• १२ असार २०८१, बुधबार

महानगरपालिकाको बहुवर्षे शिक्षानीति

‘मस्यौदा नीति, पृष्ठपोषण कार्यक्रम’मा सहभागी हुन अनलाइनबाट खुला आह्वान

blog

काठमाडौँ, असार ४ गते । काठमाडौँ महानगरपालिकाले मस्यौदा गरेको ‘बहुवर्षे शिक्षानीति’लाई सहभागितामूलक बनाउन असार ७ गते सुझाव सङ्कलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अनलाइन फाराम भर्नुपर्नेछ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार, समावेशिता र क्षेत्रगत प्रतिनिधित्व सुनिश्चित हुने गरी आवेदकहरुलाई एसएमएसमार्फत सहभागी हुन निमन्त्रणा गरिनेछ ।

नीति मस्यौदामाथि पृष्ठपोषण लिने क्रमको पहिलो चरणमा महानगरपालिकाका कार्यपालिका सदस्यहरु, विभागीय प्रमुखहरु, विद्यालय निरीक्षकहरु, विद्यालयका प्रधानाध्यापकहरु, स्रोत शिक्षकहरु, विद्यार्थी, शिक्षक (तहगत रुपमा) शिक्षा क्षेत्रका अगुवा, अभिभावकहरुसँग सुझाव लिइसकिएको छ । सानासाना समूहमा गरिएका छलफल तथा कार्यशाला आयोजना गरेर पृष्ठपोषण लिइएको हो ।

पाँच वर्षका लागि तर्जुमा हुने भएकोले नीति कार्यान्वयनमा सबै पक्ष सहभागी हुन सक्ने र नतिजामा सबैले स्वामित्व ग्रहण गर्न सक्ने बनाउन शिक्षा क्षेत्रको उत्थानका लागि काम गरिरहनुभएका सबैलाई समेट्न, नीतिलाई समावेशी तथा सहभागितामूलक बनाउन दोस्रो चरणको कार्यक्रम आयोजना गर्न लागिएको झाको भनाइ छ । 

यसरी प्राप्त भएका सुझावलाई समेटेर मस्यौदालाई शिक्षा समिति, कार्यपालिका बैठक तथा नगर सभा बैठक लगेर छलफल गराइनेछ । त्यहाँ प्राप्त सुझावसहित नीति पारित हुनेछ । यसले महानगरपालिकाको २० वर्षको रणनीतिक योजना दीर्घकालीन लक्ष्य २१०० का योजना तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्न मद्दत गर्नेछ ।  

यही नीतिका आधारमा कार्यक्रम तर्जुमा हुनेछन् । कार्यक्रम सञ्चालन गर्न बजेटको आकार र स्रोत सुनिश्चित हुनेछ ।

सहरी योजना आयोगका सहायक विज्ञ विवेक बास्तोलाका अनुसार २ मिनेटमा अनलाइन फाराम भर्न सकिन्छ । सम्बन्धित व्यक्तित्वबाट उपयुक्त सुझाव लिने तयारीस्वरुप कार्यक्रममा सहभागी हुन अनलाइन आवेदन माग गरिएको हो ।