• ७ मंसिर २०८१, शुक्रबार

होम डेलिभरी [कथा]

blog

जिन्दगी चल्न त चल्या’छ पिरैपिरमा छ... ।’ म घरको बरन्डामा बसेर गुनगुनाउँदै थिएँ । एउटी युवती आएर सोधी, “तपाईं घरबेटी हो ?” “तपाईंलाई म घरबेटी जस्तो लाग्छ ?” मैले जवाफ दिनुको सट्टा उल्टै प्रश्न गरेँ । जवाफको सट्टा उल्टै मेरो प्रश्न सुनेर युवती छक्क पर्दै मलाई हेर्न थाली ।

म उसलाई हेरेर मुस्कुराएँ । उसले लाज माने जस्तो गरी । मैले परिस्थिति सहज बनाउन खोज्दै भनेँ, “म घरबेटी होइन ।”“उसोभए को हो त घरबेटी ?” उसले अलिकति आत्तिए झैँ गरी सोधी ।

“माथि हुनुहुन्छ,” मैले माथि झ्यालतिर औँल्याएर भनेँ । “एक पटक बोलाइदिनुस् न ।” उसले मिठोसँग अनुरोध गरी । यति मिठोसँग अनुरोध गरेपछि मैले नाइँ भन्ने कुरै भएन । मैले माथि झ्यालतिर हेरेर घरबेटीलाई बोलाएँ, “घरबेटी बा.. !”

घरमा नयाँ मान्छे आएको थाहा पाइसकेर होला, “के भो भाइ ?” भन्दै घरबेटी टुप्लुक्क तलै आइपुगे ।

“यहाँ कोठा खाली छ भन्ने थाहा पाएर आ’को,” युवतीले घरबेटीतिर हेरेर भनी ।

यति राम्री केटी छिमेकी बन्न आउँदै छे । मोज गर केटा– मेरो पापी मनले भन्यो । मैले उसलाई तलदेखि माथिसम्म नियालेर हेरेँ । युवतीले निकै असहज महसुस गरी । उसका गालामा चढेको लालीले मैले यस्तो अनुमान गरेँ ।

“कति जना बस्ने हो ?” घरबेटीले पनि मैले जस्तै युवतीलाई तलदेखि माथिसम्म नियालेर भने । उनी त्यति बुढा भइसकेका छैनन् । उनी सरकारी जागिरमा सहसचिव भएर उमेरहदका कारण अवकाश भएका हुन् । परार साल पाठेघरको क्यान्सरले श्रीमती मरेदेखि उनी घरमा एक्लै छन् । एउटा छोरा र एउटी छोरी छे । छोरा अमेरिकामा पढ्दै छ । छोरी अस्ट्रेलियामा पढ्दै छे । उनलाई खाना पकाएर खुवाउन, घर सफा गर्न र उनका लत्ताकपडा धुन एउटी महिला बिहानबेलुका सधैँ आउँछे । 

“म एक्लै हो । कहिलेकाहीँ मामाका छोराहरू आउँछन्,” युवतीले भनी । “केटी मान्छे एक्लै...,” घरबेटीले केही भन्न खोज्दै थिए । उनलाई उछिनेर मैले भनेँ, “के भयो त घरबेटी बा, धेरै केटी एक्लै भाडामा बसेका छन् ।”

मैले यसो भन्दै गर्दा युवतीले निकै उत्सुकतापूर्वक मलाई हेरी । घरबेटीले चाहिँ ‘तलाई किन जान्ने हुनु परेको’ भने जस्तो गरी मलाई घुरेर हेरे । मैले हाँसेर टारिदिएँ । युवती पनि फिसिक्क हाँसी । मेरो मनमा फूल फुल्यो । 

“कुन जा...,” घरबेटीले सायद जात सोध्न खोजेका थिए । काठमाडौँकी घरबेटी सरस्वती प्रधानलाई जातीय भेदभाव गरेको आरोपमा मुद्दा हालेको कुरा सम्झेर होला, उनी बिचमै रोकिए । “चिन्ता गर्नु पर्दैन । म क्षेत्री हुँ । विश्वास लाग्दैन भने मेरो नागरिकता हेर्नुस् ।” युवतीले ब्यागबाट नागरिकता झिक्न खोजी । “भो भो पर्दैन । तपाईंले भनेपछि पुगिहाल्यो नि । के गर्नु, समाजमा बसेपछि समाजको नियम पनि मान्नु पर्छ र समाजसँग डराउनु पनि पर्छ ।” 

“कुरा ठिकै हो,” युवतीले घरबेटीको कुरामा सहमति जनाई । घरबेटी कोठा दिन तयार हुन्छन् कि हुँदैनन् भन्ने जिज्ञासाले युवतीले घरबेटीको मुख ताक्न थाली ।

“भाडा चाहिँ छ हजार लाग्छ । पानी, बिजुली र फोहोरको छुट्टै,” घरबेटी कोठा दिन तयार भए ।

