• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डसँग भारतीय व्यवसायीको भेट : नेपालमा लगानी गर्न आग्रह

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्दै ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डल । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, जेठ २८ गते । छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री बस्नुभएको होटल ताजमा सोमबार भएको भेटमा नेपालमा लगानीको सम्भावना एवम् लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री प्रचण्ड र फिक्कीका पदाधिकारीहरूले छलफल गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्रीले भारतीय लगानीकर्ताका लागि उपयुक्त देश नेपाल भएको उल्लेख गर्नुहुँदै पर्यटन, ऊर्जा, कृषि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले काठमाडौँमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानुनी संरचनालाई व्यापक सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको बताउनुभयो ।


“लगानी सम्मेलनका क्रममा हामीले विभिन्न कानुनहरू अध्यादेशबाट संशोधन गरेका छौँ, त्यसले लगानीका क्षेत्रमा संरचनागत एवम् संस्थागत सुधार भएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको छ, ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु ।” उपभोक्ता दृष्टिकोणले पनि नेपाल लगानीका लागि उपयुक्त थलो भएको उहाँको भनाइ छ ।

भारत सरकारसँग दश वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने दीर्घकालीन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने सुझाव दिँदै प्रधानमन्त्री प्रचण्डले ठूला जलविद्युत् आयोजना लगानीका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

सो अवसरमा फिक्कीका अध्यक्ष डा. अनिश शाहले नेपालको ऊर्जा, पर्यटन र सौर्य ऊर्जामा आफू र आफ्ना सदस्यहरू इच्छुक रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले लगानीका लागि लिनुभएको तदारुकतालाई आफूहरूले नजिकबाट अध्ययन गरिरहेको उल्लेख गर्दै अध्यक्ष शाहले नेपालमा लगानीका लागि उत्साहित रहेको बताउनुभयो ।