• १० कात्तिक २०८१, शनिबार

कोत्रे सडक खण्डमा शाखा बाटो बनाउन माग

blog

सन्तोष सुवेदी

कास्की, जेठ ३१ गते । पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधीन पोखरा-मुग्लिन (पश्चिम खण्ड) को कोत्रेदेखि भत्केको चौकीसम्मको राजमार्गको दायाँबायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् ।

पोखरा महानगरपालिका ३२ खण्डमा पर्ने यस क्षेत्रमा राजमार्ग निर्माणको काम भइरहँदा शाखा बाटोहरू बन्नेतर्फ कुनै चासो नदेखिएको भन्दै स्थानीयले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिको संयोजनमा स्थानीयवासी एवम् सरोकारवाला निकायको प्रतिनिधि सहितको भेलामा यस खण्डमा शाखा बाटो, ढल निकास, लिङ्क रोड लगायतका विषयमा स्थानीयले ध्यानाकर्षण गराएका हुन् ।

कोत्रे–भत्केको चौकी खण्डमा तल्लो गगनगौंडा लगायतका स्थानमा बजारीकरण बढी रहेपनि राजमार्ग निर्माण भइरहँदा शाखा बाटो निर्माणतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले बताउनुभयो । विद्यमान समस्याहरूको समाधानका लागि सहयोग समिति गठन गरी त्यस मार्फत आवश्यक पहलहरू अघि बढाउने भेलामा छलफल भएको उहाँले बताउनुभयो । 

सडकको दायाँबायाँ तत्कालै आवतजावत सहज बनाउने उद्देश्यले त्यहाँ भइरहेको खेतीपाती, अन्य संरचना तथा टहरालाई १५ दिन भित्रमा हटाउनका लागि सूचना समेत जारी गरिने भएको उहाँले जानकारी गराउनुभयो ।

गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले पृथ्वीराजमार्गको निर्माणाधीन सडक अन्यत्र छ लेनको भए पनि कोत्रे–भत्केको चौकी खण्डमा मात्रै चार लेन हुनुको कारणबारे प्रश्न गर्नुभयो । तल्लो गगनगौंडा क्षेत्रमा बाटाको स्वरूप परिवर्तन भएर उचाइ बढेको उल्लेख गर्दै उहाँले यसतर्फ स्थानीयले केही जानकारी पाउन नसकेको उहाँले बताउनुभयो ।

सडक निर्माण भइरहँदा शाखा बाटोतर्फ ध्यान नपुगेको र यस क्षेत्रका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत तीन हजार पाँच सय विद्यार्थीका साथै सर्वसाधारण बाटो काट्न पनि समस्यामा परिरहेको उहाँको भनाइ छ ।

पोखरा–मुग्लिन सडक निर्माण आयोजनाका पश्चिम खण्डका प्रमुख इन्जिनियर नारायणप्रसाद पौडेलले कोत्रे–भत्केको चौकी सडक खण्डमा योजनामा डिपिआरमा शाखा बाटोको व्यवस्था नरहेको जानकारी गराउँदै यसका लागि स्थानीयवासीको पहल भएमा आफ्ना तर्फबाट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले सडक निर्माणकै क्रममा रहेका कारण आत्तिनुपर्ने अवस्था नभएको बताउँदै आवश्यक कुराहरूलाई सबैको साथ सहयोग एवम् संयुक्त प्रयासमा समाधान गर्न सकिने धारणा राख्नुभयो ।