• १ साउन २०८१, मङ्गलबार

विदेशबाट फर्किएका युवाको आकर्षण मौरी पालनमा

blog

कबिराज घिमिरे 

हिले, जेठ २३ गते । धनकुटाको पाख्रीबास–९ चुमाङ्गका शुक्र राई वैदेशिक रोजगारमा करिब आठ वर्षसम्म मलेसिया रहेर स्वदेश फर्किएपछि मौरीपालनमा रमाइरहनु भएको छ । सेरेना जातका माहुरीसहित दुई सय बढी आधुनिक मौरीघार रहेका छन् । विदेशी भूमिमा बगाउने पसिना स्वदेशमै बगाउन सके नेपालमा नै प्रशस्त आम्दानी गर्न सकिने भएकाले मौरी पालनाबाट गर्न थालेको उहाँको भनाइ छ । 

आफ्नै भूमिमा केही गर्ने र विदेश नजाने अठोटका साथ स्वदेश फर्किनुभएका राई मह र मौरीको आधुनिक घार बेचेरै वार्षिक २० देखि २२ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउनुहुन्छ । पालन गर्न सहज बजारको समस्या नभएको कारण यो व्यवसायमा लागेको उहाँको भनाइ छ ।  जिल्लामा प्रविधि, प्राविधिक तथा मौरीपालन पेसा प्राथमिकतामा नपर्ने गरेको उहाँको गुनासो छ ।


पाख्रीवास नगरपालिका–७ का कृषक जयकुमार राईले परम्परागत घारमा नै मैरी पालन गर्दै आउनु भएको छ । वैदेशिक रोजगारीबाट फर्किएर उहाँले दुई घारबाट सुरु गरेको मैरीपालन अहिले आएर १९ घार रहेका छन् । मह प्रति केजी १४ सयदेखि १६ सयसम्म बिक्री हुने गर्दछ । धेरै मेहनत नपर्ने र लगानी पनि कम भएकाले मैरी पालन गर्न सहज हुने गरेको कृषकको भनाइ छ । बजारको कुनै पनि समस्या नरहेको घरमै किन्न आउने गरेका र यसलाई बिस्तारै बढाउँदै लैजाने कृषक जयकुमार राईले बताउनुभयो ।

पछिल्लो समय धनकुटामा विदेशबाट फर्किएका युवा गाउँमै व्यावसायिक रूपमा मैरी पालनबाट मनग्गे आम्दानी लिँदै आएका छन् । कृषि ज्ञान केन्द्रको तथ्याङ्क हेर्दा परम्परागत र आधुनिक घार गरी जम्मा ११ हजार ६ सय ८० घारमा सेरेना जातको माहुरी किसानले पालेका छन् । 

जसबाट वार्षिक २५.४ मेट्रिकटन मह उत्पादन हुने गरेको छ । अधिकांश युवा विदेशबाट फर्किएर यो पेसामा रहेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । धेरै पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने सोच बदल्दै अहिले गाउँमै व्यावसायिक मौरीपालन गर्न थालेपछि राम्रो आम्दानी गर्दै आएका हुन् । 



वर्षमा एक घारबाट २० किलोसम्म मह उत्पादन हुने गरेको छ । फापर, तोरी, विभिन्न फलफूल, साल, चिउरी जस्ता वनस्पति हुने धनकुटा माहुरी पालन व्यवसायको लागि उपयुक्त स्थान मानिने कृषि विज्ञहरूको भनाइ छ । धनकुटामा माहुरीसँग सम्बन्धित प्रविधि, प्राविधिकको कमी रहेको धनकुटा पाख्रिवासका अर्का कृषक दिलकुमार तामाङको भनाइ छ । 

जिल्लाको महालक्ष्मी नगरपालिका, पाख्रिवास नगरपालिका, सहिदभूमी गाउँपालिकामा बढी मात्रामा मह उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्क हेर्दा परम्परागत र आधुनिक घार गरी जम्मा ११ हजार ६ सय ८० घारमा सेरेना जातको माहुरी किसानले पालेका छन् । जसबाट वार्षिक २५.४ मेट्रिकटन मह उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र धनकुटाले युवालक्षित कार्यक्रम अन्तरगत माहुरीपालन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ । पछिल्लो समय विदेशबाट फर्किएका युवा यो व्यवसायमा आकर्षित हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना बताउनु हुन्छ । उत्पादन भएको मह स्थानीय बजारसहित तराईका बजार काठमाडौँ तथा कोशेलीको रूपमा विदेशसम्म पुग्ने गरेको छ ।