनगढीको तापक्रम ४० डिग्रिसेल्सियस कटेको छ । 

यसैगरी मे महिनामा १४ दिन ४० डिग्री सेल्सियस तापक्रम कटेको थियो । मे महिनामा ५, ६, १५, १६, १७, १८, २४, २५, २७, २८, २९, ३०, ३१, ३२ तारिखमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको थियो ।  

धनगढीमा यस पटक अप्रिल महिनादेखि गर्मी बढेको हो । महाकाली बेसिनका प्रमुख साहका अनुसार अप्रिल १९, २६ र २९ मा गरेर तीन दिन ४० डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

उहाँका अनुसार ३७ डिग्री पुगेपछि सामान्य, ४० मध्यम र ४२ डिग्रीलाई अत्यधिक गर्मी भन्ने गरिन्छ ।