• १२ असार २०८१, बुधबार

बचतकर्ताको दुई अर्ब ८२ करोड अपचलन

blog

काठमाडौँ, असार ३ गते । दुई अर्ब ८२ करोड रुपियाँ अपचलन गरेको कृषि विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका चार सञ्चालक कानुनको फन्दामा परेका छन् । पति अध्यक्ष र पत्नी व्यवस्थापक रहेको उक्त सहकारीका अध्यक्षसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामध्ये चार जना पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार कृषि विकास सहकारीका अध्यक्ष, व्यवस्थापक र दुई जना सञ्चालक सदस्यलाई पक्राउ गरी सार्वजनिक गरिएको हो । 

तनहुँ स्थायी ठेगाना भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्ने सहकारीका अध्यक्ष तेजविक्रम थापा, सहकारी व्यवस्थापक सजना राजकर्णिकार, सहकारीका सञ्चालक सदस्यद्वय सञ्जय सापकोटा र भीमसेन महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । 

वरिष्ठ उपरीक्षक भट्टराईले भन्नुभयो, “अध्यक्ष थापा र व्यवस्थापक राजकर्णिकार पतिपत्नी भएको खुलेको छ । सहकारीका अध्यक्षसहित सञ्चालकविरुद्ध ९५ करोड रुपियाँभन्दा बढीको मागदाबीसहित ५६६ वटा जाहेरी आएपछि फरार रहेका चारै जनालाई पक्राउ गरिएको हो ।” उहाँका अनुसार कृषि विकास बहुद्देश्यीय सहकारीका बचतकर्ता ललितपुरका सबैभन्दा बढी छन् ।  त्यसै गरी काठमाडौँ र भक्तपुरका बचतकर्ता पनि सहकारीको आर्थिक अपचलनबाट पीडित भएका छन् । 

कृषक र श्रमिकको बचत घरजग्गामा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका सदस्य सचिव केशवप्रसाद पौडेलले कृषि विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सरकारले २०८० माघ २६ गते समस्याग्रस्त घोषणा गरेको बताउनुभयो । 

उहाँका अनुसार दुई अर्ब ८२ करोड २७ लाख ८७ हजार ७९३ रुपियाँ बचत रकम अध्यक्ष थापासहित सञ्चालकले अपचलन गरेको दाबीसहित सहकारीका दुई हजार ५३१ बचतकर्ताले बचत फिर्ताका लागि निवेदन दिएका छन् । श्रमिक, कृषकदेखि सामान्य ज्यालादारी गर्ने नागरिकको बचतले अध्यक्ष थापाले अस्पताल, व्यापारिक केन्द्र (मार्ट) देखि घरजग्गाको कारोबारसम्म गरेको खुलेको छ । वरिष्ठ उपरीक्षक भट्टराईले भन्नुभयो, “जग्गाजमिनदेखि व्यापारिक केन्द्रसहित धेरै ठाउँमा लगानी गरेर बचतकर्ताको रकम अपचलन गरेको पाइएको छ ।”

घर छोडेर भाडाको कोठा 

२०५६ पछि सहकारीमा लेखापालको जागिरे हुँदै प्रवेश गरेका थापाले चार वर्षपछि २०६० मै सहकारीमा कार्यकारी अध्यक्षको भूमिका पाउनुभयो । नेपाली कांग्रेस तनहुँका नेतासमेत रहेका थापा सहकारीमा प्रवेश गरेपछि फलिफाप नै भयो । 

गोकर्णेश्वरमा उहाँको घर छ तर सहकारीमा आर्थिक अपचलनको जाहेरी परेपछि उहाँ फरार हुनुभयो । उहाँ राजधानीबाहिर गए पनि सहज नभएपछि काठमाडौँ फर्किएर गोकर्णेश्वरमै भाडामा कोठा लिएर बस्नुभयो । थापापत्नी सजना २०६२ पछि सहकारीको व्यवस्थापकीय जिम्मेवारीमा रहनुभएको थियो । सहकारीका हर्ताकर्ता थापा दम्पती नै रहेको प्रहरीको भनाइ छ । 

काठमाडौँ जिल्ला अदालतबाट २०८० पुस १९ गते सहकारीका अध्यक्ष, व्यवस्थापकसहित १३ जना आर्थिक अपचलनमा संलग्न अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले भन्नुभयो, “कोठामा बस्दा सुरक्षित हुने देखेर घर छोडेर फ्लाट लिइएको पाइयो । त्यहीँबाटै पक्राउ गरिएको हो ।”

मिडियाको परिचयपत्र, नाम फर्जी !

एसएसपी भट्टराईका अनुसार सहकारीका अध्यक्ष थापाको साथबाट सञ्चार माध्यमको फर्जी परिचयपत्र पनि बरामद भएको छ । उक्त सहकारीकै लगानीमा २०७३ कात्तिक १४ गतेदेखि औपचारिक प्रसारण सुरु भएको कृषि टेलिभिजनका अध्यक्ष रहेका थापासहितका साझेदारले त्यसको दुई वर्षपछि गोर्खा टेलिभिजन पनि खोल्नुभयो । 

‘तेजविक्रम थापा’ वास्तविक नाम भएपछि प्रहरीले बरामद गरेको ‘गोर्खा टिभी’ को परिचयपत्रमा ‘राज ठकुरी’ नाम उल्लेख छ । २०७९ मा श्रमजीवी पत्रकारलाई तलब नदिएपछि र तलब माग्न जाँदा सञ्चालक थापाले पत्रकारलाई धम्क्याएर विवादमा तानिनुभएको थियो । 

कृषि सहकारी, अन्यत्र लगानी

प्रहरीका अनुसार सहकारीका अध्यक्ष थापाले सहकारीको बचतबाटै लोकन्थलीस्थित समिट हस्पिटल, यती हब्र्ससहितका कम्पनी खोलेर लगानी गरेको खुलेको छ । थापाको नाममा कृषि इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड कम्पनीमार्फत काठमाडौँ, ललितपुर र भक्तपुरमा एक दर्जनभन्दा बढी स्थानमा व्यावसायिक केन्द्र (मार्ट) सञ्चालन गरिएको छ । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव पौडेलले भन्नुभयो, “जग्गाजमिनको कारोबारदेखि सहकारीको नियमविपरीतका काममा अर्बभन्दा बढी लगानी गरेपछि सहकारी समस्याग्रस्त भएको हो । बचतकर्ताको रकम फिर्ता हुनु पर्छ । हामी पनि त्यही गृहकार्यमा छौँ ।”