युवतीको मुख उज्यालो भयो । उसले मुस्कुराउँदै भनी, “पाँच हजार गर्नुस् न घरबेटी बा ।” कोठामा नबस्दै उसले घरबेटीको साइनो लगाइहाली ।

“ल हुन्छ । भाडा चाहिँ समयमै दिनु पर्छ नि,” घरबेटीले केहीबेर सोचेर भने ।युवतीले एडभान्सका रूपमा एक हजार रुपियाँ घरबेटीको हातमा राखिदिई । कोडाभाडा पक्का भयो । त्यो युवती मेरो छिमेकी हुने भई । मलाई पनि खुसी लाग्यो । तर किन ? मैले आफैँलाई प्रश्न गरेँ । तर उत्तर दिन सकिनँ अर्थात् भन्न सकिनँ । भन्ने कुरा पनि होइन । यो त महसुस गर्ने कुरा हो ।‘चट्ट हेर्दा हजुर जिन्दगी दामी छ, सबै ठिक छ हजुर पैसाकै कमी छ... ।’ म आफ्नै सुरमा गुनगुनाउँदै थिएँ । युवती आफ्नो कुम्लोकुटुरो बोकेर आइपुगी । 

कुम्लो बिसाउँदै युवतीले भनी, “तपाईं त गायक हो कि कसो ?” युवतीले हँसिलो पारामा बोल्ने बाटो खोली ।

“न गायक, न त नायक । म त नालायक पो भएको छु त,” मैले ठट्टाको पारामा भनेँ । मेरो सेन्स अफ ह्युमरबाट ऊ प्रभावित भई । भनी, “तपाईं त रमाइलो मान्छे हुनुहुँदो रहेछ ।”

मेरो मनमा व्यभिचार आइहाल्यो । मनमनै भनेँ, “हो, अब हामी दुई मिलेर अझ धेरै रमाइलो गर्नु पर्छ ।” अनि ऊतिर हेरेर भनेँ, “खोइ, सबैले यस्तै भन्छन् तर आफ्नो मनमा चाहिँ नरमाइलो मात्रै छ ।”

“किन नि ?” उसले जिज्ञासापूर्वक भनी ।

“किन भन्नु खोइ ! कति धेरै सपना साँचेर गाउँदेखि सहर आइयो । न यहाँ बसेर केही गर्न पाइयो, न त विदेशै जान सकियो,” मैले अलि उदास भएर भनेँ ।

“मेरो पनि उस्तै हाल हो ।” उसले छोटो बोली र आफ्नो कुम्लोकुटुरो बोकेर कोठाभित्र पसी । म पनि आफ्नो कोठाभित्र पसेँ । कोठामा बसेर अब उसका बारेमा सोच्न थालेँ । जिन्दगीका बारेमा सोच्न बिर्सिदिएँ ।

“हेल्लो ! कहाँ डेलिभरी गर्नुपर्ने हो ? ए, डेलिभरी चार्ज हजार रुपियाँ लाग्छ । ... हस् । ... हुन्छ,” ऊ मैले सुन्ने गरी मोबाइल फोनमा यस्तै भन्दै थिई । 

ऊ सायद अनलाइन बिजिनेसको काम गर्छे । अचेल अनलाइन बिजिनेस खुब फस्टाएको छ । धेरैले रोजगारी पनि पाएका छन् । आफूलाई पनि यस्तै काम मात्रै मिले पनि हुन्थ्यो । बेरोजगार भई बाँच्न साह्रै गाह्रो भयो । 

तर एउटा कुराले म छक्क परेँ । डेलिभरी चार्ज नै हजार रुपियाँ लाग्ने माल त महँगै होला । कतै लागुपदार्थ त होइन ? मेरो मनमा शङ्काको बादल मडारियो । जेसुकै होस्, मलाई केको खस्खस् ।‘गाह्रो भयो हजुर खुलेर हाँस्नलाई, बेरोजगारी हजुर भएर बाँच्नलाई... ।’ म फेरि आफ्नै सुरमा गुनगुनाउन थालेँ । ऊ चट्ट सिँगारिएर निस्की । माल पु¥याउनका लागि होला । उसले कुनै माल बोकेको देखिनँ । एउटा हाते ब्याग मात्रै बोकेकी थिई । सम्भवतः माल त्यो ब्यागभित्र हुनु पर्छ र अत्यन्त बहुमूल्य हुनु पर्छ । डेलिभरी चार्ज नै एक हजार रुपियाँ पर्ने माल लर्तरो कहाँ होला र !

