• २० असार २०८१, बिहिबार

‘फोटो प्रदर्शनीले इतिहासको पुनर्ताजगी गराएको छ’

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ गोरखापत्र परिसरमा । तस्विरः सागर बस्नेत

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गोरखापत्रको फोटो प्रदर्शनीले इतिहासको पुनर्ताजगी गर्ने काम गरेको बताउनुभएको छ । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । 

“कतिपय तस्विरहरु आफैंले भोगेका तस्विर राखिएका छन्, कतिपय पुराना इतिहास झल्काउने खालका तस्विर देखें, यसले इतिहासको विभिन्न कालखण्डको स्मरण गराउने काम गरेको छ” उहाँले भन्नुभयो, “गोरखापत्रको यो काम प्रशंसनीय छ, पुर्खाका पालाका तस्विर देख्न पाउँदा खुशी लाग्यो ।” सोअघि उहाँले प्रदर्शनमा राखिएका तस्विरको अवलोकन गर्नुभएको थियो । 

१६ लाख पर्यटक भित्र्याउँछौं 

अर्को प्रसङ्मा मन्त्री तामाङले आउने आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउनेगरी सरकारले काम गरिरहेको बताउनुभयो । मुलुकको आर्थिक समृद्धि पर्यटन क्षेत्रको विकाससँग जोडिएकाले त्यसमा केन्द्रित रहेर मन्त्रालयले काम गरिरहेको उहाँको भनाइ छ । 

“यसअघि कोभिडका कारण पर्यटक आउने सङ्ख्या घटेको थियो, सन् २०२३ मा १० लाख पर्यटक मात्र नेपाल आउनुभएको थियो, सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम भइरहेको छ” मन्त्री तामाङ्ले भन्नुभयो । नेपालमा आउने धार्मिक तथा सांस्कृतिक पर्यटकको सङ्ख्या बढी रहेको मन्त्री तामाङले बताउनुभयो ।

लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दू धर्माबलम्वी पर्यटकको सङ्ख्या धेरै रहेको उहाँले प्रष्ट पार्नुभयो । बाँकी यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्नुपर्ने उहाँको भनाइ छ । 

विदेशी पर्यटकको आगमन मुलुकको अर्थतन्त्रसँग जोडिएको विषय भएको चर्चा गर्नुहुँदै मन्त्री तामाङले भन्नुभयो, “विदेशी पर्यटक नेपाल आउँदा विदेशी मुद्रा आर्जन हुने, रोजगारी बढ्ने काम हुन्छ । त्यसैले पनि पर्यटन क्षेत्र समृद्धिको एउटा बलियो आधार हो भन्ने हामीले बुझ्नुपर्छ ।”

सो अवसरमा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, फोटोग्राफी शाखाका प्रमुख रामप्रसाद हुमागाईले मन्त्री तामाङलाई फोटोबारे बिफ्रिङ गर्नुभएको थियो । अध्यक्ष र महाप्रबन्धकले मन्त्री तामाङलाई मायाको चिनोस्वरुप गोरखापत्रको पहिलो अङ्क र परिवर्तित नेपाल पुस्तक हस्तान्तरण गर्नुभएको थियो । 


भिडियोमाः मनोजरत्न शाही

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।