• ८ मंसिर २०८१, शनिबार

अमेरिकामा नेपाल म्युजियम खोल्न कस्सिए जोशी

blog

अमेरिकामा नेपाली संस्कृति जगेर्नाका लागि ‘नेपाल हेरिटेज म्युजियम’ स्थापना गर्ने इच्छा बोकेका नेपालीमूलका बाल जोशी ।

गोरखापत्र अनलाइन

काठमाडौँ, जेठ २२ गते । अमेरिकामा नेपाली संस्कृति जगेर्नाका लागि ‘नेपाल हेरिटेज म्युजियम’ स्थापना गर्ने इच्छा बोकेका नेपालीमूलका बाल जोशीले स्रोत जुटाउन एभरेष्ट म्याराथन दौडमा लाग्नुभएको छ ।

संसारकै अग्लो स्थानमा आयोजना हुने र संसारकै जोखिमपूर्णमध्ये मानिने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पूरा गरेसँगै उहाँको आँट मजबुत बनेको छ । जेठ १६ गते आयोजित ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२४’ उहाँले सफलतापूर्वक पूरा गर्नुभयो । 

८ घण्टा ५६ मिनेटमा संसारकै अग्लो स्थानमा हुने एभरेष्ट म्याराथन पूरा गरेपछि उहाँले सुनाउनुभयो, “मैले यो दौड पूरा गरेँ, अब नेपाल हेरिटेज म्युजियम बनाउने खास दौड सुरु भएको छ ।” 

अमेरिका अहिले पनि धेरैले सपनाको देश ठान्ने भूमि हो । त्यहाँ पुगेर स्थायी आवासीय अनुमति पाएका नेपालीको सङ्ख्या अब हजार होइन, लाखमा पुगेको छ । जसरी अमेरिकामा नेपाली (नेपाली मूल) को बसोबास बढिरहेछ, अवसरको खोजीमा नेपाल छाडेर त्यहाँ ‘सेटल’ भएका आफ्ना सन्तान नेपाल र नेपाली संस्कृतिबाट अलग होलान् कि भन्ने चिन्ता पनि बढेको छ ।  

अमेरिकामा ‘नेपाल हेरिटेज म्युजियम’ खोल्ने योजना उहाँको यही कारण आएको बताउनुभयो । त्यही योजनाबाट जन्मियो म्युजियमका लागि स्रोत जुटाउने उहाँको प्रयास । त्यसका लागि ड्यालस, टेक्ससका जोशी संसारकै अग्लो स्थानमा आयोजना हुने र सबैभन्दा जोखिमपूर्ण मानिने ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२४’ दौडिन आइपुगेको बताउनुभयो ।  

सपनाको दौड

अमेरिकामा ‘नेपाल हेरिटेज म्युजियम’ खोल्ने योजना करिब दुई दशकअघि अमेरिका पुगेका उहाँको परिकल्पना भएको उहाँले बताउनुभयो । अहिले उहाँ त्यही परिकल्पनालाई आकार दिन दौडिरहनु भएको छ । परिणाम अब यो एउटा अभियान बनेको उहाँको भनाइ छ ।

“आर्थिक सहयोग त अमेरिकामै रहेका धनाढ्यहरूबाट पनि उठाउन सकिन्थ्यो । तर संसारभर छरिएका नेपाली समुदायको अपनत्व यसमा जोड्ने हाम्रो उद्देश्य हो” उहाँले भन्नुभयो । 

यो परिकल्पना तीन वर्षअघिको भएको उहाँले बताउनुभयो । जोशी जतिबेला नेप्लिज अमेरिकन चेम्बरका अध्यक्ष हुनुहुन्थ्यो । खासमा त्यसबेला चेम्बरकै परिकल्पनाका रूपमा उहाँले नेपाल हेरिटेज म्युजियमलाई अघि बढाउने योजना अगाडि सारेको बताउनुभयो । 

“नयाँ पिँढीलाई नेपाल र नेपाली संस्कृतिसँग जोड्न आवश्यक छ । त्यहीक्रममा नेपाल हेरिटेज म्युजियमको परिकल्पना गरिएको हो । यसको सार भनेकै अमेरिकामा नेपाल चिनाउने, नेपाल देखाउने र बुझाउने म्युजियम हो यो” उहाँले भन्नुभयो ।  

टेक्ससको युलेसमा जहाँ नेपाली मन्दिर बनेको छ, त्यसकै परिसरमा अलग्गै संरचनासहित नेपाल हेरिटेज म्युजियम बनाउने योजना भएको उहाँको भनाइ छ । यसलाई मिनी–नेपाल अवधारणाका रूपमा अघि सारिने उहाँले बताउनुभयो । 

यही सपना पूरा गर्न जोशी तीन–चार वर्षदेखि म्याराथन र अल्ट्रा म्याराथन दौडिइरहनु भएको छ । २०२३ मा मात्र पाँच वटा म्याराथन र दुइटा अल्ट्रा म्याराथन उहाँले दौडिसक्नु भएको छ । 

७० वर्ष अघि अर्थात् सन् १९५४ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथामा प्रथम पाइला राखेको दिनको सम्झनामा मनाइने ‘एभरेष्ट डे’ र त्यही अवसर पारेर विगत २० वर्षदेखि हुँदैआएको तेन्जिङ हिलारी एभरेष्ट म्याराथन (फुल म्याराथन) दौडिन आएका उहाँ दौडिएरै नेपाल हेरिटेज म्युजियमका लागि ‘फन्ड रेज’ गर्ने बताउनुभयो । विदेशमा रहेका भावी पुस्तालाई एक म्युजियम चाहिन्छ भन्ने भावनाको विकास हुने उहाँको बुझाइ छ ।