बेरोजगारीको पीडाले मलाई खुलेर हाँस्न गाह्रो भइरहेको बेला ऊ भने मेरो रुन्चे गायकी सुनेर खुलेर हाँस्दै गई । मेरो मनमा भुइँचालो चलाएर गई । मेरो मन अस्थिर बनिरह्यो । भरे ऊ आउँदा म सुत्ने तर्खर गर्दै थिएँ । उसलाई हेर्न मैले ढोका खोलेँ । उसले मलाई नहेरी ढोका लगाई । उसको ढोका खुल्ला कि भन्ने आसमा ढोका नलगाई बसेँ म तर ढोका खुलेन । एक पटक बाथरुममा गएर खाक्खुक् गरेँ । तर उसले मेरो सङ्केतलाई वास्तै गरिन । ढोका खोल्दै खोलिन । अनि मैले पनि निराश हुँदै ढोका लगाएँ ।

मेरो पुरानै बानी हो, मलाई हत्तपत्त निद्रा लाग्दैन । लागेन । छटपटाइरहेँ । उसकै बारेमा सोचिरहेँ । आफ्ना बारेमा सोच्नै बिर्सें । आफ्नो जिन्दगीअगाडि गारा, तगारा, भिर र पहरा छन् भन्ने यथार्थ नै बिर्सें । म फेरि सपनामा हराउन थालेँ । अर्को दिन । म अवसरको खोजीमा सहरका सडक नाप्ने कामका लागि निस्कन लाग्दा ऊ बाहिरै बसेर मोबाइलमा कसैसित बोल्दै थिई । ऊ भन्दै थिई, “... हस् । ... हुन्छ । दुई हजार लाग्छ ।”

मनमनै लाग्यो, मलाई पनि यस्तै काममा लगाइदेऊ भनूँ । तर कसरी भन्ने ? पुरुष भएर एउटी नारीसँग सहयोगको याचना गर्ने ? अहँ ! मेरो पुरुष अहंले स्वीकृति दिएन । अनि म उसलाई हेर्दै फिस्स हाँस्दै आफ्नो मिसनमा लागेँ । उसले मलाई बाल दिए जस्तो लागेन । ऊ पनि आफ्नो मिसनमा व्यस्त भई ।

हामी एउटै घरभित्र छौँ । हाम्रो कोठा आमनेसामने छ । ऊ खान्छे । म पनि खान्छु । ऊ सुत्छे । म पनि सुत्छु । ऊ बाँच्छे । म पनि बाँच्छु । फरक यति हो, ऊ रोजगार छे । म बेरोजगार छु । यही बेरोजगार हुनुको बोधले मलाई निरन्तर हीनताबोध हुन थाल्यो । लघुताभास हुन थाल्यो । जिन्दगीदेखि नै दिक्क लाग्न थाल्यो । सबैभन्दा बढी त उसको अगाडि लाज लाग्न थाल्यो । ऊ सधैँ ठाँट्टिएर आफ्नो काममा जान्छे । म भने लुरुक्क परेर कामको खोजीमा निस्किन्छु ।  यस्तो क्रम धेरै दिनसम्म चलिरह्यो ।

बेरोजगार हुँदा न खुलेर हाँस्न पाइयो, न त रमेर बाँच्न पाइयो । आफ्ना सपनालाई सधैँ थाती राखेर अभावैअभावमा पिल्सिएर बाँच्नुभन्दा त बरु दुई नम्बरी काम भए पनि गर्छु भन्ने आँट गरेर एकदिन सुटुक्क उसलाई भनेँ, “म पनि त्यो होम डेलिभरीको काम गर्छु नि ।”

मेरो कुरा सुनेर ऊ मुसुक्क हाँसी मात्रै । जवाफमा केही पनि बोलिन । मलाई उसको मुस्कान अनौठो लाग्यो । हुतिहारा पुरुष भनेर कतै मलाई व्यङ्ग्य त गरिरहेको छैन उसको त्यो मुस्कानले ? मनमा थोरै पश्चात्ताप पनि भयो व्यर्थै ऊसँग यस्तो कुरा गरेँ भनेर । तर अभावको पीडाले मान्छेलाई कति लाचार बनाउँदो रहेछ भन्ने आज मलाई महसुस भयो । म पनि लाचार भएँ ।

“हुन्छ” अथवा “हुँदैन” । आफ्ना धेरै प्रयासबाट असफल भएर थाकिसकेको म । उसको यस्तो जवाफ सुन्नका लागि आतुर भएँ म । दिनभर उसलाई कुरिरहेँ । छिमेकी डेरावालको हैसियतले हकपूर्वक नै यति उत्तर माग्छु भन्ने सोचेर म अधीरतापूर्वक उसलाई पर्खिबसेँ ।

 देशको हालखबर जान्ने, बुझ्ने र हेर्ने इच्छा छ । तर म जस्तो बेरोजगार डेरावालको डेरामा टिभी छैन, रेडियो छैन । एउटा मोबाइल छ । त्यसैले फोन, टिभी र रेडियोको काम चलाइरहेको छु ।

बेलुकी उसलाई पर्खिंदै मोबाइलमै समाचार हेरिरहेको थिएँ । आधा अनुहार छोपेको अवस्थामा ऊलगायत अरू दुई युवती र युवकहरूलाई पनि देखेँ । समाचारवाचकले भनिरहेको थियो, “....गेस्टहाउसमा रङ्गेहात पक्राउ ।”

मैले बल्ल बुझेँ, उसले होम डेलिभरी गर्ने माल त ऊ आफैँ पो रहिछे ।

  

Author

रत्न प्रजापति