• १२ साउन २०८१, शनिबार

कृषकलाई आत्मनिर्भर बनाउन अनुदानमा मौरी र घार

blog

पर्वतको पैयुँ गाउँपालिकाले कृषकहरुलााई आत्मनिर्भर गराउने उद्देश्यले गोला सहितको मौरीघार वितरण गरेको छ । तस्बिरः गणेश पौडेल

गणेश पौडेल

पर्वत, जेठ २२ गते । कृषकहरुलाई मौरीपालनमार्फत् आत्मनिर्भर गराउने उद्देश्यले पर्वतको पैयूँ गाउँपालिका गोलासहितका मौरी र घार वितरण गरिएको छ । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मौरीपालक कृषकलाई एक सय ५२ मौरी गोलासहितका घार र ४३ खाली घार वितरण गरेको हो । 

कृषकहरुलाई मौरीपालन तालिमपछि अनुदानमा गोला र घार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । पैयूँ गाउँपालिकालाई मौरी पालनको पकेट क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले कृषकहरुलाई सहयोग गर्दै आएको छ । पहिलो चरणमा तालिम दिएर उनीहरुलाई अनुदानमा गोला र घार वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजीव रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रामीण क्षेत्रमा कृषि र मौरीपालनको सम्भावना बढी भएको र थोरै लगानीमा पनि धेरै लाभ लिन सकिने भएकाले मौरीपालनमा सहयोग गरिएको हो । 

पालिकाले कृषकहरुको मागमा आधारित कार्यक्रमअन्तर्गत पुराना मौरीपालक कृषकहरुलाई बिस्तारका लागि खाली घार वितरण गरिएको हो भने नयाँ कृषकहरुलाई तालिम र अनुदानमा घार वितरण गरिएको हो । पालिकाले मौरीपालनका लागि रु.१७ लाख रकम मौरीपालनका लागि विनियोजन गरेको थियो । उक्त रकम मध्येबाट घटीघटाउमा खरिद गर्दा कृषकहरुले गोला सहितको घारमा ३ हजार ५ सय अनुदान पाएका अधिकृत रिमालले बताउनुभयो । "५० प्रतिशत अनुदानमा खाली घारको १४ सय र गोलासहितको ३५ सय कृषकले छुट पाएका छन्," उहाँले भन्नुभयो ।

मौरीघार वितरण गदै गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले कृषि क्षेत्रको विकास र कृषकहरुको आयआर्जन वृद्धिमा सहयोग गर्दै आत्मनिर्भर बनाउन पालिकाले मौरीघार उपलब्ध गराएको जानकारी दिनुभयो । "थोरै लगानी र समयले पनि धेरै फाईदा लिन सकिने भएकाले मौरी पालनमा कृषकहरुले चासो देखाएकाले मौरीपालनमा बजेट विनियोजन गरिएको हो," उहाँले भन्नुभयो । 

कृषि क्षेत्रको विकासका लागि पैयूँ गाउँपालिकाले विशेष रणनीति अनुसार काम गदै आएको उहाँको भनाइ छ । अध्यक्ष ठकुरीले किसानलाई कृषि क्षेत्रमा आकर्षण गर्ने कार्यक्रम र योजनालाई प्राथमिकता दिएर आगामी बजेटमा समेत निरन्तरता दिन लागेको बताउनुभयो । गाउँपालिकाकी उपाध्याक्ष यामकुमारी रानाले मौरीपालन व्यवसायले कृषकहरुलाई आत्मनिर्भर बनाउने गरि योजना ल्याएको बताउनुभयो । "हामीले गाउँपालिकालाई नै पकेट क्षेत्र बनाएर कृषकहरुलाई आत्मनिर्भर बनाउने योजनामा छौं," उहाँले भन्नुभयो, "यस्ता कृषकमूखी कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरा दिएर जान्छौं ।"