• १२ असार २०८१, बुधबार

वडास्तरीय पुरुष भलिबलको उपाधि रम्भा–१ लाई

blog

इमान सिं राना
रामपुर (पाल्पा), असार ३ गते ।
 जिल्लाको रामपुर नगरपालिका–४, मा भएको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रम्भा गाउँपालिका–१ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा रामपुर नगरपालिका–१० लाई ३–१ सेटले हराउँदै उपाधि जित्न सफल भएको हो । 

पहिलो सेटमा रम्भा–१ ले २६/२४ अङ्कसहित जित निकाल्न सफल भएको थियो । दोस्रो सेट १५–२५ अङ्कसहित गुमाउन पुग्यो । अन्ततः तेस्रो र चौथो सेट २५–२३ र २५–१९ अङ्कका साथ हात पार्दै रम्भा १ ले उपाधि चुमेको हो । फाइनल खेलमा पराजित भएसँगै रामपुर–१० ले द्वितीय स्थानमा चित्त बुझाएको छ । कालिका यूथ क्लबका पाँचौँ वार्षिक उत्सव तथा ऐतिहासिक गङ्गा दशहरा मेलाको अवसरमा भएको प्रतियोगितामा तृतीय स्थान रामपुर–३ ले हासिल गरेको छ । तृतीय स्थान छनोटका लागि भएको खेलमा रामपुर–४ लाई दुई÷एक सेटले हराउँदै रामपुर–३ ले तृतीय स्थान हात पारेको हो ।

पहिलो सेट रामपुर–३ ले २०–२५ अङ्क सहित गुमाएको थियो  । अन्ततः  दोस्रो र  तेस्रो सेट २५–२२ र १५–१० अङ्कसहित जित्न सफल भएको थियो । यस्तै खुल्ला महिला भलिबल प्रतियोगितामा स्याङ्जाको कालीगण्डकी गाउँपालिका विजयी भएको छ । फाइनल खेलमा स्टेप रामपुरलाई तीन–दुई सेटले हराउँदै कालीगण्डकी विजयी बन्न सफल भएको हो । खेलमा पहिलो र दोस्रो सेट कालीगण्डकीले २५/२३ र २५/२१ अङ्कसहित हात पार्न सफल भयो ।  तेस्रो र चौथो सेट स्टेप रामपुरले २५/२१ र २५/१७ अङ्कसहित हात पार्दै खेललाई बराबरीमा फर्काएको थियो । निर्णायक पाँचौँ सेटमा कालीगण्डकीले १५/नौ अङ्कका साथ जित निकाल्दै उपाधि जित्न सफल भएको हो ।

यससँगै स्टेप रामपुर उपविजेतामा सीमित भएको छ । प्रतियोगितामा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तर्फ विजेता समूह मध्ये प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः नगद ५५ हजार पाँच सय ५५ रुपियाँ, ३३ हजार तीन सय ३३  रुपियाँ र २२ हजार दुई सय २२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । महिला भलिबल तर्फ विजेताले नगद २० हजार रुपियाँ र उपविजेताले १० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विद्यागत पुरस्कारमध्ये पुरुष भलिबलतर्फ रम्भा–१ का सन्दीप सुनारी वेष्ट प्लेयर, आकाश पुन वेष्ट लिब्रो, रामपुर १० का सनम सिंजाली वेष्ट स्पाईकर, दिपेश आले वेष्ट ब्लकर, पुरन थापा वेष्ट कोच र रामपुर ३ का अमृत गाहा वेष्ट सेटर घोषित हुनुभएको छ ।

विजेता समूहलाई रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, नगर प्रवक्ता कपिल बहादुर खाँण, वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर राना लगायतको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा पुरुष भलिबल तर्फ २४ र महिला भलिबल तर्फ १० समूहको सहभागिता रहेको थियो ।