• १२ साउन २०८१, शनिबार

चैते धान काटेर खेतमा नराख्न नार्कको सुझाव

blog

काठमाडौँ, असार ४ गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आगामी साता कोशी, मधेश, बागमती प्रदेशमा मनसुनी हावाको प्रभाव रहने देखिएको हुँदा चैते धानबाली काटेर खेतमा नछाड्न किसानलाई जानकारी गराएको छ । नार्क अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धानले बुलिटन प्रकाशित गरी सो कुराको जानकारी गराएको हो । 

किसानहरू यतिखेर चैते धान घर भित्र्याउने चटारोमा रहेको र मनसुन पनि सक्रिय हुन लागेको अवस्थामा किसानलाई समयमा सचेत गराउनका लागि यो जानकारी गराएको केन्द्रका प्रमुख डा. ध्रुवराज भट्टराईले बताउनुभयो । 

साताभर पश्चिमी वायु, स्थानीय वायु तथा भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बन्ने न्यून चापीय क्षेत्रको आंशिक प्रभाव साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको पनि प्रभाव रहने सम्भावना रहेको उहाँले बताउनुभयो । 

२०७८ कात्तिकमा बेमौसमी वर्षाका कारण धानमा ठुलो क्षति पु¥याएको थियो । त्योबेला पनि केन्द्रले यस्तै बुलेटिन प्रकाशित पनि गरेको थियो तर किसानले त्यसप्रति ध्यान नदिँदा ठुलो क्षति भएको थियो । त्यतिबेला दुई लाख ८५ हजार हेक्टरमा लगाइएको धानमा बालीमा क्षति पु¥याएको थियो । सरकारी तथ्याङ्क अनुसार करिब आठ अर्ब रुपियाँ बराबरको क्षति भएको थियो । 

यस वर्ष धेरै किसानले चैते धान लगाएका छन् र विगतको भन्दा यस पटक पानी बढी पर्ने सम्भावना भएकाले समयमा धान भित्र्याउने र काटेको धान खेतमै काटेर नराख्न किसानलाई जानकारी गराएको केन्द्रले जनाएको छ । यसको जानकारी एसएमएस, रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट पनि जानकारी गराएको केन्द्रका प्रमुख भट्टराईले बताउनुभयो ।  

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा चैते धान उत्पादनको क्षमता बर्खे धानभन्दा बढी रहेको हुनाले धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादनमा जोड दिएको छ । किसानलाई चैते धान खेतीप्रति आकर्षित गराउनका लागि सरकारले विभिन्न सुविधा दिँदै आएका छन् । स्थानीय तहले चैते धानको खेती गर्न किसानलाई अनु्दानलगायत विभिन्न सुविधा दिन थालेपछि चैते धान उत्पादनको क्षेत्रफलमा विस्तार भएको छ । 

कृषि मन्त्रालयले धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादनमा जोड दिएको छ । चालु आवमा करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धानको क्षेत्र विस्तार गर्ने योजनालाई कृषि मन्त्रालयले अगाडि बढाएको छ । गत आवमा एक लाख चार हजार ७१२ हेक्टर क्षेत्रमा चैते धान खेती गरिएको थियो । त्यसमा २० हजार हेक्टर थपेर एक लाख २५ हजार हेक्टर पु¥याउने लक्ष्य कृषि मन्त्रालयले लिएको छ । 

चैते धानको खेती बर्खेभन्दा कम भए पनि उत्पादन क्षमता बढी हुन्छ । गत वर्षको चैते धान एक लाख आठ जार ६०७ हेक्टरमा खेती गरिएको थियो । त्यसमा पाँच लाख ४० हजार ३३१ मेट्रिक टन धान उत्पादन भएको थियो । बर्खे धान १३ लाख ३९ हजार १८२ हेक्टरमा लगाउँदा ४९ लाख ४६ हजार १४१ मेट्रिक टन धान मात्र उत्पादन भएको थियो । अर्थात् अनुपातमा बर्खे धानभन्दा चैते धानको उत्पादन बढी हुने गरेका कारण सरकारले चैते धान उत्पादनमा जोड दिएको हो ।