• १२ साउन २०८१, शनिबार

उपत्यकामा मेट्रो र मोनोरेल

blog

पछिल्ला वर्ष आर्थिक रूपमा देशले कोल्टे फेर्छ, विकासले गति लिन्छ, रोजगारीका अवसर खुल्छन् र नेपाल विकसित हुन्छ भनियो । काठमाडौँमा मेट्रोरेल गुड्छ, देशको पूर्व पश्चिम रेल गुड्छ । घण्टौँ लाग्ने स्थानमा केही घण्टामै पुग्न सकिन्छ पनि भनियो । 

काठमाडौँ उपत्यका सधैँ ट्राफिक जाम हुने सहर हो । यहाँको ट्राफिक जाम कम गर्न मेट्रोरेल कुदाउने भनियो । दलहरूले आफ्नो घोषणापत्रमार्फत पनि मेट्रोरेलको सपना बाँडे । दुई वर्षमै मोनोरेल र तीन वर्षमा मेट्रोरेल कुदाउने योजना पनि बाँडियो । महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न केबुलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडी सञ्चालनमा ल्याउने योजना सुनियो तर कुनै काम अहिलेसम्म हुन सकेको छैन । 

उपत्यकामा मेट्रोरेल कुदाउन कोरियन कम्पनीले सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन पनि बुझाएको थियो । रेल विभागमा मेट्रो विभाग नै खडा गरेर नयाँ विभाग थपियो । कर्मचारी पनि खटाइए तर काम हुन सकेन । काठमाडौँमा रेल चढ्ने सपना अहिलेसम्म सपना नै भएको छ । गत वर्ष उपत्यकामा चल्ने भनिएको मेट्रोरेलको डिपिआर नै रद्द भएको सुन्नमा आएको छ । 

ललितपुर महानगरपालिकामा चल्ने रातो मत्स्येन्द्रनाथको जात्रा मेट्रोरेलमुनिबाट तान्नुपर्ने अवस्था आएपछि यो अध्ययन निष्कर्षमा पुग्न सकेन । वास्तवमा मेट्रोरेलमुनिबाट जात्रा चलाउनै सकिँदैन । यो रेल चलाउने भए जमिनमुनिको डिपिआर बनाउनु पर्छ । मेट्रोरेल चलाउनका लागि स्थान पनि छैन । उपत्यकाका सबै स्थानमा घर बनिसकेका छन् । खाली ठाउँ नै छैन । जमिनमुनिबाट रेल कुदाउने सम्भावना पनि कम छ । माथि माथि घर बनिसक्यो । तल कसरी रेल कुदाउन सकिन्छ र ?

ललितपुर महानगरपालिकाले आफूले रेल निर्माणका लागि सधैँ सहयोग गर्ने गरेको बताउँदै आएको छ । महानगरपालिकाका अनुसार रातो मत्स्येन्द्रनाथको रुट निकै सानो भएकाले त्योबाहेक अन्य क्षेत्रबाट रेल लान सकिन्छ । मत्स्येन्द्रनाथको जात्रा कहाँ कहाँ हुन्छ त्यहाँ धार्मिक रूपमा पनि लान मिल्दैन  । फेरि त्यहीँबाट गर्नु पर्छ भन्ने पनि छैन । त्यहाँबाहेक अन्य क्षेत्र पनि छन् तर यही कारणले मात्र यो योजना रोकिएको भने होइन । 

पुल्चोकमा रथारोहण गरी सुरु हुने रातो मत्स्येन्द्रनाथको रथयात्रा गाःबहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पु¥याएर भोटो देखाइन्छ । यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुङ्गमतीमा लगिएपछि जात्रा सकिन्छ । यसबारे ललितपुर महानगर आफैँले सम्भाव्यता अध्ययन गरेको पनि सुन्नमा आएको छ । ग्वार्कोबाट सिधा गोदावरी जाने गरी मेट्रोरेलको सम्भाव्यता अध्ययन भएको ललितपुर महानगरको दाबी छ । 

