• १२ साउन २०८१, शनिबार

एघार विद्यालयका २३६ सटरमा ताला

blog

काठमाडौँ, जेठ २९ गते । काठमाडौँ महानगरपालिकाले आफूमातहतका सामुदायिक विद्यालयको भवन वा जग्गा व्यावसायिक प्रयोजनका लागि भाडामा लगाउन नदिने भएको छ । सटर तथा टहरा भाडामा लगाएका विद्यालयलाई भाडा सम्झौता रद्द गर्न वा अन्य कुनै तरिकाबाट व्यवसाय हटाउन महानगरपालिकाले पटक पटक अनुरोध गरेको थियो। आफ्नो निर्देशनलाई अटेरी गरेपछि महानगरपालिका आफैँले विद्यालयको सटर तथा टहरामा ताला लगाउन थालेको छ । 

महानगरले आइतबार र सोमबार ११ वटा विद्यालयको १३६ वटा सटरमा ताला लगाएको छ । सोमबार सातवटा विद्यालयका १७५ वटा सटर तथा टहरामा ताला लगाइएको महानगरपालिकाका शिक्षा विभागका प्रमुख गोविन्द शर्माले जानकारी दिनुभयो । आइतबार रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालय (मावि), बागबजारमा रहेको सहिद शुक्र मावि, डिल्लीबजारस्थित विजय स्मारक मावि र पद्मकन्या माविको सटरमा ताला लगाइएको थियो । 

त्यस्तै, सोमबार बानेश्वरस्थित रत्नराज्य मावि, चाबहिलको पशुपति मित्र मावि, गौशालाको मंगलादेवी मावि, बौद्धको जनकल्याण मावि र महेन्द्र बौद्ध मावि, ठमेलको जेपी स्कुल, क्षेत्रपाटीको कन्या मन्दिर माविका सटरमा ताला लगाइएको छ। 

महानगर प्रहरी बलसहितको टोलीले विद्यालय पुगेर व्यावसायिक प्रयोजनमा आएका सटर तथा टहरामा ताला लगाएको हो । ती सबै सटर सम्बन्धित विद्यालयले व्यावसायिक प्रयोजनका लागि व्यवसायीलाई भाडामा लगाएका थिए ।

विद्यार्थीको हितका लागि स्थापना भएका विद्यालयमा शैक्षिक क्रियाकलाप गर्ने स्थान खुम्च्याउँदै व्यावसायिक प्रयोजनका लागि सटर भाडामा लगाउने क्रम चलेपछि महानगरले यस्तो अभियान चलाएको हो । काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएका अन्य विद्यालयका सटर पनि बन्द गरिने बताउनुभयो। 

उहाँका अनुसार, महानगरभित्रका ३७ वटा सामुदायिक विद्यालयले सटर बनाएर व्यवसायीलाई भाडामा लगाएका छन् । ती सबै स्कुलको सटर बन्द गरिने पाण्डेले बताउनुभयो । सटर भाडामा लगाइएको भएमा रद्द गर्न वा अन्य कुनै तरिकाबाट हटाउन महानगरपालिकाले छ महिनाअघि नै विद्यालयलाई जानकारी गराएको थियो । हाल ताला लगाइएका सटरका व्यवसायीलाई आफ्नो सामान सार्न सात दिनको समय दिइएको महानगरपालिकाले जनाएको छ ।