• १२ साउन २०८१, शनिबार

स्मार्ट कृषि भिलेजले दिएको ज्ञानले आत्मनिर्भर बनेका किसान

blog

राप्तीसोनारी गाउँपालिका वडा नं. ७ सर्रीस्थित किसान खोजलाल थारुले आफ्नो खेतमा लगाउनु भएको बसन्ते मकैखेती । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, जेठ २१ गते ।
आर्थिक वर्ष २०७५/०७६ तिर बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ लाई लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि भिलेज कार्यक्रम सञ्चालन गर्नका लागि स्थान छनोट गर्‍यो ।

कृषिमा यान्त्रीकीकरण गर्दै सिँचाइ, उन्नत बिउबिजनमा सहुलियत दिएर उत्पादकत्व वृद्धि गर्नुका साथै कृषि उपजको बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले तत्कालीन समयमा कृषि स्मार्ट भिलेजको अवधारणा ल्यायो ।

जमिनको खण्डीकरण, खेती गर्ने परम्परागत शैली, मल, बीउबिजन, सिँचाइ तथा यान्त्रिकीकरणको अभावमा कृषि उत्पादन बढ्न नसकेको भन्दै कृषिलाई आधुनिकीकरण गर्दै उत्पादनमा वृद्धि गर्ने लक्ष्य अनुसार उक्त योजना ल्याइएको थियो ।

सोही योजनाअन्तर्गत राप्तीसोनारी ७, सर्रीका किसानलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि स्मार्ट कृषि भिलेज कार्यक्रमअन्तर्गत विभिन्न तालिम, मल, बिउ, कृषि यन्त्रलगायतका आवश्यक सिप र सामग्री प्रदान गरियो । कार्यक्रम अत्यन्तै सफल बन्यो । कार्यक्रम सञ्चालनमा आएको चार वर्षपछि २०७८/०७९ तिर यो कार्यक्रम सकियो तर त्यहाँका किसानहरुले भने कार्यक्रममार्फत् पाएको सिप र यन्त्र प्रयोग गर्दै हालसम्म पनि आधुनिकीकरण कृषि पेशालाई निरन्तरता दिइरहेका छन् ।

कृषि स्मार्ट भिलेजले दिएको ज्ञान, सिप र यन्त्रको प्रयोगले परम्परागतरुपमा गर्दै आएको खेती प्रणालीलाई छाडेर हालसम्म पनि आधुनिकीकरण कृषि खेतीलाई निरन्तरता दिइरहेको बताउनुहुन्छ राप्तीसोनारी ७ का अगुवा किसान खोजलाल थारु ।

“पहिला पहिला हामीहरुले परम्परागत रुपमै खेती गर्ने गरेका थियौं, उच्च जग्गामा वर्षामा मकैखेती र खल्ला खेतमा धान रोप्ने गरेका थियौं, बाउ बाजेले गर्दै आएको परम्परागत प्रणालीलाई नै हामीले निरन्तरता दिएका थियौं ।” किसान थारुले भन्नुभयो, “कार्यक्रम आएपछि सबै काम मेशिनबाट गर्न सुरु गर्‍यौं, समय र पैसाको धेरै नै बचत भयो, धेरै ज्ञान र सिप सिक्यौं र उत्पादन पनि सोचेको भन्दा धेरै नै हुने थाल्यो, कार्यक्रम सकिए पनि हामीले यसै पेशालाई निरन्तरता दिएका छौं, आत्मनिर्भर बनेका छौं ।”

कार्यक्रमले मकैबाली र आलुबाली गरेर दुई सेटमा कार्यक्रम सञ्चालन गरेको थारु बताउनुहुन्छ । मकै रोप्ने, मकै गोड्ने तथा थ्रेसिङ गर्ने मेशिन र आलु रोप्ने तथा आलु खन्ने मेशिन पनि कार्यक्रमले दिएको उहाँको भनाइ छ । वर्षातको समयमा राप्ती नदीबाट सम्भावित डुवान हुने क्षेत्र भएका कारण त्यस समयमा धान लगाउने, धान काटेपछि आलु र तोरी लगाउने त्यसपछि बसन्ते मकै लगाउने गरेको उहाँले बताउनुभयो ।

वर्षमा तीन खेती भित्राउने र मनग्गे आम्दानी हुने गरेको पनि उहाँले बताउनुभयो । थारुले अहिले खेतमा बसन्ते मकै लगाउनुभएको छ । बसन्ते मकैखेतीबाट राम्रो आम्दानी हुने गरको उहाँले बताउनुभयो । “वर्षे मकैबाली लगाउँदा उत्पादन कम हुन्थ्यो, बसन्ते मकैबाट एकै कट्ठामा दुई क्वीन्टल भन्दा बढी मकै उत्पादन हुन्छ, बिक्री गर्न पनि समस्या छैन, दानाका लागि र गल्ला व्यापारीहरु घरमै आएर मकै उठाउनुहुन्छ, बढी भएको मकै नेपालगन्जसम्म लगेर बिक्री गर्दै आएका छौं ।” उहाँले भन्नुयभो ।

आफूहरुले बसन्ते मकै उत्पादन गर्न थालेपछि नजिकका वडा तथा गाउँपालिकाका किसानहरुले समेत त्यसको सिको गर्दै यही खेती गर्न लागेको उहाँको भनाइ छ । अझैपनि गाउँका किसानहरुले करिब १० हेक्टर जमिनमा बसन्ते मकैखेती गर्दै आएको र आफूले पनि दुई बिघा जग्गामा यही खेती गर्दै आएको थारुले बताउनुभयो ।

२०७१ सालको वैशाख १६ गतेदेखि असार ९ गतेसम्म साविकको जिल्ला कृषि विकास कार्यालयले ग्रामीण कृषि कार्यकर्ता तालिममार्फत तालिम प्रदान गरेको र जिल्लाका विभिन्न स्थानमा कृषि खेतीसम्बन्धी भ्रमणसमेत गराएको हुँदा पछि स्मार्ट कृषि भिलेज कार्यक्रम आउँदा कृषि खेती गर्न थप सहज भएको उहाँले जानकारी दिनुभयो ।

स्मार्ट कृषि भिलेज कार्यक्रम सकिए पनि त्यसले दिएको ज्ञान, सिप तथा यन्त्रले गर्दा आफू र आफूजस्ता सयौं किसानले हालसम्म पनि सोही खेती प्रणालीलाई निरन्तरता दिइरहेको तथा थुप्रै किसानको यसप्रति आकर्षण पनि रहेको र आयआर्जनमा समेत वृद्धि हुँदा आत्मनिर्भर बनेको अगुवा किसान थारुको भनाइ छ ।