• १० कात्तिक २०८१, शनिबार

नदी कटानको जोखिममा परेको हाँडेभिर बस्ती सुरक्षित

blog

हाँडेभिर बस्ती संरक्षणका लागि म्याग्दी नदीमा निर्माण गरिएको पक्की पर्खाल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ ३१ गते । म्याग्दी नदीमा पक्की पर्खाल निर्माण भएपछि नदी कटानको जोखिममा परेको हाँडेभिर बस्ती सुरक्षित भएको छ । नदीको निरन्तरको कटानका कारण बस्ती उच्च जोखिममा परेको थियो । 

मङ्गला गाउँपालिका-५ स्थित नदी किनारमा रहेका हाँडेभिर बस्ती, अर्मन स्वास्थ्य चौकी, निर्माणाधीन ५ शय्या क्षमताको अस्पताल भवनलाई नदी कटानबाट संरक्षण गर्न नदी नियन्त्रण योजना सञ्चालन गरिएको हो । नदी किनारमा पक्की पर्खाल निर्माणले पुलचोक-पिपलबोट-पाखु-अर्मन सडक पनि नदी कटानबाट सुरक्षित भएको छ । 

सङ्घीय सरकारको एक करोड विशेष अनुदानमा चालु आर्थिक वर्ष २०८०-८१ मा सञ्चालित हाँडेभिर संरक्षण आयोजनामार्फत् म्याग्दी नदी किनारमा पक्की पर्खाल निर्माण गरिएको मङ्गला गाउँपालिका–५ का वडा अध्यक्ष भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । मङ्गलाको सबैभन्दा ठुलो वडा अर्मनका बस्तीलाई जोड्ने सडक पुनः निर्माण र बस्ती संरक्षणका लागि पछिल्लो ५ वर्षयता क्रमागत आयोजनाको रूपमा म्याग्दी नदी नियन्त्रण आयोजना सञ्चालन भएको उहाँले बताउनुभयो । उहाँका अनुसार यसपालि निर्माण भएको सहित म्याग्दी नदी किनारमा ३०० मिटर भन्दा बढी पक्की पर्खाल बनेको छ । 

गत फागुन ९ गते ९६ लाखमा ठेक्का सम्झौता गरेको म्याग्दी रारा कन्स्ट्रक्सन सञ्चालक रिम कटुवालले हाडेभिर संरक्षण योजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । आगामी असार १५ गतेसम्म ठेक्काको म्याद भएपनि लक्ष्य अघि नै निर्माण सकेर गाउँपालिकालाई हस्तान्तरण गर्ने तयारी गरेको उहाँले बताउनुभयो । 

मङ्गला गाउँपालिकाका प्राविधिक धनबहादुर बोहोराका अनुसार म्याग्दी नदी किनारमा ८४.५ मिटर लामो ३८७.६ घनमिटर पर्खाल निर्माण भएको छ । तीन मिटर अग्लो पलम पर्खाल माथि थप ३ मिटर ग्यावीयन पर्खाल बनाइएको छ । पक्की पर्खाल, निर्माणाधीन अस्पताल माथिको पाखोमा थप १७५ घनमिटर ग्यावीयन पर्खाल लगाएर १३ ठाउँमा बाढी छेक्ने बाँध बनाइएको छ । 

अस्पताल मुनी म्याग्दी नदी किनारमा ७० मिटर दुरीमा ६५२ घनमिटर ग्यावीयन पर्खाल निर्माण भएको प्राविधिक बोहोराले बताउनुभयो । हाँडेभिरका बासिन्दा विमल सापकोटाले  बाढी र कटान रोकथामको योजनाले सुरक्षित महसुस गरेको बताउनुभयो । 

तल म्याग्दी नदीको कटान र बस्ती माथिको पाखोमा रहेको किमचौर जोड्ने सडकबाट आउने बाढीले हाँडेभिर बस्ती, खेतीयोग्य जमिन र भौतिक संरचनामा क्षति पुगेको छ । खानेपानी र सिँचाइ आयोजनाको नहर तथा पाइपलाईनमा पाखोबाट आउने बाढीले गर्ने क्षति न्यूनीकरण गर्न यसपालि छेकबाँध बनाइएको हो । हाडेभिर संरक्षणका लागि प्रदेश सरकार अन्तर्गतको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय र भू–तथा जलाधार संरक्षण कार्यालयले पनि ग्यावीयन पर्खाल निर्माण गर्दै आएका छन् ।