• १२ साउन २०८१, शनिबार

वर्षौँदेखि विद्यालय नै नगई तलब भत्ता बुझ्ने शिक्षक

blog

कालिकोटको कालिका माध्यमिक विद्यालयबाट तलब भत्ता लिए पनि विद्यालय नजाने शिक्षक हंसबहादुर शाही । तस्बिर: गोरखापत्र

प्रेमराज सिम्खडा 

कालिकोट, जेठ २७ गते । शिक्षकहरू विद्यालय जाँदैनन् गए पनि विद्यार्थीलाई पढाउँदैनन् यो नेपालको शिक्षा क्षेत्रको विकृति हो । अधिकांश शिक्षकहरू राजनीति गर्छन् अनि ठुला नेताकै आशीर्वाद लिँदै शैक्षिक क्षेत्र डामाडोल बनाउँदै आएका छन् । 

कालिकोटको कालिका माध्यमिक विद्यालय पिली यसको एक उदाहरण हो । विद्यालयका प्रधानाध्यापक हंसबहादुर शाही विगत सात वर्षदेखि विद्यालयमा छैनन् । काठमाडौँमा बस्दै आएका छन् । नेताका आँगन चहार्दै पूर्णकालीन कार्यकर्ता भएर राजनीति गर्दै आएका उनले भने राज्य कोषबाट तलब भत्ता भने बुझ्न छाडेका छैनन् । विद्यालयको अभिलेखमा उनी आठ वर्षदेखि विद्यालयमा उपस्थित छैनन् । विद्यालय भने सहायक प्रधानाध्यापक खेमराज शाहीलाई जिम्मेवारी दिएका छन् । 

कानुनी रूपमा अहिले पनि हंसबहादुर शाही कालिका माविको प्रधानाध्यापक नै हो । कालिका माविका विद्यालय व्यवस्थापन समिति विद्यालयमा हाजिर नहुने भए राजीनामा दिन भने पनि अटेर गरेर तलब भत्ता लिँदै नेताको दबाब लगाउने गरेको पूर्व अध्यक्ष पुत्रबहादुर मल्लले बताउनुभयो । 

कालिका माविको आधिकारिक प्रधानाध्यापक भएर सेवा सुविधा लिने गरिरहेका वडाध्यक्ष तथा विद्यालयका पदेन सदस्य दीपकराज कार्कीले बताउनुभयो । राजीनामा दिनु भन्दा दिनुभएन, त्यसैले सट्टामा शिक्षक राखिएको अध्यक्ष कार्कीले बताउनुभयो । सरुवा हुन भने पनि उहाँले अटेर गरेर उल्टै सट्टामा शिक्षक राख्न सुझाएको उहाँको बताउनुभयो । समितिले शाहीको सट्टामा सूर्यबहादुर मल्ल र सुनकेसा कार्कीलाई सट्टा शिक्षक राखेको छ । 

तलब भत्ता शाहीकै खातामा जाने र उहाँले सामान्य खर्च बाहेक अरू रकम नदिने गरेकाले सट्टा शिक्षक सूर्यबहादुर मल्ल र सुनकेस्रा कार्कीले सामान्य खर्चमा आफूले पढाउने नसक्ने अडान लिएपछि बल्ल गत वर्षबाट सट्टा शिक्षककै खातामा तलब जाने बनाइएको छ । 

विद्यालय व्यवस्थापन समिति र प्रशासनले शिक्षक शाहीको पेन्सन र सामाजिक भत्ता खातामा हाल्ने र बाँकी रकम सम्बन्धित सट्टा शिक्षकलाई दिने गरेको छ । तर यो कानुनविपरीतको कार्य भएको भन्दै स्थानीयहरूले विरोध जनाएका छन् । सट्टा शिक्षक राख्न नपाउने र सेवा अवधि बढाएर राज्यलाई नोक्सान बनाएको भन्दै तत्काल राजीनामा दिन माग गरेका छन् । 

खाँडाचक्र नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख जसिप्रसाद चौलागाईले ऐन कानुनमा सट्टा शिक्षक राख्न नपाउने र काम नगर्ने शिक्षकलाई कानुनी कारबाही सुरु गर्ने बताउनुभयो । 

शिक्षक शाहीले महँगी, पोसाक भत्ता, चाडबाड खर्च सबै विद्यालयबाटै लिने गरेका छन् ।