• ८ मंसिर २०८१, शनिबार

भगवानपुरको प्रशासकीय भवन अधुरै

blog

सिरहाको भगवानपुर गाउँपालिकाको निर्माणाधिन अलपत्र भवन । फाइल तस्बिर

गोलबजार (सिरहा), जेठ २७ गते । सिरहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवा सुविधासहितको प्रशासकीय भवनको निर्माण कार्य अधुरै रहेको छ । ठेक्का पाएको निर्माण कम्पनीले २०८० असारदेखि बिचमै काम छाडेका कारण सो भवन निर्माण अधुरै रहेको हो ।  

भगवानपुर-१ मा ११ करोड ५८ लाखको लागतमा भवन निर्माण गर्न २०७८ असारमा सम्झौता भएको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रनारायण चौधरीले बताउनुभयो । छत्तिस महिनाभित्र काम सम्पन्न गर्ने गरी रौता अनसुमन जेभी काठमाडौँले उक्त ठेक्का लिएको थियो । पाँचतले भवन निर्माणको काम अधुरै छाडेको कम्पनीले तीन करोड पाँच लाख २० हजार भुक्तानी पाइसकेको उहाँले बताउनुभयो । 

पटक पटक ताकेता गर्दा पनि निर्माणको काम सम्पन्न गर्न उक्त कम्पनीले चासो नदेखाएको प्रमुख प्रशासकीय अधिकृत चौधरीको भनाइ छ । हालसम्म भवनको ३५ प्रतिशत काम सकिएको छ । गाउँपालिकाको आफ्नै भवन नहुँदा साबिकको भगवानपुर गाविस भवनबाट काम सञ्चालन गरिँदै आएको छ । केही वडाले भाडामा कार्यालय सञ्चालन गर्दै आएका छन् । वार्षिक २६ लाख घर भाडामा खर्च भइरहेको गाउँपालिकाले जनाएको छ । रासस