रेल सञ्चालन भए आर्थिक गतिविधि बढ्छ । रेल चलाउन धेरै आर्थिक भार पनि पर्दैन । भारतमा पनि निजी क्षेत्रले मेट्रोरेल चलाएको छ । यहाँ पनि त्यही मोडल अपनाउन सकिन्छ भनेर जानकारहरू औँल्याउँछन् । मेट्रोरेलका लागि लगानी पनि धेरै पर्दैन । गत वर्षबाट नै बजेटमा मेट्रोरेलका लागि बजेट विनियोजन भएको छैन । आगामी आवको बजेटमा मेट्रोरेलबारे केही कुरो गरिएको छैन । गत जेठ १५ गते सरकारले पेस गरेको बजेटमा रेलमार्ग विकासका लागि तीन अर्ब ८८ करोड रुपियाँ विनियोजन गरिएको छ । 

जयनगर–बर्दीबास रेलमार्ग अन्तर्गत विजलपुरा–बर्दीबास खण्ड तथा बथनाहा–विराटनगर खण्डमा जग्गा प्राप्तिको कार्य सम्पन्न गर्न, पूर्व पश्चिम विद्युतीय रेलमार्गको बर्दीबास–चोचा खण्डको निर्माणाधीन काम सम्पन्न र केरुङ–काठमाडौँ रेलमार्ग सम्भाव्यता अध्ययन गर्नका लागि बजेट छुट्याइएको छ । 

यस्ता थिए मेट्रो चल्ने पाँच मार्ग 

‘मेट्रो रेल’ को सञ्जाल उपत्यकाका ठुला सहरलाई लक्षित गरी निर्माण गर्ने भनिएको थियो । रेलवे विभागको संयोजकत्वमा कोरियन कम्पनी छुङ सु इन्जिनियरिङले सम्भाव्यता अध्ययन गरेको थियो । यसका लागि कम्पनीलाई एक वर्ष लागेको थियो । अध्ययन अनुसार उपत्यकाभित्र पाँच लाइनमा  मेट्रोरेल सञ्चालन गर्ने भनिएको थियो ।

पहिलो, दोस्रो र तेस्रो लाइनमा गुड्ने रेलका लागि लिक ‘फ्लाई ओभर’ मा र चौथो तथा पाँचाँै लाइनमा गुड्ने रेलका लागि भूमिगत लिक निर्माण गर्ने भनिएको थियो । 

पहिलो लाइनमा चल्ने रेलको रुट सातदोबाटो–पुलचोक–त्रिपुरेश्वर–रत्नपार्क–नारायणहिटी–महाराजगन्ज हुँदै नारायणगोपाल चोकसम्म हुने भनिएको थियो । दोस्रो लाइनमा चल्ने रेलको लिक कलङ्की–कालीमाटी–माइतीघर–तीनकुने हुँदै एयरपोर्टसम्म भनिएको थियो । तेस्रो लाइनमा चल्ने रेलका लिक चक्रपथ वरिपरि निर्माण गर्ने भनिएको थियो । 

चौथो नम्बरको भूमिगत चल्ने रेलका लागि स्वयम्भू–छाउनी–बागबजार–डिल्लीबजार–पुरानो बानेश्वर–गौशला–चाबहिल हुँदै बौद्धसम्म लिक निर्माण गर्ने भनिएको थियो । पाँचौँका लागि धोबीघाट

–पुल्चोक–पाटन दरबार–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार

–सहिदगेट–डिल्लीबजार–टङ्गाल–नारायणहिटी–नयाँबजार हुँदै गोङ्गबुसम्मको लिक निर्माण गर्ने भनिएको थियो ।

अध्ययन अनुसार पहिलो लाइनमा चल्ने रेलका स्टेसन ११ वटा थिए । लम्बाइ १२.१ किमी थियो । दोस्रो लाइनमा चल्ने रेलका लागि नौ वटा स्टेसन थिए । बाटोको लम्बाइ ११.१५ किमी थियो । २८.५३ किमीमा चल्ने तेस्रो लाइनको रेलका लागि स्टेसन १७ वटा हुने भनिएको थियो । चौथो लाइनमा चल्ने रेल ११.७ किमीको र १० वटा स्टेसन थिए । पाँचाैँ लेनमा चल्ने रेल १३.८ किमीको र स्टेसन १० वटा थिए । यसरी उपत्यकाभित्र  रेलवे मार्गको कुल लम्बाइ ७७.२८ हुने डिपिआरमा उल्लेख थियो । स्टेसन ५७ वटा निर्माण गर्ने भनिएको थियो । प्रत्येक रेल ८० देखि १२० किमी प्रतिघन्टासम्म यात्रा गर्न सक्ने क्षमताका हुने भनिएको थियो ।

  

Author

शुरज थपलिया