• १० असार २०८१, सोमबार

'हामी सुधार्छौँ हाम्रो विद्यालय' अभियान सुरु

blog

देवघाट अभियान अन्तर्गत देवघाट गाउँपालिकाको कार्यालयमा गरिएको कार्यक्रम । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, असार २ गते । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि तनहुँको देवघाट गाउँपालिकामा ‘हामी सुधार्छौँ हाम्रो विद्यालय’ अभियान सुरु भएको छ । ‘विद्यालयमा सुशासन, जिम्मेवार र सक्षम व्यवस्थापन’ भन्ने मूल नाराका साथ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल देवघाट गाउँपालिका समितिले अभियान सुरु गरेको हो। 

शैक्षिक गुणस्तर सुधारमा शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवालाको अपनत्व बढाउँदै सामुदायिक विद्यालयको गुणात्मक विकासका लागि अभियान सुरु गरिएको समितिले जनाएको छ । सामुदायिक विद्यालयको गुणस्तर खस्किँदा निजी विद्यालयको भर पर्नु पर्ने अवस्था आएकोले सरकारको लगानी खेर नजाओस् भन्नको लागि अभियान सञ्चालन गरिएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल देवघाट गाउँपालिका समितिका अध्यक्ष डा. सुरेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘परम्परागत तरिकाले पठनपाठन गर्ने र झारा टार्ने प्रविक्तिले सरकारले लगानी गरे अनुसारको प्रतिफल प्राप्त नगरेकोले अभियान सञ्चालन गरेका हौँ ।’ 

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र शिक्षकसँग मिलेर सुधारको कदम चालिएको उहाँले बताउनुभयो । सिकाई उपलब्धिमा कमजोर भएकोले सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएकोले सुधार गर्न स्मार्ट बोर्ड, स्मार्ट टिभीमा इन्टरनेटको मद्दतले पठन पाठन हुनुपर्ने त्यसको लागि शिक्षकले क्षमता अभिवृद्धिको लागि तालिम लिन सुझाव दिएको श्रेष्ठले बताउनुभयो ।  अभिभावकहरूलाई सामुदायिक विद्यालय प्रति भरोसा जगाउनका गुणस्तरीय शिक्षा प्रदान हुन्छ भन्ने विश्वास दिलाउने काम विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र शिक्षकलाई गर्न सुझाव दिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

समितिको अभियानलाई सफल बनाउन गाउँपालिकाले साथ र सहयोग गरिरहेको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो । पालिकाभित्र रहेको सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा शिक्षक अभिभावक सङ्घका अध्यक्षहरूलाई सुधारको बारेमा छलफल तथा प्रशिक्षण कार्यक्रम गरिएको अध्यक्ष थापाले बताउनुभयो । यस अभियानलाई साथ दिन प्रत्येक वडाका कम्तीमा एक विद्यालयमा स्मार्ट बोर्डको माध्यमबाट पठन पाठन गर्ने तयारी भइरहेका अध्यक्ष थापाले बताउनुभयो । 

सरकारले विद्यालयको स्वामित्व समुदायलाई नै हस्तान्तरण गरिएको सामुदायिक विद्यालय भनिएको तर अभिभावकहरू सुधार गर्न गम्भीर नहुने गरेको पाइएकोले अभिभावक सचेतना शिक्षा कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । थापाका अनुसार सामुदायिक विद्यालयको शिक्षा सुधारको लागि गत वर्षदेखि नै चार विद्यालयमा एकीकृत शिक्षा कार्यक्रम लागु गरिएको छ । एकीकृत अन्तर्गत शिक्षा, स्वास्थ्य र कृषिलाई सँगसँगै लगिएको छ । कृषि अन्तर्गत तरकारी, अन्नबाली र फलफूल खेती विद्यालयले सञ्चालन गर्ने, स्वास्थ्य अन्तर्गत सर्ने र नसर्ने रोगको बारेमा जानकारी दिँदै, खेलकुद शिक्षकलाई योग तथा शारीरिक व्यायामको बारेमा प्रशिक्षण दिने कार्यक्रम भइरहेको छ ।

अभियान अन्तर्गत देवघाट गाउँपालिकामा रहेको ३४ वटै विद्यालयमा सचेतना कार्यक्रम गरिने समितिले जनाएको छ । यस क्रममा समितिले शुक्रबार देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सकिने उपायहरूको बारेमा छलफल गरिएको थियो । 

विद्यालयको जीर्ण भौतिक पूर्वाधार, खानेपानी, शौचालय, प्राथमिक स्वास्थ्य उपचार, खेल मैदानको अभाव, सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप, पुस्तकालयको अभाव, अभिभावक, विद्यालय प्रशासन र व्यवस्थापन समिति बिच तालमेल नहुनु, स्थानीय तहबाट प्रभावकारी अनुगमनको अभाव लगायतले गर्दा सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा अवरोध देखिएको बारेमा सहभागीहरूको जोड थियो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल तनहुँका अध्यक्ष विष्णुभक्त न्यौपानेले तनहुँका सबै पालिकामा यो अभियान लैजान आवश्यक भएकोले पालिकासँग समन्वय भइरहेको बताउनुभयो ।