• १० असार २०८१, सोमबार

विष खुवाउने प्रेमिका पक्राउ

blog

गोकर्ण दयाल

बैतडी, असार २ गते । सँगै मर्ने, सँगै बाँच्ने बाचा कसम खाएर प्रेम बन्धनमा बाँधिएर विधिवत् विवाहको तयारीमा रहेका एक प्रेमीकाले आफ्नै प्रेमीसहित उहाँका आमाबुवालाई खानामा विष मिसाएर खुवाएर मार्न खोजेको आरोपमा पक्राउ परेकी छन् ।  

पुर्चौडी नगरपालिका–१०, विजयपुरको बिचकिल्ला घर भई प्रेमीको घर सुर्नया गाउँपालिका –५, बरायलको मल्लो कक्सयाली बस्दै आएकी १८ वर्षीया करिश्मा बिस्टलाई बैतडी प्रहरीले पक्राउ गरेको हो । 

विषादी मिसिएको खाना खाएपछि सुर्नया गाउँपालिका –५, बरायलको मल्लो कस्सयालीका प्रेमी २२ वर्षीय करन विष्ट,  उहाँका बुवाआमा ५५ वर्षीय कलुवा विष्ट र ५४ वर्षीया माधवी विष्ट अस्पताल भर्ना हुनुभएको छ । 

करिश्मा र करनबिच प्रेम बसेपछि विधिवत् विवाहको तयारी भइरहेको थियो । प्रेमी करन विष्टकी ठुलीआमाको निधनका कारण विधिवत् विवाह हुन ढिलो भएपछि प्रेमीका गत माघ महिनादेखि प्रेमीको घरमा सुर्नया पुगेर बुहारीजस्तै बनेर बसेको परिवारका सदस्यले बताएका छन् । 

हिन्दु परम्पराअनुसार विधिवत् विवाह हुन बाँकी रहे पनि छोराले बुहारी भित्र्याएकोमा घरपरिवार खुसी रहेको परिवारका सदस्यले बाएका छन् । प्रेमी करन विष्टकी ठुलीआमाको वार्षिक पुण्यतीथिपछि विधिवत् विवाह गर्ने तयारी भइरहेका बेला दुखद् घटना भएको करनका ठुलोबुवा मानबहादुर विष्टले बताउनुभयो । उहाँले, बिरामी परेका तीन जना आफ्नै भाइको परिवारका सदस्य रहेको  बताउनुभयो । 

“विवाह नहुँदै बुहारी मानेर बसेका थियौँ, तर विष खुवाएर मार्न खोजिन्” उहाँले भन्नुभयो,“ शुक्रबार साँझ रोटी पकाउँदा पिठोमा विष मिलाएकी रहिछन् । आफूले खाना खाइसकेको भन्दै परिवारका तीन जनालाई मात्र खाना खुवाएको पाइयो । राति ९ः०० बजे खाना खाएर आराम गर्न बसेका बेला छोरा करन र उहाँका आमाबुवाले बान्ता गर्न थालेपछि राति नै एम्बुलेन्स बोलाएर डडेलधुरा अस्पताल पुगाएका थिए । बुहारी मानेर भित्र्याएकी युवतिले यस्तो गर्लिन् भन्ने सोचेका पनि थिएनौँ ।”  

गालीको निहुँमा खानामा विष

प्रहरी नियन्त्रणमा रहेकी युवतिले खानामा विष मिलाएर खुवाएको स्वीकार गरेकी छन् । प्रारम्भिक अनुसन्धानमा युवतिले बाख्राले बाली खाएपछि सासूले गाली गरेका कारण खानामा विष मिलाएको बयान दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानमा बाख्राले बाली खाएपछि सासूले गाली गरेका कारण घटना भएको खुल्न आएको छ । ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान गरिरहेका छौँ ।”